हिमामा माओवादीको घोषणापत्र : एक युवा एक उत्पादन

वैशाख १८, २०७९

डीबी बुढा

जुम्ला — वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर नेकपा माओवादी केन्द्र हिमा गाउँपालिकाले घोषणा पत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा ‘एक युवा एक उत्पादन’ नीतिलाई जोड दिइएको छ भने एक टोल एक उद्यमशीलता केन्द्रसमेत स्थापना गर्ने दाबी गरिएको छ । 

पालिका अध्यक्षका उम्मेदवार अमरजंग शाहीले सार्वजनिक गरेको घोषणपत्रमा पालिकास्तरमा एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान गर्ने, रैथानेबालीको संरक्षण प्रवर्द्धनसहित कृषिको आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरणलाई सुनिश्चित गर्ने, किसानहरूको श्रम सहकारी संगठन र समूहको निर्माण गर्ने उल्लेख गरिएको छ । 

घोषणापत्रमा कृषि संकलन केन्द्र स्थापना गरेर कृषि बजारको व्यवस्था गर्ने, किसानलाई सहुलियत ऋण, अनुदान, व्यावसायिक तालिम प्रदान गर्नुका साथै प्राविधिक जनशक्ति व्यवस्थापन र बजारीकरणमा आवश्यक सहुलियत सुनिश्चित गर्ने, कृषि, पशु र स्याउ बिमाको व्यवस्था गर्ने, साना तथा मझौला उद्योगको स्थापनामा जोड दिइएको छ । 

टोलटोलमा सहकारी, घरघरमा रोजगारी भन्ने मान्यता स्थापित गर्ने, पालिकाको आफ्नै प्रहरी व्यवस्था गर्ने, २० देखि ५९ वर्षका नगरवासीलाई रोजगारी दिने, निःशुल्क आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने घोषणापत्रमा समेटिएको शाहीले बताए ।   

एक वडा एक स्वास्थ्य चौकी, पालिका स्तरमा पूर्ण क्षमताको आधारभूत अस्पताल निर्माण गर्ने, औषधिजन्य स्थानीय जडिबुटीको सदुपयोग गरी औषधि उत्पादनमा जोड दिने, स्वास्थ्यचौकीमा सुत्केरी हुन आउने महिला बस्नका लागि आमा‚ घर र बर्थिंङ सेन्टरको स्थापना गर्ने माओवादी केन्द्रले जनाएको छ । 

गुणस्तरीय शिक्षाका लागि ठोस योजना बनाउने, बहुप्राविधिक शिक्षालय स्थापना गर्ने, प्रत्येक शैक्षिक संस्थालाई भौतिक पूर्वाधार र सूचना प्रविधिसँग जोड्ने, पालिका स्तरमा पूर्णकालीन खेलाडी टिम निर्माण गरेर उनीहरूको भरणपोषणको सुनिश्चितता गर्ने, उच्च शिक्षा अध्ययनका लागि गरिब तथा जेहेन्दार विद्यार्थीलाई पालिकाले उचित छात्रवृत्तिको व्यवस्था गर्ने नेकपा माओवादीले जनाएको छ । 

स्थानीय तह निर्वाचन २०७९

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully