धरानका प्रमुख उम्मेदवार के भन्छन् ?

वैशाख १८, २०७९

कान्तिपुर संवाददाता

धरान — वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका सन्दर्भमा धरान उपमहानगरपालिकाका दुई प्रमुख उम्मेदवारसँगको कुराकानी :

'उपनिर्वाचनमा जस्तो परिस्थिति अहिले छैन' 

मञ्जु भण्डारी सुवेदीउपमहानगर प्रमुखको उम्मेदवार‚ नेकपा एमाले

तपाईं निर्वाचित हुनुभयो भने धरानका लागि के गर्नुहुन्छ ? 

मैले प्रतिबद्धता गरेअनुसारका धेरै काम उपप्रमुख हुँदै गरेको छु । मेरो उम्मेदवारीले महिलामा उत्साह बढाएको छ । महिला मुक्तिका लागि केही हुन्छ भन्ने आस छ । महिलाले कोक्रो हल्लाउने मात्रै होइन, संसार हल्लाउन सक्छन् भन्ने देखाउँछु । खानेपानी, सुकुम्बासीको समस्या, सामाजिक जागरण, सडक निर्माण यी सबै क्षेत्रमा हामीले काम गर्न सक्छौं । 

अर्को प्रतिस्पर्धी उम्मेदवारभन्दा तपाईंमा के फरक छ ?

मैले उपप्रमुख र लामो समय कार्यवाहक प्रमुख भएर काम गरिसकेको छु । यसैले मसँग धेरै अनुभव छ । धरानका २० वटा वडालाई कसरी अघि बढाउने भन्ने भिजन मसँग छ । कसरी विकास गर्ने, विकासको योजना कसरी बनाउने ? धरानको विकासका लागि स्थानीय स्रोतले मात्रै हुँदैन । बजेट धेरै पार्नका लागि केन्द्रसँगको पहुँचसमेत छ । 

उपनिर्वाचनमा कांग्रेसले जितेपछि यसपटक तपाईंका लागि कत्तिको कठिन प्रतिस्पर्धा छ ? 

त्यतिबेलाको परिस्थिति बेग्लै थियो । नेकपाभित्रै विवाद थियो । उम्मेदवार एमालेले पाउने कि माओवादीले पाउने भन्ने अन्तरसंघर्ष थियो । एमालेले उम्मेदवार पायो । जनतालाई पनि नयाँ आउँदा केही हुन्छ कि भन्ने थियो होला । अब नयाँ व्यक्तिको पनि परीक्षण भइसक्यो । एमाले सांगठनिक रूपमा त्यतिबेलाभन्दा बलियो छ । अब मैले जित्छु भन्नेमा ढुक्क छु । 

'कहाँबाट गोल हान्ने हेरिरहेको छु' 

किशोर राई‚ उपमहानगर प्रमुखको उम्मेदवार‚ नेपाली कांग्रेस

धरान बनाउन कस्ता एजेन्डा अघि सार्नु भएको छ ? 

धरानले पानी खोजिरहेको छ । करको दायरा महँगो भएर चर्को विरोध भइरहेको छ । त्यसलाई घटाउने र दायरा बढाउनुपर्ने छ । विकासको मोडल बदल्नु छ । प्रत्येक वर्ष ५ हजारलाई रोजगारी दिने, धरानलाई व्यापारिक केन्द्रका रूपमा विकास गर्ने, सुकुम्बासी समस्या समाधान गर्नेलगायत एजेन्डालाई मैले प्राथमिकता दिएको छु । 

सबैले राम्रा एजेन्डा अघि सार्ने, चुनाव जितेपछि नगर्ने प्रवृत्तिले जनतामा नेताप्रति वितृष्णा जागिरहेको छ नि ?

हिजोको जस्तो चलाएर हुन्न । म त फुटबलको खेलाडी पनि हुँ । मैदानमा पसिसकेपछि गोल हानेरै बाहिरिनुपर्छ भन्ने मान्यता छ । अहिले हामी मैदानमा प्रतिस्पर्धा गरिरहेका छौं । बल डी एरियामा पुगिरहेको छ । विपक्षीलाई छक्याएर गोल कताबाट हान्ने हेरिरहेको छु । गोल मैले नै हान्छु । यो चुनावका बेलामा मात्रै होइन । पछि पनि गोल हान्ने मैले नै हो । धरान बनाउने योजना मसँग छ ।

कस्तो छ त तपाईंको योजना ? 

जनप्रतिनिधि भएपछि सबैभन्दा पहिलो गल्ती गरेका कुरालाई लुकाउने होइन । सबैलाई बताएर अघि बढ्ने हो । मैले जितेपछि धरान बनाउन कांग्रेस मात्रै होइन, सबै दलको सहभागिता खोज्छु । मैदानमा हारजित भएपछि हामी सबै खेलाडी हौं भन्ने खेलको भावना राजनीतिमा भित्र्याउन चाहन्छु । सबैको धरान हो । धरान बनाउन हामी सबै लाग्नुपर्छ भन्ने भावना विकसित गराउँछु । यसैबाटै विकासको मोडल बदल्न सकिन्छ भन्ने मलाई लाग्छ ।

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully