अन्तर्वार्ता

'चिरीबाबु, नराम्रो काम गरिस् भन्न कोही आएका छैनन्' [भिडियो]

'ललितपुर महानगरमा हरियाली प्रवर्द्धन गरेका छौं, महानगरको ४५ रोपनी जग्गा फिर्ता ल्याएका छौं, दुई वर्षभित्र त्यहाँ कमलको फूल फुलाउने भन्ने योजना छन् । '
'गठबन्धन पनि छ, अहिले अलि बलियो भएको छु' 
'विभिन्न पदमा रहेर काम गर्दा कुनै पनि महानगरवासी वा राजनीतिज्ञ, पक्ष विपक्ष जोसुकै होस्; कसैले पनि आरोप लगाउन सकेको छैन ।'

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा कोही उम्मेदवार मनोनयन दर्ता गरेर प्रचारप्रसार जुटेका छन् भने कसैले जनतामाझ राख्नका लागि आफ्ना ठोस योजना तयार पारिरहेका छन् । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले तालमेल गरेका छन् भने प्रमुख प्रतिपक्षमा रहेको एमालेले पनि साना दल र राजनीतिक व्यक्ति तथा समूहसँग सकेसम्म गठबन्धन गरेको छ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा तालमेल गरेर उम्मेदवार चुनावी मैदानमा उतारेको छ । 

'चिरीबाबु, नराम्रो काम गरिस् भन्न कोही आएका छैनन्' [भिडियो]

ललितपुर महानगरपालिकामा २०७४ कै प्रतिस्पर्धीबीच मुख्य लडाइँ हुने देखिएको छ । उनीहरूमा को बढी जनप्रति भन्ने मानगरका एक लाख २२ हजार आठ सय ९० मतदाताले निर्क्यौल गर्नेछन् ।

ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जन गठबन्धनका उम्मेदवार रहेका छन् । उनीसँग दोस्रोपटक एमालेका हरिकृष्ण व्यञ्जनकारले प्रतिस्पर्धा गर्दैछन् । २०७४ सालको निर्वाचनमा ३ सय २६ मतान्तरले विजयी भएका महर्जनसँग पाँच वर्षे कार्यकालको समीक्षा, उनीमाथिका आरोप, आगामी चुनावका एजेन्डा, ‍र तयारीबारे ई-कान्तिपुरका लागि जयसिंह महरा र प्रशान्त माली ले गरेको कुराकानी:

२०७४ सालको चुनावमा तपाईंले मेयरको टिकट पाउनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग बाजी राख्नुपरेको थियो, यसपालिको अनुभव कस्तो रह्यो ?

त्यतिबेला मैले नेतागणलाई चिन्थे तर नेतागणले मलाई चिन्नुहुन्नथ्यो । तसर्थ महानगरपालिकाको मेयरजस्तो उम्मेदवार हामीले नचिनेको भन्ने थियो । मेरो नाम पनि टिपिकल नेवारी ज्यापु, चिरीबाबु । त्यसैले उहाँहरूले मेरो नाउँ पनि उच्चारण गर्न गाह्रो ! कहिले नदेखेको, यस्तो मान्छेलाई टिकट दिएर होला र ! भन्ने नेतृत्वमा अलि कन्फ्युजन थियो । तसर्थ बाजी राख्नुपर्‍यो । नेतृत्वले विश्वास गरेको थिएन र बाजी राखेर विश्वास दिलाए, बाजी जिते ।

उम्मेदवारी फिर्ता लिने दिन पनि तपाईं मोबाइल स्विच अफ गरेर 'बेपत्ता' हुनुभएको थियो हैन ?

त्यो बेला माओवादीसँग सहकार्य गर्ने हल्ला निस्कियो । कतै हामीलाई पनि उम्मेदवारी फिर्ता गराउने हो कि भन्ने डरले म र उपमेयर (गीता सत्याल) उम्मेदवार कीर्तिपुरको एउटा घरमा लुक्न गएका थियौं । यसपालि त्यो गर्नु परेन ।

यसपालि टिकट पाउने र जित्ने म नै हुँ भनेर दाबी गरिराख्नुभएको थियो, यो पाँच वर्षमा के काम गर्नुभयो र तपाईंलाई ललितपुरका मतदाताले जिताउनुहुन्छ लाग्यो ?

पाँच वर्षको दौरानमा स्वास्थ्य, शिक्षा, रोजगारी, सम्पदा संरक्षण, वातावरणदेखि सुशासनका क्षेत्रमा धेरै काम गरेका छौं । यी काम देख्न सक्नुहुन्छ । हाम्रा कामको रसस्वादन नगरबासीले गर्दै आउनुभएको छ । मेयर चिरीबाबुको नेतृत्वमा पाँच वर्षको जे काम भए त्यो एकदमै राम्रोसँग भयो भन्ने उहाँहरूको ठम्याइ छ । तस्बिर/भिडियो : अंगद ढकाल/कान्तिपुर

त्यो बेला मैले भनेको थिएँ मेयर भएको अवस्थामा नगरबासी कसैको शीर निहुरिने काम गर्ने छैन । अहिले सोध्ने गरेको छु मैले गरेको कुनै कामले तपाईंलाई लाज लाग्यो ? शीर निहुरियो ? र, उहाँहरूको जवाफ 'त्यस्तो छैन' भन्ने पाइरहेको छु । त्यसैले उहाँहरूकै सुझावअनुसार पुनः उम्मेदवारी दिएको छु ।

२०७४ सालमा तपाईंले ल्याएका महत्त्वाकांक्षी योजना स्मरणमा छन् ?

स्मरण गर्छु । तपाईंले भन्नखोज्नुभएको महत्त्वाकांक्षी योजना पुल्चोकदेखि थापाथलीको बागमती पुलसम्मको १.४ किलोमिटरको दूरीमा 'फ्लाई ओभर'को थियो । त्यो फ्लाई ओभर राख्नका निम्ति अध्ययन पनि गरायौं र रिपोर्ट सकरात्मक आयो । तर हामीलाई प्राविधिक समस्या पर्‍यो । त्यसका लागि ६-७ घर अधिग्रहण गर्नुपर्ने । फ्लाइ ओभर निर्माण गरेर माइतीघर र त्रिपुरेश्वरको बीचमा जापान सरकारले बनाउने फ्लाइओभरको मुखमा जोड्नुपर्ने तर अहिलेसम्म माइतीघर-त्रिपुरेश्वरको फ्लाई ओभरको नामोनिसान छैन । हामीले बनाएर लग्दाखेरि ल्यान्डिर कहाँ गर्ने ?

भनेपछि, २०७४ सालमा तपाईंले अगाडि सारेको योजना अध्ययनबिनाको थियो ?

त्यो बेला अध्ययनबिनाकै हो । त्रिपुरेश्वर-माइतीघरको फ्लाई ओभरको अध्ययन सकिएको थिएन । हाम्रो धारणा के रह्यो भने त्यो बन्छ भने हाम्रो किन नबन्ने ? हामी सकारात्मक भएर गरिएको घोषणा थियो ।

काठमाडौंले चलायो भने हामी पनि मोनोरेल चलाउँछौं पनि भन्नुभएको थियो नि ?

काठमाडौं महानगरपालिकाले चक्रपथमा मोनोरेल चलाउने भन्ने कुरा गरेको थियो । चक्रपथको ७.९ किलोमिटर ललितपुरमा पर्छ । हाम्रा लागि पनि सहज हुने भएकाले त्यसमा पार्टनर किन नहुने भनेर काठमाडौंले ल्याएको प्रस्तावमा मैले सही ठोकेको हो । तर अन्तत्वगोत्वा चक्रपथ बन्ने अवस्था देखिएन ।

मोनोरेलका लागि तपाईंले पहल गर्नुभएन र काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले पनि चासो राख्नुभएन नि ?

मोनोरेल उहाँ र मेरो पहलभन्दा बाहिरको कुरा पर्न गयो । यो चक्रपथ नै नबनेको अवस्थामा मोनोरेल बन्ने छाँटकाँट भएन ।

ललितपुरका सडक पानीले पखाल्छु भन्नुभएको थियो, त्यो कत्तिको पूरा भयो ?

मेरो घोषणापत्र हेर्नुभयो भने त्यहाँ 'मेलम्चीको पानी आएमा' भन्ने शब्द प्रयोग गरेको थिए । मेलम्ची आयो तर असार १ गतेको बाढीपहिरोले गयो । त्यसकारण गाह्रोसाह्रो पर्‍यो । फेरि मेलम्ची आएको छ । मेरो त्यो योजना कायमै छ । पानी ट्यांकी, ब्रुमर जोडिसकेका छौं, मेलम्ची आएर पानी यथेष्ट हुनासाथ हामी सडक पखाल्ने काम गरिहाल्छौं ।

पर्यटकका लागि सांस्कृतिक सम्पदाहरूलाई एक अर्कासँग जोड्ने योजना थियो त्यसमा कति काम भयो ?

पाटन दरबार स्क्वायरमा आउने पर्यटकलाई खोकनासँग जोड्ने योजना थियो । त्यसको निमित्त इलेक्ट्रिक बस व्यवस्था गरेका थियौं । युक्रेनको युद्ध नभइदिएको भए हाम्रो चार वटा इलेक्ट्रिक बस आइसक्ने थिए । अब एक महिनाभित्र ती आइपुग्छन् । अर्को चार बस पनि थपेका छौं । साझा यातायातसँग सहकार्य गरिसकेका छौं । हाल ललितपुरमा पर्यटकहरू आधा दिनभन्दा कम मात्रै बस्नुहुन्छ त्यो बसाइ लामो पार्नका निम्ति यो योजनाले सहयोग गर्छ भन्ने हाम्रो धारणा हो ।

हामीले सम्पदा क्षेत्रहरूलाई एकापसमा जोड्छौं । जसले गर्दा महानगरपालिकामा आउँदाको अवस्थामा हामीले पर्यटन शुल्क लिन्छौं र त्यसबापत ७२ घण्टाका लागि ई-बस चढ्ने टिकट दिन्छौं । त्यसो भए पर्यटक सबैतिर घुम्न पाउनुहुनेछ ।

सूचना केन्द्र निर्माण गर्छौं भन्नुभएको थियो, त्यो बन्यो ?

सूचना केन्द्र निर्माणका लागि जावलाखेलमा काम सुरु गरिसकेका छौं ।

राजकुलोमा पानी बग्नेछ, ढुंगेधारा पुनर्जीवित हुनेछन् भन्नुभएको थियो, यसमा के कति काम भयो ?

राजकुलो टीकाभैरवबाट ढोलाहिटीसम्म चलेको छ । ढोलाहिटीबाट चक्रपथ छलेर लगनखेल सप्तपाताल पोखरीसम्म ल्याउनका निम्ति अध्ययन भइरहेको छ । बुंगमती खोकनातिर पनि राजकुलो राम्रोसँग सञ्चालनमा ल्याएका छौं ।

जहाँसम्म ढुंगेधाराको कुरा छ, ढुंगेधारामा पानी झार्नु महाभारत छ । तीनवटा ढुंगेधारामा पानी झार्नका निम्ति योजना सुरु गर्‍यौं तर सफल भइरहेको छैन । यसको मतलब प्रयास नगर्ने भन्ने होइन । एउटा ढुंगेधारामा पानी झार्नुभन्दा गगनचुम्बी भवन बनाउन सजिलो छ ।

शैक्षिक सुधार, रोजगारीका अवसर दिलाउने वाचा पूरा भए त ?

ललितपुर महानगरपालिका शिक्षाको हब हो । यहाँ सामुदायिक, संस्थागत विद्यालय साह्रै राम्रा छन् । संस्थागत विद्यालयको नतिजा साह्रै राम्रो छ । शिक्षाको गुणस्तर वृद्धि गर्नका निमित्त महानगरपालिकाबाट मनग्गे काम भइरहेको छ । नेपालमा शिक्षा ऐन छैन तर विद्यालय चलाउनुपर्‍यो, त्यसैले शिक्षा निर्देशिका बनाएर काम गरिरहेका छौं ।

रोजगारी सिर्जनाको लागि ट्रेनिङ दिएका थियौं । तर त्यो ट्रेनिङ मात्रै दिएर नपुग्ने रहेछ । ट्रेनिङ दिइसकेपछि पुँजी खर्च पनि गर्नुपर्ने रहेछ । रोजगारी सिर्जनाका लागि बीउ पुँजीको व्यवस्थापनको काम आगामी दिनमा गर्छौं ।

भौतिक संरचना निर्माणका वाचा र निर्णय के भए ?

हामीले आयुर्वेदिक अस्पताल निर्माण गर्ने भनेका थियौं । धापाखेलमा ४ रोपनी जग्गामा आयुर्वेदिक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ । बजेटको व्यवस्थापन गरिसकिएको छ ।

पाँच वर्षमा सिकेको पाठमा आधारित भएर आगामी चुनावको लागि कस्तो घोषणापत्र ल्याउन लाग्नुभएको छ ?

घोषणापत्रका लागि विषयवस्तु राम्रोसँग व्यवस्थापन गरेका छौं । पाँच वर्षमा गर्न नसकेको, अपुरो भएका काम पूरा गर्ने योजना छन् । महानगरबासीहरूलाई पर्ने समस्या सम्बोधन गर्ने कुरा छन् ।

कोभिडको समयमा ललितपुर महानगरपालिका ७ सय ५३ पालिकामध्ये सबैभन्दा राम्रो काम गर्नेमा पर्छ भन्ने नेपाल सरकारले नै भनेको छ । कठिन अवस्थामा पनि हामीले राम्रो काम गर्न सक्छौं भन्ने कुराको पुष्टि भएको छ । यस्ता समस्या आउँदा राम्रोसँग व्यवस्थापन गर्ने योजना छन् ।

घोषणापत्रमा नगरवासीहरूको जीवनशैली उच्च बनाउन, स्वास्थ्य सुविधा दिन, शिक्षा क्षेत्र सुधार गर्न, कतै केही भइहाल्यो भने एउटै छानाबाट सेवा दिने योजना छन् । यी कुरा लागू गर्छौं । ललितपुर महानगरमा हरियाली प्रवर्द्धन गरेका छौं, महानगरको ४५ रोपनी जग्गा फिर्ता ल्याएका छौं, दुई वर्षभित्र त्यहाँ कमलको फूल फुलाउने भन्ने योजना छन् ।

पाँच वर्षको अनुभवले अबको घोषणापत्रमा फ्लाई ओभर, ढुंगेधारा ब्युँताउने योजना त पर्दैनन् होला है ?

ती योजना महत्त्वाकांक्षी होइनन् भन्ने मेरो भनाइ छ । कसै न कसैले प्रयास त गर्नुपर्थ्यो । महानगरपालिकाको नाकैमुनि रहेको ढुंगेधारा छ । त्यसको पानी पिएर, नुहाएर हामी हुर्क्यौं, बूढो हुँदैछौं । तर, त्यहाँ लाख प्रयास गर्दा पनि पानी झरेन । अब कृत्रिम रूपमा पानी झार्नै योजनामा छौं । प्राकृतिक रूपमा पानी झार्न सम्भव देखिएन । अन्य ढुंगेधाराहरूमा पनि पानी झार्ने प्रयास जारी रहनेछ ।

यातायात र सडकका समस्या समाधान गर्नका लागि के योजना ल्याउँदै हुनुहुन्छ ?

ललितपुर महानगरपालिकामा हामी आइसकेपछि 'मेट्रोपोलिटन ट्रान्सपोर्टेसन मास्टरप्लान' अध्ययन गरायौं । त्यसमा धेरै कुरा सिफारिस गरिएको छ । सुझावअनुसार धेरै ठाउँमा यातायात 'वान-वे' गराएका छौं । मोटर छिर्न नपाउने स्थान तोकेका छौं । सुझाव लागू गर्दै गइरहेका छौं । तर, हामी सडक सानो भयो भनेर दायाँबायाँको घर भत्काएर सडक ठूलो पार्ने किमार्थ गर्दैनौं ।

मतदाता भड्किएलान् भनेर हो कि ?

त्यो पनि एउटा कारण त हो तर त्यसले समाधान दिँदैन । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बाटो चौडा गरियो तर ट्राफिक जाम त जताततै छ ।

यसको विकल्प सार्वजनिक सवारी साधनको विश्वसनीयता पनि होला, त्यसतर्फ के काम गर्नुभयो ?

सार्वजनिक यातायात विश्वसनीय बनाउन सहकार्य गर्न तयार छौं । मेट्रोरेल, मोनोरेलको कुरा गर्‍यौं । मोनोरेल कसैले आएर काठमाडौं भ्यालीभित्र चलाउनका निम्ति पहल गर्छन् भने ललितपुर महानगरपालिका लगानी गर्न तयार छ । साझा यातायातका बसमा लगानी गरेका छौं । भित्री सहरमा इलेक्ट्रिक बस चलाउनुपर्छ भनेर लगानी गरेका छौं ।

काठमाडौं उपत्यकाको ठूलो समस्यामध्येको एक फोहोर व्यवस्थापन हो । तपाईंले २०७४ मा विदेशी मेसिन ल्याएर 'फोहोरबाट मोहोर बनाउँछु' भन्नुभएको थियो, त्यो योजना के भयो र अबको योजना के छ ?

जापानको योकोहामा नगरपालिकाले लगभग साढे ३ अर्ब रुपैयाँ पर्ने फोहोर व्यवस्थापन प्रणाली दिन्छु भनेको हो । महानगरपालिकाको दक्षिणमा फोहोर व्यवस्थापनका लागि जग्गा अधिग्रणह गर्ने भनेर लाग्यौं । यो कुरा नागरिक उड्डयन प्राधिकरणलाई थाहा पाएछ । प्राधिकरणले त्यो ठाउँ विमानको रुटमा पर्ने र फोहोर राख्दा चराहरू विमानमा ठोक्किएर दुर्घटना हुन्छ भनेर लामो चिठी लेख्यो ।

अहिलेका निम्ति काठमाडौं उपत्यकाका नगरहरूको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडा र सिसडोल नै उपयुक्त विकल्प हो । त्यहा बेला मौकामा समस्या आइराख्छ । त्यहाँ समस्या आउँदा १२-१५ दिनको लागि व्यवस्थापन गर्दै आइरहेका छौं ।

महानगरपालिकामा भ्रष्टाचार हुन्छ र सेवा प्रवाहमा समस्या छ भन्ने गुनासो सार्वजनिक रूपमा उठेका छन्, तपाईंका प्रतिद्वन्द्वीले पनि त्यो मुद्दा उठाइरहेका छन् । यसमा तपाईंको भनाइ के छ ?

ललितपुर महानगरपालिकामा ७ सय कर्मचारी छन् । सबै कर्मचारीको मन, मस्तिष्कमा मेयर छिर्न सक्दैन । मैले आफू उदाहरणीय बनेर देखाउने हो, त्यो देखाए । म मेयर हुँदै गर्दा अख्तियारले तीन पटक 'रेड' गरेर तीन कर्मचारीलाई रंगेहात समात्यो । अब मेरो महानगरपालिकामा भ्रष्टाचार, घुसखोर छैन भन्नै मिलेन । तर, तीनको सट्टा ९ हुन्थ्यो होला कथंकदाचित म त्यस्तो भइदिएको भए । तर, ३ बाट ४ भएको छैन । सन्तुष्टि भनेको त्यस अर्थमा लिनुपर्छ । भ्रष्टाचार न्यूनीकरण गर्नका निम्ति कुनै पनि काम बाँकी राख्दैन । कसैले भ्रष्टाचार गर्न खोज्यो, घुस माग्यो भने सामाजिक सञ्जालमा राखिदिनुस् म तत्काल कारबाही गर्छु भनेको छु ।

तपाईंको विरुद्धमा बेरुजु फर्छ्यौट नगरेको भनेर उजुरी परेको थियो, त्यो किन गर्न नसक्नुभएको ?

यो मुलुकभरी बेरुजु नहुँदो हो त महालेखा परीक्षकको कार्यालयले सम्मानीय राष्ट्रपतिलाई बाक्लो पुस्तक (वार्षिक प्रतिवेदन) दिनुपर्ने थिएन होला । यही सन्दर्भमा चिरीबाबु महर्जनको कता गल्ती छ भनेर 'आईग्लास' लिएर खोज्यो, केही पनि भेटिएन । केही नभेटेपछि वडा नम्बर १८ का अध्यक्ष गोपाल डंगोलले नगरपालिकाको २०७३ देखि अहिलेसम्मको बेरुजुको पानापाना झिकी अंक जोडेर मेयरको बेरुजु छ, यो सबै तिराउनुपर्छ, तिरेन भने उम्मेदवारी खारेज गर्नुपर्छ भनेर निवेदन दिनुभयो । उहाँ पनि जनप्रतिनिधि हो । म खारेज भए भने उहाँ पनि खारेज हुन्छ । संस्थागत बेरुजु हो, व्यक्तिगत किटानी बेरुजु होइन ।

तपाईं त संस्थाको प्रमुख पनि हो नि !

सिंहदरबारमा २२ मन्त्रालय छन् । १ अर्बभन्दा कम बेरुजु भएको कुनै पनि मन्त्रालय छैन । त्यो सबैको हिसाब गरेर प्रधानमन्त्रीको थाप्लोमा हाल्ने हो त ? चिरीबाबु महर्जनको किटानी बेरुजु छ, नलिनुपर्ने सुविधा लिएको छ, निजबाट असुल गर्नुपर्छ भनेर लेखिएको भए ठीक छ । डंगोलको उजुरी निरर्थक छ भनेर आयोगको कार्यालयले क्लिन चिट दिइसकेको छ ।

२०७४ सालमा तीन सय २६ मतले मात्रै जित्नुभएको तपाईंलाई गठबन्धनले बल दिएको छ कि धरमर नै छ ? पार्टीभित्रबाट गुनासो आइरहेको सुनिन्छ ।

त्यो बेला म एकल क्षमतामा चुनाव लडेको, तैपनि जितेँ । त्यो बेलाको वस्तुस्थिति फरक थियो । चुनावकै निम्ति उपमहानगरलाई महानगरपालिका बनाइयो । छिमेकी गाउँपालिका जोडिएको थियो । ती गाउँपालिकासँग मेरो जनसम्पर्क राम्रो थिएन । त्यसले गर्दा अलि झिनो मतले जितेको हो ।

तपाईंले जित्नुभएकै होइन, जालझेल गर्नुभएको हो पनि भन्छन् !

अदालत, राष्ट्रले जितेको भनेपछि त्यस्तो भन्न पाइन्छ त !

अहिलेको सन्दर्भमा धेरै सुधारका काम भएका छन् । पाँच वर्षमा धेरै सुधारका काम गरेको छु । नगरवासी खुसी छन् । चिरीबाबु तैँले यो नराम्रो काम गरिस् भन्न कोही आएका छैनन् ।

मेरो आकलनमा अहिलेको चुनावमा राम्रो हुन्छ । केन्द्रले यसरी गठबन्धनमा जाने भन्ने आदेश गर्‍यो, त्यसलाई शिरोधार्य गर्नैपर्छ । यो भनिरहँदा म मेयर र बाबुराजा बज्राचार्य माओवादीको तर्फबाट उपेमयरमा उम्मेदवार हुनुहुन्छ । मैले उहाँको सहयोग प्राप्त गर्छु, मेरो पनि सहयोग उहाँकोमा जान्छ । हामी दुवैजना मजासँग विजयी हुन्छौं ।

वडाहरूमा चाहिँ समस्या छ ?

२९ वडा छन् । अलिअलि समस्या नभएको त होइन तर धेरैजसोमा समाधान भइसकेको छ ।

२०७४ कै प्रतद्वन्दी हरिकृष्ण व्यञ्जनकार मैदानमा हुनुहुन्छ, कसरी लिनुभएको छ ?

म कमजोर अवस्थामा रहँदाखेरि नै हराएको हो । अहिले अलि बलियो भएको छु, गठबन्धन पनि छ । त्यसले गर्दा बलियो अवस्था भएकाले विपक्षीलाई सजिलैसँग हराउन सक्छु ।

उहाँसँग व्यक्तिगत सम्बन्ध कस्तो छ ?

सम्बन्ध ठीकै छ । भोजभतेर हुँदा मुलाकात गर्छौं, अंगालो मार्छौं, हात मिलाउँछौं । तर अलिकति पछाडि उहाँले कुरा काट्नुहुँदो रहेछ । मचाहिँ त्यसो गर्दैन ।

तपाईं नै फेरि उम्मेदवार बनेर आउनुभएको छ, ललितपुरका मतदाताले तपाईंलाई फेरि किन भोट हाल्ने ?

म तीन पटक वडाध्यक्ष भएर ह्याट्रिक गरेको हो । त्यसपछि ज्यापु समाजको अध्यक्ष भएर काम गरेँ । त्यहाँ पनि बहुत सुधारका काम गरेँ । पछिल्लो पाँच वर्षमा मेयर भएर काम गरेँ ।

यी विभिन्न पदमा रहेर काम गर्दा कुनै पनि महानगरवासी वा राजनीतिज्ञ, पक्ष विपक्ष जोसुकै होस्; कसैले पनि आरोप लगाउन सकेको छैन । अहिले जति काम गर्‍यौं कांग्रेस केन्द्रीय कार्यसमिति, ललितपुर जिल्ला समिति, महानगरका कार्यकर्ता र जनताको चाहनाअनुसार चलेर समस्या सम्बोधन गर्‍यौं ।

त्यसलै, मलाई मतदाताले सकारात्मक रूपमा लिनुभएको छ । नयाँ आउनेलाई सिक्नका निम्ति धेरै समय लाग्छ । हामी जित्नासाथ काममा लाग्न सक्ने अवस्थामा छौं । जितेर जाँदाखेरि कुनै किसिमको ऐन/कानुन थिएन, योजना बैंकको कुरा त परै जाओस् । अहिले त ऐन/कानुन छन्, योजना बैंक तयार छ । ऐन छैन रोकौं भन्नुपर्ने अवस्था छैन । योजना बैंकमा छानिछानी राखिएकाले कुन योजना लागू गर्ने भन्ने अवस्था छ ।

मैले सुरु गरेका योजना कुनै आधा, कुनै दुई तिहाई सकिएका छन् त कुनै भर्खरै सुरु भएका छन् । यसका निम्ति एकपटक ललितपुर महानगरपालिकाको मेयरमा आइदिए हुन्छ भन्ने जनमानस र कांग्रेसको सदीक्षाले यो पटकको उम्मेदवारी दिएको हुँ ।

प्रकाशित : वैशाख १७, २०७९ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?