एकाएक खोसिएको ‘अटेरी समूह’ को ‘लौरो’ फेरि दिइयो

वैशाख १७, २०७९

दीपक परियार

पोखरा — मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका खड्गराज (गनेस) पौडेललाई बिहान साढे १० बजे सूची दिएर कुनै एक चुनाव चिह्न छान्न लगायो ।

अन्य स्वतन्त्र उम्मेदवारले चुनाव चिह्न छानिसकेपछि ‘अटेरी समूह’ का पौडेलले ‘लौरो’ छाने । समूहअन्तर्गत वडामा स्वतन्त्र उम्मेदवारी दिएकाले पनि चुनाव चिह्न ‘लौरो’ पाए । उम्मेदवारले प्रचारप्रसार सुरु गरे । 

दिउँसो ४ बजे निर्वाचन कार्यालयले पौडेललाई फोन गरेर ‘लौरो’ दिन नसकिने बतायो । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को अनुसूची २७ बमोजिम ७ चुनाव चिह्न मात्रै कास्कीका लागि दिएको कार्यालयले सूचना दियो । लौरो आठौं नम्बरमा थियो । बिहान दिएको चुनाव चिह्न दिउँसो खोसिएपछि ‘अटेरी समूह’ ले निर्वाचन कार्यालय घेराउ गरे । समूहको दबाबपछि निर्वाचन कार्यालयले पुन: लौरो नै कायम गर्‍यो । 

मेयरका उम्मेदवार पौडेलले अभियानबाट त्रसित दलको प्रभावमा ‘लौरो’ चिह्न दिन नखोजिएको आरोप लगाए । ‘काठमाडौंमा बालेनले लौरो पाए, अन्यत्र पनि स्वतन्त्र उम्मेदवारले लौरो लिएका छन्,’ उनले भने, ‘स्वतन्त्र उम्मेदवारका एक खालको लहर आउने देखेपछि राजनीतिक दलकै दबाबमा एकैखाले चनाव चिह्न दिन खोजिएको थिएन । अहिले निर्वाचन कार्यालयले आफ्नो गल्ती सुधार गर्‍यो ।’ उनले चुनाव चिह्न पाइसकेपछि प्रचारप्रसार समेत सुरु गरिसकेको बताए । 

मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार निर्वाचन आयोगको दिउँसो दुई बजे स्वतन्त्र उम्मेदवार जति संख्यामा छन् त्यही लहरसम्मको मात्रै चुनाव चिह्न दिन परिपत्र गरेको थियो । पोखरामा सातजना स्वतन्त्र उम्मेदवार रहेकोले सातौं लहरभित्र लौरो परेन ।

उक्त परिपत्र बमोजिम अटेरी समूहलाई ‘लौरो’ दिन नसकिने बताइएको थियो । ‘आयोगले मतपत्र ठूलो नहोस् र खर्च नहोस् भनेर त्यसो भनेको रहेछ,’ उनले भने, ‘पछि हामीले छलफल गरेपछि एक लहर बढी छाप्दा केही नहुने भएको दिनु भन्ने निर्देशन आएपछि फेरि लौरो नै दियौं ।’

स्थानीय तह निर्वाचन २०७९

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully