बागी उम्मेदवारले चुनावी रौनक

म्यादी प्रहरी र झन्डा लागेका गाडीको ओहोरदोहोरले चुनावको आभास भए पनि तडकभडक देखिँदैन

वैशाख १८, २०७९

डीआर पन्त

धनगढी — कांग्रेस र एमालेबाट विद्रोह गरेर उम्मेदवार बनेका कसैले पनि मनोनयन फिर्ता नलिएपछि डडेलधुराको चुनावी माहोल रोचक बनेको छ । शुक्रबार प्रमुख पदका तीन जनाबाहेक कसैले पनि उम्मेदवारी फिर्ता लिएनन् । शनिबारदेखि उम्मेदवारहरू मत माग्न टोलबस्तीमा पुग्न सुरु गरेका छन् ।

डडेलधुरा सदरमुकामका व्यवसायी श्याम चटौतले उम्मेदवारको अन्तिम नामावली प्रकाशन अगाडि देखिएको अन्योल हटेपछि चुनावी माहोल विस्तारै तात्न सुरु गरेको बताए । उनले भने, ‘पार्टीहरूभित्र देखिएको अन्तरविरोध, कार्यकर्तामा निराशा, विगतका जनप्रतिनिधिका गतिविधिले चुनावप्रति चासो घटेको जस्तो देखिए पनि माहोल तात्न थालेको छ ।’ 

डडेलधुराको प्रवेशद्वार गन्यापधुराको गैरा बजारमा भेटिएका पुराना सामाजिक कार्यकर्ता रमेश बोकटीले यस पटक चुनावी माहोल लथालिंग बनेको बताए । ‘स्थानीय तह निर्वाचनमा देखिनुपर्ने रौनकता छैन । कोही चुनावका विषयमा कुरा पनि गर्न चाहँदैनन्,’ उनले भने ।

 डोटी–डडेलधुरा सिमानाको गैरा बजारमा भेटिएका अर्का स्थानीय हरिसिंह बोहराले पनि यस पटक चुनावप्रति धेरैको चासो नभएको टिप्पणी गरे । उनले भने, ‘५ वर्षसम्म जनप्रतिनिधिका गतिविधि देखेर दुःखी भएका सर्वसाधारणलाई मात्र होइन राजनीतिक कार्यकर्तालाई पनि चुनावप्रति त्यति धेरै चासो नहुँदानहुँदै पनि गाउॅंमा नेताकार्यकर्ताको चहलपहल सुरु भइसकेको छ ।’ डडेलधुरा सदरमुकामको बसपार्कसँग जोडिएको बागबजारमा केही झन्डा टाँगिएका छन् । त्यसबाहेक विगत जस्तो चोकचौतारामा चुनावी बहस, पसल होटलहरू भरिभराउ हुने डडेलधुरा बजारमा पनि त्यस्तो चहलपहल देखिएको छैन । बजारमा घुम्ने म्यादी प्रहरी र झन्डा लागेका गाडीको ओहोरदोहोरले चुनाव सुरु भएको आभास भए पनि विगतका चुनाव जस्तो तडकभडक देखिँदैन । 

 सदरमुकामको दोस्रो बजार तुफानडाँडामा कांग्रेसका विद्रोही र एमालेले खोलेको संयुक्त प्रचारप्रसार कार्यालयमा केही भीडभाड देखिए पनि अन्य दलका कार्यालयमा भने सामान्य चहलपहल पनि छैन । ‘उम्मेदवार र जिम्मेवार कार्यकर्ताहरू प्रचारप्रसारमा गाउँ पसेका छन्,’ अमरगढी नगरपालिका–४ का शिक्षक हरि ऐरले भने, ‘यस पटक तामझामभन्दा पनि घर दैलो कार्यक्रमलाई प्राथमिकता दिएका कारण माहोल नतातेको जस्तो देखिएको हो ।’ दलका नेताकार्यकर्ताले मतदाताको घर दैलोमा पुगेका, टोलटोलमा केन्द्रित प्रचारप्रसार गरिरहेको सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । 

सात स्थानीय तह रहेको डडेलधुरामा सदरमुकामको अमरगढी नगरपालिकामा मुख्य रूपमा एमालेसंँग तालमेल गरेर निर्वाचन लडेका कांग्रेस (बीपी) र नेपाली कांग्रेसका बीच मुख्य प्रतिस्पर्धा देखिएको छ । एमालेले उपप्रमुख लिएर प्रमुखमा कांग्रेस (बीपी) का हरि भट्टलाई उम्मेदवार बनाएको छ । कांग्रेसले गत निर्वाचनमा कांग्रेसकै एक पक्षले गरेको असहयोगका कारण १ सय ३३ मतले निर्वाचन हारेका डिल्ली जोशीलाई नै उम्मेदवार बनाएको छ ।

नेकपा एकीकृत समाजवादीले निवर्तमान उपमेयर संगीता भण्डारीलाई प्रमुखको उम्मेदवार बनाएको छ । माओवादीका लक्ष्मण सिंह र एकीकृत समाजवादीकी भण्डारीले पाउने मतले हारजित तय हुने अनुमान धेरैले गरेका छन् । सदरमुकामसँग जोडिएको नवदुर्गा, भागेश्वर, अजयमेरु र गन्यापधुरामा पनि कांग्रेसका बागी उम्मेदवार छन् । भागेश्वर गाउँपालिका अध्यक्षमा एमालेका पनि बागी उम्मेदवार छन् । कांग्रेसका बागीले एमालेलाई सघाएका छन् । भागेश्वरमा एमालेकै बागीका कारण चुनावको नतिजा अनुमान लगाउन कठिन छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरामा कांग्रेस कमजोर अवस्थामा देखिएको छ । त्यहाँ पनि कांग्रेसबाट बागी भएका सुरेन्द्र माली एमालेको सहयोगमा उम्मेदवार छन् । कांग्रेसले टिकटको सन्तुलन मिलाउन नसकेको भनाइ स्थानीय कार्यकर्ताको छ । 

स्थानीय तह निर्वाचन २०७९

डीआर

Link copied successfully