धनगढी — कैलालीका १३ वटै स्थानीय तहमा सत्ता गठबन्धन मिलेर गए पनि उम्मेदवार भने कायमै छन् । कैलाली गाउँपालिका अध्यक्षमा सत्ता गठबन्धनले माओवादी केन्द्रलाई उम्मेदवार बनाउने सहमति थियो । तर, नकांग्रेसका रामसमज चौधरीको उम्मेदवारी पनि कायमै छ ।त्यस्तै उपाध्यक्ष कांग्रेसलाई दिने सहमति जुटे पनि माओवादीबाट सतगौवा थारुको उम्मेदवारी कायम छ । गोदावरी नगरपालिकामा गठबन्धनले कांग्रेसका वीरेन्द्र भट्टलाई सघाउने भनेको छ । तर, माओवादीले मेयरमा विक्रम विश्वकर्मालाई पनि उठाएको छ । उपमेयरमा एकीकृत समाजवादी रत्ना कठायतलाई गठबन्धनले आधिकारिक उम्मेदवारको घोषणा गरेको छ । माओवादीकी रिता खड्काको पनि उपमेयरमा उम्मेदवारी कायम छ ।
चुरे गाउॅपालिकामा गठबन्धनभित्र एकीकृत समाजवादीलाई अध्यक्ष र उपाध्यक्ष कांग्रेसलाई दिने सहमति गरेका छन् । तर यहाॅ अध्यक्षमा माओवादीका टेकबहादुर रजवारको उम्मेदवारी कायमै छ । उपाध्यक्षमा एकीकृत समाजवादीले कृष्णा खत्री र माओवादीले डिलादेवी सिजापतीको उम्मेदवारी कायमै राखेको छ । कांग्रेसले गठबन्धनको सहमतीमा धनादेवी थापालाई उम्मेदवारी दिएको बताएको छ ।
उम्मेदवारी फिर्ता लिने प्रक्रियामा अलमल हुॅदा सत्ता गठबन्धन दलका उम्मेदवारी निर्वाचन आयोगको अन्तिम नामावलीमा प्रकाशन भएको कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्टले जानकारी दिए । ‘इमेल माध्यमबाट दलले उम्मेदवारी फिर्ताको लागि पठाएको थियो,’ उनले भने, ‘सर्भरमा आएको समस्याका कारण निर्वाचन अधिकृतको कार्यालयले समयमा फिर्ता उम्मेदवारी पत्र नपाएको भन्ने कुरा आएको छ ।’
कैलालीका मुख्य निर्वाचन अधिकृत जयान्द पनेरुले फिर्ताका लागि समयमा नआएका उम्मेदवारको नाम अन्तिम नामावलीमा प्रकाशन भएको बताए । ‘निर्वाचन आयोगले गठबन्धनलाई चिन्दैन, जुन जुन दलबाट परेको उम्मेदवारी फिर्ताका लागि शुक्रबार ५ बजेसम्म पत्र आयो, त्यो फिर्ता भएको छ,’ उनले भने, ‘५ बजेपछि आएकाहरू फिर्ता भएको छैन ।’
