तेल्घा, पाल्पा — तेल्घाका ६८ वर्षीय ठानबहादुर कुमाल घरको पिँढीमा बसेर टोलाइरहेका थिए । एक छोरा विदेश (कतार)मा रहेको र छोरी स्वास्थ्य चौकीमा काम गर्न गाउँमा गएको उनले सुनाए । ‘श्रीमान् श्रीमती घरमै बसेका छम्,’ उनले भने, ‘चुनाव आएको थाहा छ । सञ्चारमाध्यमबाट निर्वाचनका बारेमा सुनेको छु ।’ तर, उनलाई चुनावमा भोट हाल्ने बाहेक अरू केही रौनक छैन । ‘भोट सधैं दिएका दियै छौं,’ उनले भने, ‘जतिपटक भोट दिए पनि हामीलाई केही भएको छैन ।’
पाँच वर्षमा एकपटक भोट माग्न आउने नेताहरू पुनः फर्केर उनको घरमा पुगेका छैनन् । ठूला नेताको उनले अनुहार नै देखेका छैनन् । गाउँटोलका नेताहरू भोट माग्न आउने र उनीहरूले विभिन्न खालका आश्वासन दिने गरेको उनले सुनाए । ‘दिएका आश्वासन भने केही पूरा गर्दैनन्,’ उनले भने, ‘यस्तो गर्छम्, उस्तो गर्छम् भन्छन् तर पनि केही गर्दैनन् ।’ ठानबहादुरका छिमेकी ६९ वर्षीय इन्द्रबहादुर कुमालको पनि अवस्था उस्तै छ । टिनले छोपेको एकतले घर छ । छोराहरू भारत जान बाध्य छन् । उनलाई आफ्ना छोराहरूले यहीं जागिर गरेर बस्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर, निर्वाचनका बेला आश्वासन दिने नेताहरूले त्यसपछि बेवास्ता गर्दा भने मन खिन्न भएको उनले सुनाए । ‘हामीले भोट दिने अधिकार प्रयोग गरेका छौं,’ उनले भने, ‘तर, हामीलाई कुनै सेवा सुविधा दिएका छैनन् ।’ ठानबहादुर र इन्द्रबहादुरको चाहना भनेको छोराहरूले रोजगारी यहीं पाऊन्, घरमै बसेर काम गर्न पाए हुन्थ्यो भन्ने छ । विदेश र भारतमा बसेर नभई गाउँमै पैसा कमाउने बाटो खोजिदिनुपर्ने उनीहरूको भनाइ छ ।
यी केही उदाहरण हुन् । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन तोकिएको छ । धमाधम प्रचार पनि सुरु भएको छ । तर, विपन्न र पिछडिएको समुदायका बस्तीका बासिन्दा भने मतदाता मात्रै बन्दै आएका छन् । साबिकको तेल्घा गाविस अहिले तानसेन नगरपालिका–१० मा पर्छ । ०७३ सालमा त्यस गाविसलाई नगरपालिकाभित्र पारिएको हो । तर, उनीहरूलाई केही सेवा सुविधा भएको छैन ।
ग्रामीण वडालाई समेटेर तानसेन नगरपालिका बनेको हो । नगरपालिका बनेर झन् सिफारिसको पैसा धेरै लागेको छ । सेवा सुविधा भने केही बढेको छैन । बजारबाट नजिक भए पनि तेल्घाका बासिन्दा विकासबाट भने पछि परेको उनीहरूको अनुभव छ । तेल्घामै नजिकमा स्वास्थ्य चौकीमा औषधि पाउँदैनन् । उनीहरू निजी मेडिकलमा महँगो पैसा तिरेर उपचारका लागि जानुपर्छ । ‘हामीलाई सेवा सुविधा केही छैन,’ इन्द्रबहादुरले भने, ‘गाविस नगरपालिकामा परिणत भयो तर नाम फेरिएबाहेक अरू केही सुविधा छैन ।’
तेल्घाकै रामबहादुर कुमाल पनि वर्षौंदेखि लालपुर्जा पाउन नसकेको गुनासो गर्छन् । यहाँ सात घर कुमाल बस्ती छ । कसैको पनि लालपुर्जा छैन । वर्षौंदेखि गरेर खाँदै आएको जग्गाको लालपुर्जाका लागि धेरै मिहिनेत र प्रयास गरे पनि अहिलेसम्म पाउन नसकेको रामबहादुरले बताए । ‘वर्षौंदेखि ८ नम्बरी जग्गामा बसेका छौं,’ उनले भने, ‘हामीलाई लालपूर्जा दिन्छौं भन्ने सबै पार्टी आए तर कसैले दिएनन् ।’ तरकारी खेती गरेर नमुना किसान बनेका रामबहादुर अझै पनि लालपुर्जाको आसमै छन् । स्थानीय तहको निर्वाचनअघि पनि धेरै आश्वासन पाए ।
एमाले, कांग्रेस, माओवादी केन्द्रका नेता–कार्यकर्ता भोट माग्न गाउँमा आएका थिए । समस्या समाधान गर्छौं भन्ने विश्वास लागेर टोलका सबैले सल्लाह गरेर गत स्थानीय तह निर्वाचनमा एउटै पार्टीलाई भोट दिए । तर, जसबाट आशा गरेका थिए, त्यही पार्टीले पनि उनीहरूलाई दिएका आश्वासन पूरा गर्न सकेन । ‘हाम्रा समस्या समाधान गर्छौं भन्ने धेरैमध्ये एउटाले गर्ला भनेर भोट दिइयो,’ स्थानीय होमकुमारी कुमालले भनिन्, ‘तर, आश्वासन पूरा भएन ।’ घरअगाडि जग्गा बाँझै छ । नगरपालिकाले दिएको बीउ बिजन पनि नउम्रिएको उनको गुनासो थियो । ठूला काम केही नगरे पनि तरकारीका बीउ बिजन दिएको उनले सुनाइन् ।
त्यसबाहेक अहिलेसम्म केही सहयोग नपाएको उनको गुनासो छ । ‘लालपुर्जा दिलाउँछौं भन्ने पनि आश्वासन मात्रै भयो,’ उनले भनिन्, ‘अहिलेसम्म नेताले बोलेका कुरा केही पनि पूरा भएका छैनन् ।’ उनी मात्र होइन, छिमेकी देवी कुमाललाई निर्वाचनको कुरा गर्दा रिस उठेर आउँछ । भोट हाल्ने अधिकार हो भन्ने बुझेकी उनलाई अब नेताहरू कुन मुखले भोट माग्न आउँछन् भन्छिन् । तर, उनी आफैंलाई थाहा छ कि लाज पचाएर फेरि आउनेछन् । ‘हामीलाई पहिला भोट माग्दा दिएका आश्वासन केही पनि पूरा भएको छैन,’ उनले भनिन्, ‘अहिले पनि फेरि लाज पचाएर आउनेछन् ।’ विपन्न, पिछडिएको समुदायका लागि कुनै र कोही नेताले केही नगर्ने उनले बताइन् ।
युवाहरू विदेशिन नपरोस् भन्ने उनको चाहना छ । मोटर जडान गरेर कृषि गर्छिन् । तर, उनलाई कृषि मिटर पनि जडान गरिदिने कोही भएन । जति बिल आउँछ, त्यति नै तिर्ने गरेको उनले बताइन् । ‘हामीलाई केही सुविधा छैन,’ उनले भनिन्, ‘सुविधा पाउने भनेको टाठाबाठाले मात्रै हो भन्ने हामीलाई राम्रोसँग थाहा छ ।’ तेल्घाकै कतिपय बस्तीमा मोटरबाटो पुगेको छैन । तरकारी खेती गर्नेले अनुदान पाएका छैनन् । भैंसीपालन गर्नेले केही सुविधा पाएका छैनन् ।
‘सञ्चारमाध्यममा भैंसी, तरकारी, के के अनुदान दिएको सुनिन्छ,’ स्थानीय युवा विक्रम कुमालले भने, ‘तर, हाम्रा गाउँघरतिर त्यस्ता अनुदान आएको थाहा छैन ।’ चुनावका बेलामा कागजमा काम गर्ने र त्यसपछि कोही केही सोध्न नआउने गरेको उनले बताए । युवा विदेश जान बाध्य छन् । यहाँ बसेर काम केही छैन । जुनसुकै पार्टीले यो गर्छु, त्यो गर्छु भन्दै आए पनि उनीहरूले चुनावपछि भने कुनै सहयोग नगर्ने उनको गुनासो छ । ‘युवाहरूलाई यहीं स्वरोजगार हुने उपाय के छ ?’ उनले भने, ‘त्यसका लागि राजनीतिक दलहरूले केही योजना ल्याएका छैनन् । ल्याए पनि सबै कागजका खोस्टामा मात्रै छ ।’ विपन्न र पिछडिएको समुदाय सधैं मतदाता मात्रै हुने अवस्था रहेको उनीहरूको गुनासो छ ।
