२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

सिन्धुपाल्चोकमा आचारसंहिता उल्लंघन, माओवादीले गठन गर्‍यो ‘भी-फोर्स’

अनिश तिवारी

सिन्धुपाल्चोक — वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा मुख्य प्रतिस्पर्धामा उत्रिएका दल नपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आचारसंहिताविपरीत चुनावी प्रचार गरेका छन् ।

सिन्धुपाल्चोकमा आचारसंहिता उल्लंघन, माओवादीले गठन गर्‍यो ‘भी-फोर्स’

ती दलले निर्वाचन आचरसंहिता र कानुनले तोकेभन्दा बढी संख्या र ठूलो आकारको झन्डा, ब्यानर, ब्याच, ध्वजापताकालगायत सामग्री प्रयोग गरिरहेका हुन् । उम्मेदवारी दर्ताको बेला उत्सव झैं बाजागाजा गर्दै शक्ति प्रर्दशन गरेका दलले आचारसंहिता उल्लंघन गरिरहेका छन् ।

निर्वाचन आचारसंहिता, २०७८ ले उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३ फिट लम्बाइ र ३ फिट चौडाइ भएको दलको झन्डा र चुनाव चिह्न राख्न पाइने गरी मात्र अनुमति दिएको छ । जिल्ला निर्वाचन कार्यालयकाअनुसार आचारसंहिताले ‘गर्न पाइने’ भनेका बाहेकका सबै काम ‘गर्न नपाइने’मा पर्छन् । सवारी, मोटरसाइकलसहितको र्‍याली, दलको झन्डा वा उम्मेदवारको चिह्नको तोरण, ध्वजापताका बनाई प्रदर्शन गर्न/ गराउन नहुने आचारसंहितामा उल्लेख छ ।

आचारसंहितामा निर्वाचन चिह्न अंकित क्याप, ज्याकेट, कमिट, मास्क, लकेट, झोला र कुनै पनि पहिरन प्रयोग गर्न नहुने भनेको भए पनि त्यसको पालना भएको देखि‌ँदैन । जिल्लाको तीन नगर र नौ गाउँपालिकाको मुख्य गाउँ/बजार कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नो दललाई बढावा दिने गीत चर्को स्वरमा बजाउँदै घुमिरहेका छन् । अन्य दल भने अघिल्लो निर्वाचनमा झैं यस्तो भड्किलो प्रकारको चुनावी प्रचारमा खासै देखिएका छैनन् । जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढी नगरको चौतारा, बाह्रबिसे नगरको बाह्रबिसे र मेलम्ची नगरको मेलम्ची बजारमा चार दलको झन्डा र तोरणले सजाइएको छ । अन्य नौ गाउँपालिकाका पनि दुरुस्तै अवस्था छ ।

जिल्लाभरका स्वतन्त्रसहित दलका उम्मेवार आफ्नो टिम नै जिताउन अनेक एजेण्डा र घोषणापत्र बोकेर गाउँभरको मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन् । वैशाख ३० हुने निर्वाचनको लागि स्वतन्त्रसहित विभिन्न दलका गरी दुई हजार एकसय १४ उम्मेदवारले भव्य रौनका साथ मनोनयन दर्ता गरेका थिए । अधिकांश बागीले फिर्ता गरे पनि स्वतन्त्र उम्मेदवारी दर्ता कायम राखेका छन् । जसमध्ये बलेफी गाउँपालिका अध्यक्षमा सबैभन्दा बढी १४ जनाको उम्मेदवारी परेको छ, जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा पाँच/पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

माओवादी केन्द्रद्वारा ‘भी-फोर्स’ गठन
नेकपा (माओवादी केन्द्र)ले निर्वाचन मतदाता रक्षाका लागि ‘भी-फोर्स’ गठन गरेको छ । यसअघि नै जिल्लाभरको तीन नगर र नौ गाउँपालिकामा युवा जमातलाई भेला गरी माओवादी केन्द्रले सिन्धुपाल्चोकले मतदाता रक्षा दल (भी-फोर्स) तयार पारेको छ । माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीका अनुसार जिल्लाभर ‘एक बुथ-२५ युथ’ अवधारणाका साथ प्रत्येक वडादेखि पालिकामा मतदाता रक्षा दल (भी-फोर्स) गठन गरिएको हो । जिल्लाभर झन्डै चार हजारभन्दा बढीको संख्यामा रहेको फोर्सले वडादेखि गाउँपालिका, नगरभर परिचालन भएर मतदाताको सुरक्षा गर्ने, मतदातालाई सहजीकरण गर्ने स्वयंसेवकको काम गर्ने उनले उल्लेख गरे । ‘यो नित्तान्त जिल्लाकै मौलिक ‘पोलिसी’ हो, माथिल्लो तहबाट आएको निर्देशन या निर्णय होइन, युवा जमात वाईसीएल संगठनलाई सक्रिय बनाउन यो फोर्स बनाइएको हो,’ उनले भने । तर, निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशनमा २९ बुँदामा मतदानको दिन मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै व्यक्ति मतदान केन्द्रमा प्रवेश नै गर्न नहुने उल्लेख छ ।

मतदान केन्द्र वरिपरि दलले यस्ता गतिविधि गर्न निषेध हुँदाहुँदै माओवादी केन्द्रले दस्ता नै खडा गरेको छ । केही समयअघि बलेफी गापाभित्र मतदाताको सुरक्षाका लागि नेकपा माओवादी केन्द्र बलेफी गाउँपालिका परिचालन कमान्डले ‘भी-फोर्स’ मतदाता रक्षा दल गठन गरेको थियो । कार्यक्रमको नेकपा माओवादी केन्द्रीय सदस्य माधव सापकोटाले उद्घाटन र सम्बोधन गरे । ‘हामी कसैप्रति जाइलाग्दैनौं, आए बाँकी नराखिने’जस्ता अभिव्यक्ति दिएका थिए ।

यसबारे जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास रिजालले दल गठन गरिएको भन्नेबारे दलले आफ्नो कपडामा चिह्न र अन्य केही सामग्री नराखिएको भन्नेबारे सुनेको बताए । ‘यो कुरा पहिले पनि आएको हो, यो आचारसंहितासम्मत देखिँदैन, यसबारे रायसल्लाह लिन मुख्य निर्वाचन कार्यालयसँग छलफल गर्दैछौं ,’ उनले भने ।

प्रकाशित : वैशाख १८, २०७९ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?