विराटनगरका एमाले उपमेयर उम्मेदवार कार्की र निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

वैशाख २१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — विराटनगर महानागरपालिकमा एमालेकी उपमेयर उम्मेदवार शिल्पा कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । कोसी अञ्चल अस्पताल विकास समितिको सदस्यबाट राजीनामा नगरी उम्मेदवार बनेको, उम्मेदवारी दर्ताका क्रममा किर्ते कागज पेस गरेको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै रिट दायर भएको हो । 

गठबन्धनबाट विराटनगर महानगरपालिकामा जसपाका उपमेयर उम्मेदवार अमरेन्द्र यादवले एमाले उम्मेदवार कार्कीसँगै निर्वाचन आयोगलाई पनि विपक्षी बनाएका छन् । 

प्रष्ट आधारसहित उजुरी दिँदा पनि उम्मेदवारी खारेज नगरेको भन्दै यादवले निर्वाचन आयोगलाई विपक्षी बनाएका हुन् ।  कार्कीको राजीनामा पत्र किर्ते हो भन्ने जान्दाजान्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर हुने गरी उजुरी खारेज गरेकाले आयोगलाई विपक्षी बनाएको यादवले बताए । 

'निर्वाचन ऐनअनुसार लाभको पदमा बहालवाला व्यक्ति राजीनामा नगरी उम्मेदवार हुन नपाउने व्यवस्था छ तर आयोगले आफ्नो कानुनी व्यवस्था नै पालना गरेन,' उनले भने । 

यादवको रिटमा बिहीबार सुनुवाइका लागि पेसी तोकिएको छ । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully