दलीय उम्मेदवारलाई स्वतन्त्रको चुनौती

वैशाख २१, २०७९

मणि दाहाल

काठमाडौँ — आसन्न स्थानीय तह चुनावको दिन नजिकिँदै जाँदा काठमाडौं महानगरपालिको चुनावी रौनक पनि बढ्दो छ । एमाले र कांग्रेसका 'हेभिवेट' उम्मेदवारविरुद्ध यहाँ स्वतन्त्रले पनि चुनावी प्रचारमा टक्कर दिइरहेका छन् ।

यसअघि काठमाडौं महानगरपालिका जितेको एमालेको चुनावी अभियान जमलस्थित यलो प्यागोडा होटलबाट सञ्चालन भइरहेको छ भने  सत्ता गठबन्धनको अभियान बागबजारस्थित हार्दिक होटलबाट भइरहेको छ । सोमबारबाट मात्रै एमाले निर्वाचन परिचालन समितिको रहेको काठमाडौैं महानगरपालिकाको चुनावी कमाण्डमा सोमबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुरु गरेका छन् । 

यसअघि निर्वाचन परिचालनको जिम्मेवारी महानगरपालिका कमिटी अध्यक्ष निर्मल देउलाले नै सम्हाल्दै आएका थिए । चुनाव हुने दिन नजिकिँदै जाँदा अध्यक्ष केपी ओलीपछि एमालेको दोस्रो वरीयताका नेता वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्व गर्न आइपुगेका हुन् । 

यसअघि उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटीका सदस्य राजन भट्टराईसहित काठमाडौंका सबै केन्द्रीय सदस्य र देउला रहेको परिचालन समिति रहेको छ । एमाले अध्यक्ष ओली आफैं परिचालन समितिको कार्यालय पुगेर जानकारी लिएका थिए ।  

कांग्रेस पनि महानगरपालिका समिति सभापति नीलकाजी शाक्यको नेतृत्वमा चुनावी परिचालन कमिटी गठन गरेको छ । सभापति शाक्यमात्रै होइन कांग्रेस महामन्त्री गगन थापा पनि महानगरमा सक्रिय छन् । त्यसैगरी कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह अभियान सञ्चालनको काम गरिहेका छन् । प्रकाशमानपत्नी सिर्जना मेयरको प्रत्याशी रहेकी छिन् । सिंहसँगै उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार रहेका छन् । 

धेरै जनसंख्या र ठूलो बजेटमात्रै होइन राजधानी काठमाडौं महानगरपालिकामा हुने जितले दिने राजनीतिक सन्देश त्यो पनि ठूलो छ । त्यसैले यहाँको नेतृत्व हत्याउन दल र स्वतन्त्र उम्मेदवारहरुको निकै ठूलो जोडबल  देखिन्छ । राजधानी काठमाडौं महानगरपालिकाभित्र बाँकी ७ सय ५२ स्थानीय तहका मानिसको बसोबास छ । सन् २०११ को तथ्यांकमा आधारित रहेर प्रकाशित मानव विकास सूचकांक प्रतिवेदन-२०१४ अनुसार कुल ग्राहस्थ उत्पादनमा काठमाडौं उपत्यकाको योगदान १८ प्रतिशत छ।

राज्यको पदीय मर्यादाक्रमअनुसार काठमाडौं महानगरपालिका प्रमुख १० औं नम्बरमा पर्छ । अरु महानगरपालिकाका मेयरहरूको मर्यादाक्रम भने ११ औं नम्बरमा रहेको छ । मर्यादाक्रममा माथि, मुलुकको सम्पन्न महानगर मुलुकको संघीय राजधानीसमेत रहेकाले राजनीतिक दलहरूका लागि प्रतिष्ठाको विषय बनेको छ । दुवै दल आफ्नो पक्षमा पार्न जोड दिइरहेका छन् । 

एमालेले २०५४ सालका निर्वाचित पूर्व मेयर केशव स्थापितलाई यसपटक फेरि  उम्मेदवार बनाएको छ । विगतमा उनले काठमाडौंमा राम्रै काम गरेको चर्चा हुने गरेको थियो । तर महानरगरमा प्रस्ट बहुमत हुँदाहुँदै पनि काम गर्न नसकेको आरोप  गत चुनाव जितेका एमालेका मेयर विद्यासुन्दर शाक्यमाथि छ । शाक्य कुप्रचारको शिकार भएको एमालेले स्पष्टीकरण एमाले दिँदै आएको छ । स्थापितसँग उपमेयरमा युवा सुनिता डंगोल उम्मेदवार रहेकी छिन् ।  

२०७४ सालमा भएको स्थानीय तह चुनावमा एमालेका शाक्यले कांग्रेसका राजुराज जोशीलाई १९ हजार ४ मतले हराएका थिए । त्यस समयमा एमालेले राप्रपासँग चुनावी गठबन्धन गरेको थियो । अहिले राप्रपाले पुराना वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई मेयरमा उम्मेदवार बनाएको छ । अर्कोतर्फ स्वतन्त्र रूपमा उम्मेदवारी दिएका र्‍यापर बालेन शाह र सुशील थापा पनि चर्चामा रहेका छन् । युवा उम्मेदवार शाहले यसपटकको चुनावमा राम्रो प्रदर्शन गर्ने अपेक्षा पर्यवेक्षकहरुले गरेका छन् । अनौपचारिक कुराकानीहरूमा राप्रपाका नेताहरु पछिल्लो समयमा पार्टीको पक्षमा देखिएको लहरले आफ्नो उम्मेदवारले प्रतिस्पर्धात्मक मत ल्याउने बताउँछन् । 

त्यसैगरी साझा विवेकशील पार्टीले समीक्षा बाँस्कोटालाई उम्मेदवार बनाएको छ । वैकल्पिक शक्तिभित्र देखिएको भाँडभैलोको अवस्थाको कारण गत स्थानीय तह चुनावमा जस्तो महानगरभित्र पूर्ववत् रौनक देखिँदैन ।

तेस्रो नम्बरमा त्यतिबेला चर्चामा रहेकी विवेकशील नेपाली दलकी रन्जु न्यौपाने(दर्शना)ले २३ हजार ४ सय ३९ मत ल्याएकी थिइन् । चौथो नम्बरमा स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका पूर्वप्रशासक किशोर थापाले १८ हजार ४ सय ९६ मत ल्याएका थिए । 

यसपटको चुनावमा मुख्य प्रतिस्पर्धामा एमाले र कांग्रेसबीच हुने देखिन्छ । दुवै दलले संगठनात्मक शक्ति नै जितको प्रमुख आधार भएको बताउँदै आएका छन् । 

कांग्रेसका महानगरपालिका समिति सचिव सुशन वैद्य भर्खरै महाधिवेशन सकिएको अवस्था भएकाले काग्रेसको संगठन चुस्तदुरुस्त गरेको कारण चुनाव जित्न सहज भएको बताउँछन् । ‘कांग्रेस अहिले फर्ममा छ । भर्खरै अधिवेशन सकिएकाले कार्यकर्ताहरु तात्तिएर बसेका छन् । महाधिवेशनको समयमा जुन रुपमा संगठन विस्तार गर्‍यौं त्यसले पनि हामीलाई बलियो अवस्थामा पुर्‍याएको छ,’ सचिव वैद्यले भने, ‘यसअघिको चुनावमा यहाँ समिति नै थिए । हामीले कमान्डरबिनै चुनाव लडेका थियौं ।’ 

काठमाडौं महानगरपालिका बनेपछि भएका दुवै स्थानीय चुनाव एमालेले ठूलै अन्तरले जितेको छ । बहुदलीय व्यवस्था पुन:स्थापनापछिको पहिलो चुनावमा कांग्रेसका पीएल सिंह मेयरमा निर्वाचित भएका थिए । 

सचिव वैद्यले चुनाव जित्ने अर्को कारण हेभीवेट उम्मेदवार र एन्टी-इनकम्बेन्सी समेत भएको दाबी गरे । ‘चुनाव जिताए पनि एमालेले खासै काम गर्न नै सकेन । जसले एमालेलाई रक्षात्मक अवस्थामा पुर्‍याएको छ । अब जनताले विकल्प खोज्ने चाहेका छन्’ वैद्यले भने, ‘हाम्रो उम्मेदवारले जहाँ-जहाँ जिम्मेवारी पाउनु भएको छ त्यहाँ कुशलतापूर्वक काम गर्नु भएको छ । उहाँ हेभीवेट उम्मेदवार हो ।’ 

एमाले नगर कमिटीका अध्यक्ष निर्मल देउला भने 'एन्टी इनकम्बेन्सी'को विषयलाई अस्वीकार गर्छन् । एमालेले संगठन र अहिले महानगरपालिकामा गरेको कामको बलमा चुनाव जित्ने अवस्थामा रहेको  उनी बताउँछन् ।  ‘महानगरपालिकाभित्र हामी पहिलेदेखि नै सशक्त अवस्थामा थियौं र अहिले पनि छौं । यसपटक पनि समर्थनमा कुनै कमी आएको छैन,’ देउलाले भने, ‘कतिले पार्टी विभाजन वा गठबन्धन कुरा गर्नु भएको छ । पार्टीमा नयाँ नयाँ मानिस जोडिनु भएको छ । एमालेले जितको ह्याट्रिक गर्छ । कसैसँग गठबन्धन नहुँदा पनि सँगै जित्ने सक्ने संगठन हो । हामीले गरेको काम पनि जनताले देख्नु नै भएको छ ।’ उनले हालका मेयर शाक्यले काम गर्ने नसकेको विषय मिडियामा गरिएको प्रचारबाजी मात्रै भएको बताए । 

एमाले र कांग्रेस दुवै दलका नेताहरु एक अर्कोसँग प्रतिस्पर्धा हुने बताउँछन् । कांग्रेसका सचिव वैद्यको मेयरमा ८० हजार भन्दा बढी मत सिंहलाई आउने बताए । ‘कांग्रेस अहिले झनै शक्तिशाली भएको छ । माओवादीको पनि केही भोट बढेको छ । एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादीबाट आधा मत मात्रै आयो भने पनि हामीले सहज रूपमा जित्छौ’ वैद्यले भने, ‘यसअघिका केही वडा हामीले थोरै मतको अन्तरले हारेका थियौं । यसपटक बहुमत वडासहित सेट नै जित्छौं ।’ 

२०७४ को निर्वाचनमा अहिले सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम दास डंगोलले ७ हजार ९०६ मत पाएका थिए । तत्कालीन नयाँ शक्ति पार्टीका उम्मेदवार पवित्र बज्राचार्यले भने ६ हजार ५० मत पाएका थिए । नयाँ शक्ति पार्टी यसबीचमा जनता समाजवादी पार्टीमा एकीकृत भइसकेको छ ।

वैद्यले शाहसहितका व्यक्तिहरुको उम्मेदवारी कांग्रेसको वैचारिक जित भएको बताए । ‘सबैले उम्मेदवार बन्न पाउनु पर्छ भन्दै कांग्रेसको राजनीतिक गर्दै आएको हो । शाहको उम्मेदवारी र उहाँले प्राप्त गर्न मत पनि कांग्रेसको जित हो’ वैद्यले भने ।  

गत चुनावमा एमालेले मेयर विद्यासुन्दर शाक्यसहित १८ वडाध्यक्ष जितेर महागरपालिकामा स्पष्ट बहुमत प्राप्त गरेको थियो । त्यसैगरी उपमेयर हरिप्रभा खड्गीसहित १४ वडा कांग्रेसले जित हासिल गरेको थियो । गत भदौमा एमाले विभाजित हुँदा २ जना वडा-७ का वडाध्यक्ष शुद्धकुमार डंगोल र वडा-१५ का ईश्वरमान डंगोल नेकपा एकीकृत समाजवादीतर्फ लागेका थिए । 

स्थानीय चुनावको केही दिनअघि वडा-२४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ र एमालेले उम्मेदवार नबनाएपछि वडा-३ का अध्यक्ष दीपक केसी नेकपा एसतर्फ लागेका छन् । अहिले उनी उम्मेदवार रहेका छन् । 

देउला पनि कांग्रेसको प्रमुख प्रतिस्पर्धी रहेको बताउँछन् । ‘हामीले पहिलेभन्दा बढी मत ल्याउने छौैँ,’ देउलाले भने । एमाले शाक्यले करिब ६५ हजार मतका साथ काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । तर यसपटक महानगरका मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका शाहले ९० हजार ८ सय ३५ मत ल्याउने दाबी गरिरहेका छन् ।  

कांग्रेसले महानगपालिकामा ठूलो पदमा महिला उम्मेदवार बनाएको विषयलाई पनि अघि बढाउन खोजेको छ । ‘कांग्रेसले महिलालाई भूमिका दिएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा हिजो कसैले महिलालाई दिएका  थिए । न त भोलि नै दिनेछन् ?,’ वैद्यले भने, ‘काठमाडौका लागि प्रधानमन्त्रीपछिको दोस्रो ठूलो पद हो । यो सेरेमोनियल पद होइन । यसमा आरक्षणबाट पुग्न सकिँदैन । यसका लागि आफ्नो क्षमताले पुग्ने ठाउँ हो ।’

अर्कोतर्फ एमालेका मेयर उम्मेदवार स्थापितले विगतदेखि लाग्दै आएको यौन दुर्व्यवहारको आरोप र त्यसमाथि उम्मेदवारको आक्रोशपूर्ण अभिव्यक्तिले पनि प्रतिस्पर्धालाई प्रभावित पार्ने देखिन्छ ।    

विवेकशील साझा पार्टीले दुवै नेता सबैभन्दा सक्षम रहेकाले चुनाव जितिने दाबी गरिरहेको छ । ‘सुरुमा दुवै चर्चा भएको थिएन तर पछिल्लो समयमा अवस्था त्यस्तो छैन । राम्रो भएको छ । हामीले दुवै समक्ष महिलालाई उम्मेदवारी दिएका छौं’ सो पार्टीका प्रवक्ता शरदराज पाठकले भने, ‘हामी चुनाव जित्छौँ भन्ने विश्वास हो । हाम्रो उम्मेदवारहरुको स्वीकार्यता पनि बढ्दै गएको छ ।’ 

यस निर्वाचनमा गत चुनावमा रन्जु दर्शना र किशोर थापालेले पाएको मत पनि निर्णायक हुने आकलन छ । त्यतिबेला एमाले र कांग्रेसका उम्मेदवार शाक्य र जोशीबीच १९ हजार ४४ मतको अन्तर थियो । दुवैको मत जोड्दा ४१ हजार ९३५ हुन आउँछ ।

यसपटक काठमाडौं महानगरपालिकामा २०७४ सालको भन्दा करिब २१ हजार मतदाता बढेका छन् । आगामी स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरमा ३ लाख २४२ मतदाता छन् ।

स्थानीय तह निर्वाचन २०७९

मणि दाहाल विगत डेढ दशकदेखि पत्रकारितामा क्रियासिल छन् । उनी हाल इकान्तिपुरसँग आवद्ध रहेका छन्।

Link copied successfully