बाजुरा मुख्य निर्वाचन अधिकृतकै कार्यालय अगाडि आचारसंहिताको धज्जी 

वैशाख २०, २०७९

अर्जुन शाह

बाजुरा — बाजुरा सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकनजिकै जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय छ । जिल्ला प्रशासन कार्यालय पनि केही मिटर मात्रै पर छ ।

त्यही लोकतान्त्रिक चोकलाई पार्टीका झण्डाहरुले रंगीचंगी बनाइएको छ । राजनीतिक दलहरुले सार्वजनिक स्थलमा दलका झण्डा फहराएर निर्वाचन आचारसंहिताविपरीतको कार्यलाई निर्वाचन आचारसंहिता अनुगमन समितिका पदाधिकारीहरुले समेत नदेखेझैं गरिरहेका छन् । 

दल तथा उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसारका क्रममा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नपाइने प्रावधान छ । तर उम्मेदवार तथा दलहरूले गरेको बलमिच्याइँलाई अनुगमनकर्ताले पनि बेवास्ता गरिरहेका छन् । 

नेकपा एमाले र नेपाली कांग्रेसले आफ्नो दल तथा चुनाव चिन्ह अंकित झण्डाहरू लोकतान्त्रिक चोकमा रहेका घर र विद्युत्का पोलहरूमा डोरीमा बाँधेर फहराएका हुन् । त्यही चोक भएर गाउँतिर दौडधुप गरिरहेका उम्मेदवार र तिनका समर्थकहरुका गाडीहरुमा पनि झण्डाहरु फहराएर नाराबाजी गर्दै कुदिरहेका देखिन्छन् । अनुगमन समितिले आचारसंहिता उलंघनकर्तालाई एक लाखसम्म जरिवानासमेत गर्नसक्ने नियम छ ।

त्यस्तै बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान आठ बजेदेखि साँझ सात बजेसम्म मात्र गर्न पाइने नियम बनाइएको भए पनि सदरमुकाममै राति अबेरसम्म नारा लगाउँदै नेता कार्यकर्ता गाडीमा ओहोरदोहोर गरिरहेका देखिन्छन् । 

बाजुराका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश माधवप्रसाद घिमिरे निर्वाचन आचारसंहिताको पालनामा दलहरु प्रतिबद्ध हुनुपर्ने बताउँछन् । ‘सार्वजनिक स्थानमा त्यसरी झण्डा लगाउन पाइँदैन,’ उनले भने, ‘हामी दलका प्रतिनिधिहरुसँग त्यस विषयमा छलफल गर्छौं ।’

प्रचारप्रसारका क्रममा सार्वजनिक स्थानमा श्रव्य समग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने प्रावधानको पनि उल्लंघन भइरहेको छ । घरदैलो, भेलाहरूमा ठूल्ठूलो आवाजमा श्रव्य सामग्री बजिरहेका देखिन्छन् ।

निर्वाचन आचारसंहितामा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र बोर्ड राख्न तथा श्रव्य समग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था छ । 

स्थानीय तह निर्वाचन २०७९

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully