वडा सदस्यका उम्मेदवारमाथि कुटपिट

वैशाख २०, २०७९

तृप्ति शाही

बैतडी — बैतडीमा वडा सदस्यका उम्मेदवारमाथि कुटपिट भएको छ । माओवादी केन्द्रकातर्फबाट जिल्लाको डिलाशैनी गाउँपालिका–५ मा वडा सदस्यका उम्मेदवार बनेका हरिराम साउदमाथि सोमबार राति साढे १० बजेतिर कुटपिट भएको हो ।

उनीमाथि अजीब साउदलगायतको टोलीले कुटपिट गरेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । उनीहरुको खोजीको लागि प्रहरी घटनास्थल पुगेको छ । उनका अनुसार घटनाबारे थप जानकारी आउन बाँकी छ । 

घाइते साउदको टाउकोमा गहिरो चोट लागेको छ । उनको हात र मुखमा पनि चोट लागेको छ । खुकुरी प्रहारबाट घाइते भएका उनलाई गोकुलेश्वर अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।

स्थानीय तह निर्वाचन २०७९

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully