प्यूठान — केही दिनयता पानी पर्न थालेपछि गाउँमा किसानलाई मकै छर्न भ्याइनभ्याइ छ । गहुँ भित्र्याएर मल फाल्ने, मकै लगाउने काममा अहिले किसान व्यस्त बनेका छन् । मानो छरेर मुरी उब्जाउने यो बेला किसानलाई कामकै चटारो छ । गाउँमा जति कामको चटारो छ, दलहरूलाई भने चुनावको चटारो पिरोलेको छ । स्थानीय निर्वाचनका लागि दलहरू गाउँगाउमा चुनावी अभियान गर्दै हिँडेका छन् ।
किसानलाई भने दलको घरदैलो र चुनावी अभियानले त्यति छुन सकेको छैन । ‘दलका नेताहरू मतदातालाई फकाउन काम गरिरहेको खेतबारीमै पुगेर सघाएझैं पनि गरिरहेका छन्,’ प्यूठान नगरपालिका–१० मरन्ठाना कोटका धनबहादुर विश्वकर्माले भने, ‘पानी परेकाले मल पुर्ने र मकै छर्ने कामबाट किसानलाई फुर्सदै छैन ।’ पानी कुरेर बसेका जनतालाई चुनावको भन्दा मकै छर्ने पिर रहेको उनले सुनाए । जनताका समस्या समाधानमा जनप्रतिनिधिले वास्ता नगर्दा दुःख नगरी केही हुँदैन भन्ने लागेर जनता चुनावमा भन्दा काममा व्यस्त भएको उनले सुनाए ।
निर्वाचन नजिकिएसँगै दलहरू घरदैलो र आमसभा गर्दै हिडिरहे पनि सर्वसाधारणलाई चुनावले छुन नसकेको मल्लरानी गाउँपालिका–३ बर्बोटका गुरुप्रसाद पौडेलले बताए । चुनावमा भोट हाल्न गए पनि अहिले प्रचारमा हिँड्ने फुर्सद नभएको उनले सुनाए । अहिले मकै नछरे बारी सुक्ने चिन्ता उनलाई छ ।
‘लामो समयपछि पानी परेको छ । यसैको मौका छोपेर मकै छर्ने हो,’ उनले भने, ‘मतदान गर्ने अघिल्लो दिनसम्म काम सक्ने गरी लागेको छु ।’ निर्वाचनको अघिल्लो दिनसम्म काम सकेर वैशाख ३० गते मतदान गर्न जाने उनले बताए । गाउँमा सबैलाई अहिले मल फाल्ने, खेतबारी जोत्ने र मकै छर्ने चटारो भएको उनले सुनाए ।
सिँचाइको सुविधा नहुँदा समयमै खेतपाती गर्न नपाएको सम्झदै किसानहरू भोट माग्न आउने नेताहरूसँग यस्तै गुनासा राख्ने बताउँछन् । जनताका समस्या समाधान गर्न जनप्रतिनिधि र दलका नेताहरूले चासो देखाएको भए गाउँमा चुनावको रौनन बढ्ने मल्लरानी गाउँपालिका–३ चौरपानीका स्थानीय बताउँछन् । जुन दल आए पनि समस्या समाधानमा चासो नदेखाएको प्रति स्थानीय रुष्ट छन् । गाउँमा खानेपानीको समस्या छ । स्वास्थ्य उपचारमा पनि सुधार नभएको भन्दै मतदाता भोट माग्न आउने उम्मेदवारलाई जनताका समस्या सुधारमा लाग्न सुझाव दिइरहेका छन् ।
गाउँमा दैनिकजसो विभिन्न दलले चुनावी अभियानका कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । त्यस्ता अभियान र कार्यक्रममा भने सर्वसाधारणको उपस्थिति निकै न्यून छ । दैनिक हुने त्यस्ता कार्यक्रम सुनेर बस्ने फर्सद नभएका कारण सर्वसाधारण नेताका भाषण सुन्न जाँदैनन् । अर्कोतर्फ जनताका लागि हरेक पटक दलले काम नगरी आश्वासन मात्रै बाँड्ने हुँदा मतदातामा निर्वाचनप्रति त्यतिविधि उत्साह पनि छैन ।
