जुम्ला, रुकुम पश्चिम — जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । ‘सम्मुनत नगर र सबल स्थानीय सरकार’ नारासहित कांग्रेस नगर समितिले प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धता पत्रमा नागरिक स्वतन्त्रता र सम्मान, असल शासन र जवाफदेहिता, सहज र प्रभावकारी सेवा प्रवाह, नीतिगत, कानुनी र संस्थागत विकास, स्रोतको उचित व्यवस्थापनलगायत विषय समेटिएका छन् ।
कांग्रेसले ९ बुँदे प्रतिबद्धतापत्रमा बसपार्कको उचित व्यवस्थापन र पार्क निर्माणलाई पनि समावेश गरिएको छ । नगरप्रमुखका उम्मेदवार अधिवक्ता पदमबहादुर शाहीले ५ वर्षभित्र गर्न सकिने योजनालाई प्राथमिकताका आधारमा प्रतिबद्धता पत्रमा समेटिएको बताए । उनले सदरमुकाम खलंगाको बीचमा बग्ने जुगाडखोला र तिला नदीलाई सफा र स्वच्छ राखी प्रदूषणमुक्त नगर बनाई पर्यटनको विकास गर्ने, व्यवस्थित स्याउ कोल्डस्टोर निर्माणका लागि पहल गर्ने, विद्यालयको अवस्था अध्ययन मुल्यांकन गरी गुरुयोजना बनाउने लगायतलाई प्राथमिकता दिइएको बताए ।
‘धौलिगाड बृहत् खानेपानी आयोजना पनि समयमै सम्पन्न गर्ने हाम्रो वाचा छ,’ उनले भने, ‘छुवाछूत प्रथाको पूर्ण अन्त्य गर्दै छाउपडी प्रथा न्यूनीकरण गर्ने र सिर्जनशील सोचको विकास गरी समृद्ध नगर बनाउने हाम्रो प्रयत्न छ ।’ नेपाली कांग्रेसले चन्दननाथ नगर प्रमुखमा शाही र उपप्रमुखमा व्यवसायी रामुदेवी खड्कालाई उम्मेदवार बनाएको छ । यसअघि कांग्रेसकी कान्तिका सेजुवाल नगरप्रमुखमा निर्वाचित भएकी थिइन् ।
नमुना माविमा नमुना मतदान
आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर नमुना मतदान गरिएको छ । रुकुम पश्चिमस्थित जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गराएको हो ।
सोमबार मुसीकोट नगरपालिका–५ स्थित यमुनानन्द नमुना माविमा नमुना मतदान गराइएको हो । मतदानका सम्पूर्ण प्रक्रिया पूरा गरेर मतदान गराइएको थियो । मतदानमा महिला र पुरुष गरी २८ जना सहभागी भए । सहि तरिकाले मतदान होस् भन्ने सन्देश प्रवाहका लागि नमुना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी कुमारीरिमा मल्लले बताइन् । ‘मतदान सहि होस्, कम भन्दा कम मत बदर हुन् र निर्वाचन आइसकेको सन्देश प्रवाहका लागि नमूना मतदान गराइएको हो,’ उनले भनिन्, ‘यसबाट एउटा म्यासेज जाने अपेक्षा छ ।’ उनका अनुसार मतदानमा सहभागी केही मतदानको सम्पूर्ण प्रक्रियामा अलमलिएका थिए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार मतपत्र लिने, मतदान गर्ने, मतपत्र पट्याउनेदेखि बाकसमा खसाउने र बाहिर निस्कनेसम्मको प्रक्रियाका बारमा मतदानमा सहभागीलाई सिकाइएको छ । जिल्लाका ६ स्थानीय तहमा निर्वाचन हुँदै छ । यसका लागि राजनीतिक दलहरू प्रचारप्रसारमा जुटेका छन् भने जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा सम्बन्धित पालिका निर्वाचन अधिकृतको कार्यालय निर्वाचनको तयारीमा लागेका छन् ।
