हरेक निर्वाचनमा महाकालीमा पक्की तटबन्धकै माग
दोधारा चाँदनी, कञ्चनपुर — पूर्वतिर महाकाली, पश्चिममा जोगबुडा नदी । दुई नदीको बीचमा टापुजस्तै दोधारा चाँदनी । केही बस्तीहरू जोगबुडापारि भारतसँगै जोडिएका छन् । महाकालीपारिको यो नगरपालिकाको अवस्था धेरै परिवर्तन भइसकेको छ । बिरामी अस्पताल पुर्याउन भारतीय बाटोको प्रयोग गर्नुपर्ने अवस्था लगभग अन्त भएको छ । दुई दशकअघि झोलुंगे पुल निर्माणपछि पैदल वा दुईपांग्रे सवारीसाधन सोही पुलबाट आउन थालेका हुन् । सडक सञ्जालको विकास पनि भइरहेकै छ ।
दोधारा चाँदनीको अवस्था धेरै फेरिए पनि हरेक निर्वाचनमा यहाँका मतदाताले राख्ने प्रमुख माग भने अझै फेरिएको छैन । हरेक निर्वाचनमा यहाँका मतदाताको उम्मेदवार समक्ष राख्ने एउटै माग हो महाकाली नदीमा पक्की तटबन्ध । दोधारा चाँदनीलाई महाकालीको बाढीबाट जोगाउन उनीहरूले पक्की तटबन्ध निर्माणलाइ प्राथमिकता दिएका हुन् ।
दुई गाविस (दोधारा र चाँदनी) रहेको यो क्षेत्र राज्य पुनसंरचनापछि नगरपालिका बनाइएको हो । दोस्रोपटक भइरहेको स्थानीय तहको निर्वाचनका लागि मत माग्दै उम्मेदवारहरू घरदैलोमा पुगिरहेका छन् । मतदाताले उनीहरूसँग अहिले पनि महाकाली नदीमा पक्की तटबन्धकै माग गरिरहेका छन् । ‘हाम्रो पहिलो समस्या भनेकै बाढी र डुबान हो,’ दोधारा चाँदनी नगरपालिका—२ का धनसिंह साउदले भने, ‘यहाँ बसेदेखि यही महाकालीले सताउन थालेको हो, अहिले पनि ढुक्क भएर सुत्न सकेका छैनौं ।’ कात्तिक पहिलो साता पनि महाकालीमा आएको भीषण बाढीले बयलबन्दको बाँध भत्काउनै लाग्दा साउद निकै चिन्तित भएका थिए । समयमै स्थानीयले ढुंगा जाली भरान गरेर कटान रोक्न सफल भए ।
महाकाली नदीकिनारमा दुई दशकअघि जाइकाले बयलबन्दको बाँध निर्माण गरेपछि यहाँका बासिन्दाले केही राहत पाएका हुन् । त्यसअघि वर्षेनि बाढी पस्ने दोधारा चाँदनी क्षेत्रका बासिन्दा बर्खामा रुखमा चढेर वा मचान बनाएर ज्यान जोगाउँथे । फेरि उक्त बाँध जीर्ण भएपछि ठाउँठाउँमा कटान हुन थालेको छ । ‘अब महाकालीमा पक्की तटबन्ध बनाउन सक्नेलाई नै भोट दिन्छौं,’ दोधारा चाँदनी नगरपालिका—२ का खडकसिंह साउँदले भने, ‘केही वर्ष ढुक्क भएर सुत्न पाएका थियौं, फेररि तटबन्ध पुरानो भएपछि राति निद्रा लाग्न छाडेको छ ।’ उनका अनुसार कात्तिकको बाढीले बयलबन्द भत्काएको भए दोधारा चाँदनीको पूरै बस्ती बगरमा परिणत हुन सक्थ्यो ।
दोधारा चाँदनी नगरपालिका–१० यो क्षेत्रकै सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र हो । महाकाली र जोगबुडा नदीको दोभानमा रहेको क्षेत्रमा सामान्य बाढीले समेत बस्ती डुबानमा पर्दछ । यसपटक पनि बाढीले ५ सय परिवार विस्थापित भएका थिए । जोगबुडा पारीको कुतियाकभर र वारिका प्रधान टोल, सुर्खेती टोललगायतका बस्तीहरू डुबानमा परेका थिए । ‘कि नदीमा तटबन्ध निर्माण गर्नु पर्यो, कि हामीलाई अन्यत्र सार्नुपर्यो,’ प्रधान टोलका खडक बहादुर खड्काले भने, ‘बर्खा लाग्यो कि हामीलाई राति निद्रा लाग्दैन, कतिबेला बगाएर लैजान्छ भन्ने चिन्ता हुन्छ ।’
दोधारा चाँदनी क्षेत्र अन्न र तरकारी उत्पादनका लागि निकै उर्बर मानिन्छ । धान गहुँदेखि बेसार, परवल, तरुललगायत अन्य तरकारी पनि ठूलो मात्रामा उत्पादन हुन्छ । तर यहाँका कृषकले उत्पादन गरेको तरकारी महेन्द्रनगर पुर्याउनुपर्छ, जुन कृषकका लागि ठूलो समस्या हो । नगरपालिकामै कृषि संकलन तथा बिक्री केन्द्र स्थापना भए कृषकलाई निकै सहज हुने स्थानीय बताउँछन् ।
‘हामीले उत्पादन गरेको तरकारी महेन्द्रनगर पुर्याउँदा भाडामै महंगो पर्छ,’ कुतियाकभरका खडक बुढाले भने, ‘गाउँमै संकलन र बिक्री केन्द्र भए सहज हुन्थ्यो, तरकारी मात्रै होइन धान गहुँ बिक्रीमा पनि निकै समस्या छ ।’ उनका अनुसार धान गहुँ बिक्री गर्दा सरकारले तोकेको मूल्य कहिल्यै पाइँदैन । व्यवसायीहरूले आफै मूल्य तोकेर दिने गरेका छन् ।
‘सिँचाइको पनि ठूलो समस्या छ,’ दोधारा चाँदनी नगरपालिका —१० रावत टोलका धनबहादुर बुढाले भने, ‘अहिले पनि दोधारा चाँदनीका सबै क्षेत्रमा विद्युत् सेवा पुगेको छैन, बाटो घाटोको समस्या छ ।’ गाउँका यस्तै समस्या समाधान गर्ने उम्मेदवारलाई नै मत दिने उनले बताए । दोधारा चाँदनी क्षेत्रको अर्को ठूलो समस्या छाडा चौपाया व्यवस्थापन बनेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार र मतदाताले यसलाई प्रमुख मुद्दा बनाएका थिए । नगरपालिकाले छाडा चौपाया व्यवस्थापनमा ठूलो रकम पनि खर्चे । तर अहिले पनि मतदाताले छाडा चौपायाबाट खेतीपाती जोगाउन रातभरि जाग्राम बस्नुपरेको छ ।
‘छाडा चौपाया व्यवस्थापन प्रतिबद्धता मात्रै भयो काम भएन,’ दोधारा चाँदनी नगरपालिका—२ का साउँदले भने, ‘यसपटक त कसम खाने उम्मेदवारलाई मात्रै भोट दिन्छौँ ।’ दोधारा चादँनीमा मात्रै होइन जिल्लाका सबै पालिकामा छाडा चौपायाका समस्या छ । अधिकांश मतदाताले यही मुद्दालाई प्रमुखताका साथ उम्मेदवार समक्ष उठाएका छन् ।
जोगबुडापारि रहेको बडुवाल टोल, कञ्चनभोज, सुन्दरनगर र कुतियाकवरका बस्तीमा सीमाको समस्यादेखि भारतीय सुरक्षाकर्मीले दुख दिने खालका गतिविधिहरू पनि भइरहेका हुन्छन् । यो क्षेत्रका घरआँगन भारतसँगै जोडिएका छन् । भारतीय सुरक्षाकर्मीबाट पाइने दुःख तथा बेला बेलामा हुने विवादका समस्या समाधानमा पनि जनप्रतिनिधिले ध्यान दिनुपर्ने स्थानीय बताउँछन् ।
