भैरहवा — रूपन्देहीको सिद्धार्थनगर नगरपालिका प्रमुखका लागि एमालेबाट उम्मेदवारी दिएका डा.रामप्रसाद बस्याल सोमबार बिहान कार्यक्रमस्थलमा बसिरहेका थिए । उनले कार्यक्रमको सुरुवात पर्खिरहेका बेला सोही पदमा कांग्रेसबाट उम्मेदवारी दिएका इस्तियाक अहमद खान आइपुगे ।
दुवै जनाले हात मिलाए । अंकमाल गरे । उनीहरूबीच भलाकुसारी चलिरहेका बेला राप्रपाबाट नगर प्रमुखका उम्मेदवार बनेका सागरप्रताप राणा पनि कार्यक्रमस्थलमा आइपुगे । तीनै जनाले एकअर्काप्रति मित्रभाव प्रदर्शन गरे । हाँसीखुसी कुराकानी र संवाद गरिरहे ।
सिद्धार्थनगर नगर प्रमुखका प्रत्यासीहरूसँगको साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रमको दृश्य हो यो । कार्यक्रममा तीन जना उम्मेदवार मात्रै होइन, नगर प्रमुख पदका सबै प्रत्यासीको उपस्थिति थियो । सबैले एकअर्काको सम्मान र आदर गर्दै मित्रताको सहिष्णुता र नमुना देखाएका हुन् । एउटै पदमा विभिन्न राजनीतिक दलबाट प्रत्यासी बनेर प्रतिस्पर्धा गरिरहेका उम्मेदवारले एकअर्काप्रति यस खालको मित्रभाव प्रदर्शन गर्लान् भन्ने अनुमान धेरैको थिएन । कार्यक्रममा उपस्थित एक मतदाताले भने, ‘धेरैको अनुमान प्रतिस्पर्धी बनेका उम्मेदवार आपसमा पक्कै पनि खुलेर बोल्ने छैनन् भन्ने नै थियो ।’ तर, त्यसविपरीत उम्मेदवारले देखाएको सहिष्णुता र मित्रभावको भने सबैले करतल ध्वनिले स्वागत गरेका थिए ।
नगर प्रमुखका प्रत्यासीलाई एउटै थलोमा भेला गराएर उम्मेदवार र मतदातालाई आमने/सामने बनाउँदै प्रश्नोत्तर गर्ने अवसर भने भैरहवा क्षेत्रमा नागरिक समाजको भूमिका निभाउँदै आएको भैरहवा मर्निङ वर्क ग्रुपले मिलाएको हो । ‘यो त बडो अचम्म भयो । उम्मेदवारहरू एकअर्काप्रति खनिएनन् । मित्रभाव देखाए,’ भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक उमेश रिजालले भने, ‘सबै राजनीतिक दल र उम्मेदवारमा यस खालको संस्कृतिको विकास हुन सकेमा लोकतन्त्र र प्रजातान्त्रिक व्यवस्थाले पनि सार्थकता पाउने थियो ।’
राजनीतिक दललगायत र स्वतन्त्रबाट नगर प्रमुखमा प्रत्यासी बनेका सबै उम्मेदवार माला लगाएर मञ्चमा लहरै बसेका थिए । उनीहरूका सामुन्ने नागरिक समाजका प्रतिनिधि, साहित्यकार, प्राध्यापक, बुद्धिजीवी, पत्रकार र आममतदाता बसेका थिए । आयोजकले उम्मेदवारलाई पालैपालो १०/१० मिनेटका दरले आफ्ना योजना र उद्देश्य सुनाउने समय उपलब्ध गराएका थिए । मतदातालाई पनि मनमा लागेका प्रश्न सम्बन्धित उम्मेदवारलाई सोध्न पाउने अवसर जुटाइएको थियो । हलमा रहेका धेरै मतदाताले नगर प्रमुखका उम्मेदवारलाई एकै प्रकारका प्रश्न गरेका थिए । ‘तपार्इंलाई नै मत किन दिने ?’, ‘तपार्इंलाई नै नगर प्रमुख किन बनाउने ?’
आयोजक संस्थाका संस्थापक अध्यक्ष तथा साहित्यकार विजय सागरले भने ०२४ सालदेखि नगरको रूप धारण गरेको सिद्धार्थनगर पुरानो नगरपालिका भएर पनि विकास निर्माण र सभ्यतामा खासै परिवर्तन आउन नसकेको विषयमा केन्द्रित रहेर प्रश्न गरेका थिए । ‘विदेशी दातृ निकायको सहयोग र अनुदानमा ढल त निर्माण भयो । तर, वर्षायाममा ढलबाट पानी बग्नु पर्नेमा उल्टै ढलको पानी बगेर सडक भरिन्छ,’ उनले भने, ‘दातृ निकायको अनुदान सहयोगको प्रभावकारी कत्तिको भयो ? हामी कहाँ कहाँ चुक्यौ त ?’
प्रतिस्पर्धी सबै उम्मेदवारले सबैका कुरा ध्यानपूर्वक सुनेर जवाफ दिएका थिए । कुनै उम्मेदवारले पनि कसैको आलोचना गरेनन् । निर्वाचनमा जो विजयी भए पनि साथ दिने प्रतिबद्धता सबैले व्यक्त गरे । सबै दलप्रति सम्मान भाव जाहेर गर्दै अटेरी अभियानबाट स्वतन्त्र उम्मेदवारी दिएकी ईश्वरी खड्काले आफ्नो उपस्थिति ‘वाच डग’ का रूपमा रहने बताइन् । ‘काम गर्ने जोकोहीलाई मेरो पूर्ण सहयोग र समर्थन रहनेछ,’ उनले भनिन् ।
