ब्युसाह (धनगढी — मध्य दिउँसो, ३९ डिग्रीको तातो घाम । छिटपुटबाहेक गर्मी छल्ने गरी बनाइएका होचा फुसका छाना भएका घर । घरमाथि कतै हँसिया हथौडा, कतै रुख र सूर्यअंकित झण्डा । कच्ची सडकमा धुलो उडाउँदै गुड्ने मोटर र टेम्पोमा पनि पार्टीका झण्डा । कैलालीको धनगढी उपमहानगरपालिका–१६ को व्युसाह टोलमा अहिले चुनावका यस्तो चहल पहल देखिन्छ ।
गर्मीका कारण गाउँमा उम्मेदवार त देखिएका छैनन्, तर गाउँका मान्छेलाई भने गर्मीले छेकेको छैन । गाउँको पारीपट्टि बनदेवी सामुदायिक बन छ, वन र बस्तीकोबीचमा सडक । वनले उपभोक्तालाई दाउरा काट्न खुला गरेको छ, एक हप्ताका लागि । चर्को घाममै पनि गाईभैसीलाई खोले पकाउनेदेखि घरायसी प्रयोजनमा वर्षभरि पुग्ने दाउरा भेला पार्न गाउँका महिलालाई भ्याईनभ्याई छ ।
जंगलका दाउरा सडक पारी सार्न व्यस्त छन् उनीहरू । ‘१२ बजिसक्यो, भोक पनि लाग्यो, घर गएर पकाएर खानु छ, गइहालौँ,’ सडक छेउमा दाउराको भारी बिसाएर पसिना ओभाउन नपाउँदै ४७ वर्षे बासुदेवी बोहराले भनिन् । अब मात्रै पकाएर खाने ? छेवैकी महिलाको प्रश्न नसकिदै उनको जवाफ थियो, ‘बुढा विहानै काममा गए, छोराबुहारी भारततिर । अरु कसले पकाउने र ?’ रुखको सयलमा बसेका उनीहरुबीच सडकमा नयाँ मान्छे देखेर खासखुस चलिरहेको थियो ।
तस्बिरहरु: अंगद ढकाल/कान्तिपुर
गाउँमा चुनाव आएछ, तपाईंहरुलार्ई चुनाव कत्तिको लागेको छ ? जिज्ञासा नसकिदै उनीहरूले रिस पोख्न थाले, ‘विकास गर्ने होइनन्, जति भोट दिएपनि हाम्रा दुःख हामीसँगै हुने हुन्, भोट मात्रै लिन्छन्, काम गर्ने होइनन् । अनि भोट किन दिने ?,’ चर्कै स्वरमा बोलिन् सीता बोहरा (४०) । उनको बोलीमा बाँकी महिलाले पनि स्वर थपे । उनीहरूको रिस अगाडि रहेको धुलाम्मे सडकतर्फ पोखिएको थियो ।
यो त्यही सडक हो, जहाँबाट हरेक चुनावमा उम्मेदवारहरु गाउँलेको मन जित्न बेहडा बाबाको मन्दिरमा पूजाआजा गर्छन्, र गाउँलेमाझ विकासको सपना बाँड्छन् । २०७४ को निर्वाचनमा पार्टीबाट टिकट लिने बित्तिकै नेपाली कांग्रेसबाट धनगढी उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार नृपबहादुर वडले मन्दिरको दर्शन गरेर गाउँलेको मन जिते । उनी मेयरमा निर्वाचित पनि भए । तर, चुनाव जितेपछि सडक बन्यो, न उनी फेरि गाउँमा नै देखिए ।
यसपालि पनि त्यही श्रृंखला सुरु भइसकेको छ । मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले केही साताअघि नै बेहडा बाबा मन्दिरमा पुगेर भ्रष्टाचार नगर्ने कसम खाइसकेका छन् । ‘मैले कसम खाएको छु, म मेयरमा निर्वाचित भएँ भने कुनै पनि किसिमको भ्रष्टाचार गर्दैन, अन्यथा ममाथि घोर अनिष्ट होस्,’ हमालले कान्तिपुरसँग भने, ‘मैले भ्रष्टाचार गर्दिनँ भनेर कसम खाएको छु ।’
बेहडाबाबाको मन्दिरमा खाएको कसम पूरा नभए एक वर्षभित्रै ज्यान जान्छ भन्ने मान्यता छ गाउँलेमाझ । नेताले त्यही आडमा गाउँलेको मन जित्दै आएका छन् । तर, झुटो बाचा गर्ने नेताहरु भने सकुसल छन् । तैपनि गाउँलेको आस्था भने जीवित छ । ‘यो बाटो गएको चुनावमा पनि यस्तै थियो, अहिले पनि उस्तै छ, बजार गयो भने फर्किंदा धुलोले नचिनिने भइन्छ, पर खोलामा पुल छैन, वारीपारी गर्न गार्हो छ,’ सीता बोहराले अघि भनिन्, ‘सबै भोट माग्न आउँछन्, काम चाँहि गर्दैनन् । उधारोमा भोट दिँदा हाम्रो गाउँ सँधै पछि पर्यो ।’ यो त्यही संसदीय क्षेत्र हो, जहाँ कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवाले आलोपालो चुनाव लडे । हालको कैलाली क्षेत्र नं. ५ मा उपमहानगरपालिकाका १९ वडा र कैलारी गाउँपालकाका दुई वडामात्रै पर्छन् । ०७० मा देउवाले चुनाव जिते । ०७४ मा भने कांग्रेसबाट देउवापत्नी आरजु उम्मेदवार बनिन्, वाम गठबन्धनका नारदमुनि रानाले चुनाव जिते । यसपटक फेरि प्रधानमन्त्री देउवा र पत्नी आरजुको नजर यहीँ छ । प्रभावशाली नेताको चुनाव क्षेत्र भएर पनि गाउँको विकासमा त्यो प्रतिबिम्बित देखिदैन ।
यो सडक ०७०/०७१ सालतिरै ट्रयाक ओपन भएको हो । सडकले धनगढीलाई बेहडा बाबा र भादी थारु होमस्टेसँग जोडेको छ । तर, पर्यटकीय महत्वको भएपनि अहिलेसम्म पनि यो सडक कालोपत्रे भएको छैन । ‘अहिलेलाई यो बाटो नै हाम्रो लाइफलाइन हो, बिरामी भए यहीबाट एम्बुलेन्स गुडाउने हो । तर, अरु बेलै यो बाटो हिड्दा सञ्चै मान्छे पनि बिरामी पर्ने अवस्था छ,’ स्थानीय कमला चौधरीले भनिन्, ‘हामी जसले यो बाटो पिच गरिदिन्छ, उसैलाई भोट दिन्छौँ ।’
वडा–१६ कै रामपुरमा रहेको बेहडाबाबा मन्दिर धनगढी आसपास मात्रै होइन, भारतसम्म पनि प्रख्यात छ । सिजनमा भारतीय पर्यटकसमेत यहाँ मन्दिरमा दर्शनका लागि आइपुग्छन् । बिशेष गरी शिवरात्रीमा बेहडाबाबामा भक्तजनको भीड लाग्छ । धनगढीबाट ऊर्मा हुँदै जाने सो सडक खण्डअन्तर्गत बीचमा नदी छ, तर नदीमा पर्याप्त ठाउँमा पुल छैन । पुल नभएका कारण घुमाउरो यात्रा गर्नुपर्छ ।
सो सडक कालोपत्रे हुँदा ऊर्मा हुँदै घसिटा र ब्युसाह पुग्न सहज हुन्छ । अहिले भादा होम–स्टे सम्म पुग्ने क्षेत्रमा केही ठाउँमा कालोपत्रे पनि भएको छ । पुरै सडक निर्माण भए यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने स्थानीय बताउँछन् । ‘भोट त धेरै पटक दिइसकियो, काम गरिदिन्छौँ पनि भन्छन्, तर चुनाव जितेपछि कोही देखा पर्दैनन्,’ ५६ वर्षे कौशिला बोहराले भनिन्, ‘मैले १९ वर्ष हुँदा देखि भोट हाल्दै आछु । भोट लिन्छन्, विकास चाँहि गर्दैनन् । भोट आउँदा पनि जनतालाई दुःख हुने मात्रै हो ।’
गाउँमा समस्याका चाङ छन् । गरिबी व्याप्त छ । हरेक घरमा मजदुरी गर्ने मान्छे नभए दुई छाक जोर्न हम्मे हम्मे पर्छ । चौधरी भन्छिन्, ‘हामीलाई सुविधा र अवसर चाँहि गाउँपालिका जस्तो छ, कर चाँहि उपमहानगरपालिकाको तिर्नुपर्छ, त्यो करको पनि सदुपयोग भए त हो, त्यस्तो हुन सकेन । हामी जनता जहाँको त्यही छौँ ।’
गाउँमा राम्रो पिउने पानीको सुविधा छैन । ‘हाम्रो गाउँमा पानी निकालेको एक ठाउँमात्रै हो, सबै एकै ठाउँमा जानुपर्छ, असहज छ,’ सीता बोहराले भनिन्, ‘पानीको सहज उपलब्धता र सडकमात्रै राम्रो भइदिए पनि हामीलाई सुविधा हुने थियो ।’
सुदूरपश्चिमकै ठूलो स्थानीय सरकारका बासिन्दा यी महिलाहरू ठान्छन्, सरकारले गाउँमै रोजगारी देओस् । राम्रो उपचार गर्ने अस्पताल र पढ्ने विद्यालय हुन् । हुन पनि गाउँमा बेरोजगारीको समस्या बिकराल छ । ‘घरैपिच्छे कोही न कोही त बाहिरै छन्, कि भारत छन्, कि खाडी तिर,’ स्थानीय निशा चौधरी भन्छिन्, ‘भारत नगए कहाँ जानु र ? कमाएर ल्याउने नै त्यतैबाट हो ।’ गाउँमा पुरुष कम छन्, बुढाबुढी केटाकेटी र आमाहरु बाहुल्य छन् ।’
स्कुल नजिकै छ । तर, पढ्नुपर्ने उमेरका केटाकेटीहरु पढाई छाडेर भागी–भागी काम गर्न भारत छिर्छन् । कोही रहरले छिर्छन्, कोही बाध्यताले । ‘खान लाउन खाँचो छैन, तर कमाउन भारत नगई उपाय पनि छैन,’ उनले भनिन्, ‘यहाँ बसे बजारतिर गएर काम गर्ने हो, नत्र भारत कि विदेश ।’
चुनावमा मात्रै चासो दिने नेता देखेर गाउँले आक्रोसित पनि हुन्छन् । तर, फेरि सोच्छन्, ती नै दल र नेताको भर नपरे कसरी गाउँको विकास हुन्छ र ?
‘चुनाव आउँदा मात्रै गाउँमा आउने नेतासँग रिस त उठ्छ, तर भोटै हाल्दिनँ भन्न पनि नसकिने रहेछ,’ चौधरीले भनिन्, ‘केही आशा पनि लाग्छ, फेरि आशा गरेर विश्वासको मत दिएका नेताले वास्ता गर्दैनन्, र रिस आउँछ ।’
धनगढी उपमहानगरपालिकाको नेतृत्व गर्न अहिले पनि ०७४ कै निर्वाचनका उम्मेदवार खडा भएका छन् । पुरानै उम्मेदवार, उस्तै एजेन्डा । त्यसकारण पनि गाउँका यी महिला मतदाता निरास छन् । ‘जहिल्यै यी नै मान्छे उम्मेदवार बन्छन्,’ चौधरी प्रश्न गर्छिन्, ‘यिनले काम गर्दैनन्, फेरि पनि चुनाव जितिरहन्छन् । पार्टी पुरानै, उम्मेदवार पुरानै, एजेन्डा पनि उस्तै नै छन् । जति चुनाव आएपनि उनीहरु बदिंलदैनन्, उनीहरू नबदलिए हामी कसरी बदलिनू ?’
