कपिलवस्तु — यशोधरा गाउँपालिका–५ मुडियाकी ३८ वर्षीया प्रेमलता भट्टलाई कांग्रेसले उम्मेदवार बनाउने निर्णय गर्यो । गत वैशाख ११ मा चन्द्रौटामा बसेको पार्टीको बैठकले गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि साथीभाइ र आफन्तबाट उनलाई बधाई आउन थाल्यो । धन्यवाद दिन भ्याइ–नभ्याइ भयो । सामाजिक सञ्जालमा बधाईको ओइरो लाग्न थाल्यो । सञ्चार माध्यममा समाचार प्रकाशित भए । उम्मेदवार आकांक्षी उनलाई पार्टीको निर्णयले खुसी तुल्यायो ।
टेलिफोनबाट पार्टीका जिम्मेवार नेताले ‘टिकट भइसक्यो, मनोनयन दर्ताका लागि कागजपत्र तयार गरेर बस्नू’ भन्ने खबर गरे । पार्टी जिल्ला अध्यक्ष अब्दुलकलाम खाँले बधाई दिंदै जितका लागि शुभकामना दिए । उम्मेदवारी मनोनयनको अन्तिम दिन गत वैशाख १२ मा उनी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अनुप पाण्डेको तौलिहवास्थित निवासमा पुगिन् । त्यहाँबाट उम्मेदवारी दर्ताका लागि समर्थकसहित स्थानीय निर्वाचन अधिकृतको कार्यालय पुग्ने दुवैबीच सल्लाह हुँदै थियो । नागरिकतालगायत आवश्यक कागजात फोटोकपी गर्न पठाएकी थिइन् ।
मनोनयनको योजना बनाइरहेका बेला एक जना कार्यकर्ता पार्टीले उम्मेदवार बनाएको पत्र लिएर पाण्डेको घरमा पुगे । पत्र खोलेर हेर्दा अध्यक्ष पदमा पाण्डेलाई उम्मेदवार बनाएको मात्र उल्लेख थियो । यसपछि भट्ट निराश भइन् । उनको मनमा चिसो पस्यो । नेतालाई फोन गर्न थालिन् । कसैले पनि फोन उठाएनन् । मुखबाट बोली फुट्न छाड्यो । ‘म त आत्तिएँ,’ उनले भनिन्, ‘के भयो भनेर मैले त बुझ्नै सकिनँ ।’ यसपछि भट्टको टिकट काटियो भनेर हल्ला सुरु भयो । उनलाई फोन आउन थाल्यो । आफूलाई सम्हाल्न सकिनन् । केही नेता कार्यकर्ता सम्झाउन थाले ।
पार्टीर्ले भट्टको ठाउँमा यशोधरा–७, कोपवाकी ४४ वर्षीया बिन्द्रावतीदेवी यादवलाई उम्मेदवार बनाएको पत्र सार्वजनिक भयो । यादवले उम्मेदवारी दर्ता गरिन् । त्यसपछि आक्रोशित भट्टले उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिइन् । ‘म पार्टीको गुट/उपगुटको सिकार भएँ,’ उनले भनिन् । सामाजिक कार्यकर्ता उनले गाउँपालिकामा राम्रो छाप बनाएकी थिइन् । ‘पढेलेखेकी थिइनँ,’ स्थानीय बिग्धर मिश्रले भने, ‘उनको जीतलाई कसैले रोक्न सक्थेन ।’
मिश्राका अनुसार भट्टले महिलाको हकअधिकार र समानताका क्षेत्रमा काम गरेकी थिइन् । घुम्टोबाट महिलालाई बाहिर निकाल्न सहयोग गरेकी थिइन् । त्यही भएर उनी गाउँघरमा लोकप्रिय थिइन् । अहिले आफू न्यायको खोजीमा रहेको उनले बताइन् ।
