सामाजिक सञ्जालबाट प्रचार

वैशाख १९, २०७९

सन्जु पौडेल

लुम्बिनी — स्थानीय तह निर्वाचनका उम्मेदवारहरूले मतदातासमक्ष एजेन्डा पुर्‍याउन सामाजिक सञ्जाल प्रयोगमा जोड दिएका छन् । व्यक्तिगत भेटघाटका लागि पर्याप्त समय नरहेको जनाउँदै उनीहरूले सामाजिक सञ्जालको प्रयोग थालेका हुन् । समर्थन जुटाउन र विपक्षी उम्मेदवारको आलोचना गर्न सञ्जालको प्रयोग भइरहेको छ । मतदानका लागि आह्वान गरिएका ब्यानर, पोस्टर र झन्डा प्रदर्शन भइरहेका छन् ।

बुटवल उपमहानगरपालिका प्रमुखमा कांग्रेसबाट उम्मेदवार बनेका खेलराज पाण्डे घरदैलोमा पुग्दा मतदातासित सहयोगका लागि अनुरोध गर्छन् । ‘मतदाताले उठाएका कतिपय कुरा सम्बोधन गर्न छुट्छन्,’ उनले भने, ‘छुटेका प्रश्नको उत्तर सामाजिक सञ्जालबाट दिने गरेको छु ।’

दोस्रोपटक प्रमुख पदमा उम्मेदवारी दिएका उनको फेसबुक पेजमा ७ हजारभन्दा बढी फलोवर छन् । निर्वाचनका बेला सुरु गरिएको नयाँ पेजबाट उनका छोराले प्रचारप्रसार गरिरहेका छन् । अहिले ‘आइटी कमिटी’ गठन गरेर उम्मेदवारबारे प्रचारप्रसार भइरहेको उनका छोरा अभिषेक पाण्डेले बताए । सञ्जालमा प्राप्त भएका प्रतिक्रियामध्ये धेरैले सकारात्मक सन्देश दिएको उनले बताए । ‘बुबाले भ्याउँदा आफैं पनि सक्रिय रूपमा सञ्जालमा पोस्ट गर्नुहुन्छ,’ उनले भने, ‘मेरो साथी सर्कल तथा अन्य पदाधिकारी र नेताहरूले आफ्नो तरिकाले गरिरहनुभएको छ ।’ सञ्जालमा सामग्री पोस्ट गर्दा आचारसंहिता उल्लंघन हुने खालका विषयवस्तु समेट्न हुँदैन भन्नेबारेमा सचेत रहेको उनले बताए । बुटवल र रूपन्देहीमा सञ्चालनमा रहेका पेज तथा ग्रुपमार्फत प्रचारप्रसार भइरहेको उनले बताए ।

एमालेबाट उपमहानगरको प्रमुखमा उम्मेदवार बनेका बाबुराम भट्टराईको सामाजिक सञ्जालबाट प्रचारका लागि नगर कमिटी सचिवालय सदस्यसहित युवा कार्यकर्ता क्रियाशील छन् । उनीहरूले भट्टराईको नयाँ पेज बनाएर तस्बिर र भिडियोमार्फत प्रचार गरिरहेका छन् । ‘उम्मेदवारले सञ्जाल हेर्ने फुर्सद त्यति पाएका छैनन्,’ नगर कमिटी सदस्य शंकर पाण्डेले भने, ‘सक्ने र मिल्नेजति गरेका छौं ।’ सञ्जालमा धेरैले देख्छन् र केही प्रभाव पर्ला भन्ने मात्र रहेको उनले बताए । घरदैलो अनिवार्य रहेकाले त्यतातर्फ ध्यान दिइरहेको उनले बताए । सञ्जालमा वृद्धवृद्धा भेटघाट, आशीर्वाद लिएका तस्बिर र भिडियोलाई प्राथमिकता दिएर अपलोड गर्ने गरिएको उनले बताए । आफूलाई सामाजिक सञ्जाल हेर्ने फुर्सद नभएको सिद्धार्थनगर नगरपालिकामा एमालेबाट उपप्रमुख पदकी उम्मेदवार उमा अधिकारीले बताइन् । आफ्ना समर्थक र साथीभाइले पेज बनाएर सामाजिक सञ्जालमार्फत प्रचार गरिरहेको उनले बताइन् । ‘मैले भेटघाटमै समय बिताइरहेकी छु,’ उनले भनिन्, ‘सञ्जालमा समाचार, अन्तर्वार्ताजस्ता सामग्री पोस्ट्याएर उम्मेदवारलाई चिनाउने कोसिस भइरहेको छ ।’ सञ्जाल हरेक मानिसले हेर्ने भएकाले आफ्ना योजना तथा निर्वाचनको पूर्वसन्ध्यामा गरिएको गतिविधि हेरेरै पनि मानिसले उम्मेदवार कस्तो खालको हो भन्ने आकलन गर्न सक्ने उनको बुझाइ छ । 

सामाजिक सञ्जालका धेरै प्रकारमध्ये उम्मेदवारले फेसबुक पेजलाई प्रचारको विकल्प ठानेका छन् । अन्य सञ्जालबारे ज्ञान नराखेकाले फेसबुकमार्फत धेरै प्रचार गरिरहेको उम्मेदवारले बताए । एकीकृत समाजवादीले तिलोत्तमा नगरपालिका प्रमुख पदमा आशाकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ । उनको फेसबुक एकाउन्टबाट निर्वाचनका गतिविधि पोस्ट भइरहेका छन् । प्रचार कार्यलाई सञ्जालमार्फत व्यवस्थित गर्ने तयारी भइरहेको एकीकृत समाजवादीकी जिल्ला उपसचिव सरिता श्रीसले बताइन् । उम्मेदवार मतदातासित भेटघाटमै व्यस्त भएकाले सामाजिक सञ्जाल सञ्चालनका लागि कमिटी बनाएर अघि बढ्ने उनले बताइन् ।

रूपन्देहीको मर्चवारी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष सुनिता कलवारले यसपटक सामाजिक सञ्जालमार्फत प्रचार व्यापक बनाएकी छन् । उनका श्रीमान्ले सञ्जालमा प्रचारको जिम्मेवारी पूरा गरिरहेका छन् । श्रीमान् शंकर जैसवालले आफ्नो फेसबुक पेजमा श्रीमती सुनितासहित पालिकाका अन्य उम्मेदवारका प्रचार सामग्री पोस्ट्याएका छन् । विगतमा पनि यो कार्य गरेको र फलदायी भएकाले आफ्ना पार्टीका नेताहरूले हेरेर राम्रो प्रतिक्रिया दिने गरेको बताए ।

स्थानीय तह निर्वाचन २०७९

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully