तिलोत्तमा — रुपन्देहीका जनप्रतिनिधि आचारसंहिताको उल्लंघन गर्दै चुनावी प्रचारप्रसारमा व्यस्त भएका छन् । पार्टीले अघि सारेका उम्मेदवारसँगै घरदैलो कार्यक्रममा जनप्रतिनिधि नै सहभागी हुने गरेका छन् । बुटवल उपमहानगर र विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखले आफ्नो कार्यकालमा भएका काममध्ये बाँकी रहेका काम अहिले विजयी हुने उम्मेदवारले पूरा गर्ने आश्वासनसमेत बाँडिरहेका छन् ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी प्रचार प्रसारमा खटिएका छन् । उनले आचारसंहिता उल्लंघनको विषयमा आफूलाई कारबाही गर्न सके गर भन्दै निर्वाचन आयोगलाई चुनौती दिएका छन् । उनी नेकपा एमाले तिलोत्तमा नगर कमिटीको निर्वाचन परिचालन कमिटीको संयोजकसमेत हुन् ।
एमाले उम्मेदवार मोहन चापागाईं र जागेश्वरीदेवी चौधरीको प्रचारमा खटिएका उनले आचारसंहिता उल्लंघन गरेबापत कारबाही गर्न आयोगलाई चुनौती दिएका हुन् । ‘ठूला मन्त्री राजनीतिक एजेन्डा बोकेर हिँड्न हुने, म स्थानीय तहको प्रमुख पार्टीले खटाएको जिम्मेवारी बहन गर्न नपाउने ?,’ उनले प्रश्न गरे ।
एमाले निर्वाचन प्रचारप्रसार कमिटीले आइतबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको समेत जनाए । तिलोत्तमामा एमालेका प्रमुख उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता गरेका उनले आचारसंहिता उल्लंघन गर्नु सामान्य भएको बताए । उनले भने, ‘म पार्टीको कार्यकर्ता हुँ र अहिले म नगरप्रमुख पनि हुँ, मलाई पार्टीले जिम्मा दियो, म निर्वाचन परिचालन कमिटीमा छु, कसैले यसले आचारसंहिता उल्लंघन गर्यो भन्ने लाग्छ भने कारबाही गर्नुस् ।’
उनले अहिले पनि आफू नगरप्रमुख रहेकाले मतदाता प्रभावित गर्ने गरी जुनसुकै योजना ल्याउन पनि सक्ने बताए । उनले पत्रकार सम्मेलनमा आफूले गरेका राम्रा कामको प्रचार नगरिदिएर आलोचना गरेको भन्दै पत्रकारहरुप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।
त्यस्तै, बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकाका जनप्रतिनिधि पनि उम्मेदवारसँगै आचारसंहिताविपरीत चुनावी प्रचारमा सहभागी हुने गरेका छन् । नेकपा एमालेबाट निर्वाचित बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी नेकपा एमालेले आयोजना गरेको चुनाव लक्षित उमेदवार अभिमुखिकरण कार्यक्रममा सहभागी भएका थिए । उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्य समेत उक्त कार्यक्रममा सहभागी भइन् । उनी पार्टीका तर्फबाट उम्मेदवार बाबुराम भट्टराईलगायतको समूहको प्रचारमा हिँड्ने गरेकी छिन् । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीसमेत उम्मेदवारसँग सँगै घरदैलोमा हिँडिरहेका छन् ।
पदमै रहेका जनप्रतिनिधि चुनावी घरदैलोमा हिँड्नु आचारसंहिताविरुद्ध भएको इन्सेक रुपन्देहीकी प्रतिनिधि रिमा बिसीले बताइन् । ‘सबै दलका जनप्रतिनिधिलाई यो कानुन लागू हुन्छ,’ उनले भनिन्, ‘पदीय जिम्मेवारी निभाउने कार्य बाँकी छँदाछँदै बाहिर हिँडेर अरुको प्रचार गर्न संहिताले अधिकार दिएको छैन । चुनावी संहिताविपरीत ठूलो स्वरमा घन्काइने चुनावका गीत, ठूला ब्यानरले पनि संहिता उल्लंघन भएको प्रस्ट हुन्छ ।’
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०७८ को परिच्छेद ३ मा रहेको पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने आचरणअन्तर्गत बुँदा नम्बर ५ मा नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालीका वा त्यसका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार गर्न नपाउने उल्लेख छ ।
निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले आचारसंहिता उल्लंघनको विषयमा हरेक पालिकामा रहेका निर्वाचन कार्यालयका अधिकृतले अनुगमन गर्ने बताए । ‘समितिले प्राप्त गरेको जानकारी जिल्लामार्फत आयोगमा पठाइनेछ,’ उनले भने, ‘सर्वप्रथम हेर्ने निकाय पालिकामै स्थापित निर्वाचन कार्यालय हो ।’
