सुनसरी — फुटबलको मैदानमा विपक्षी स्ट्राइकर, मिडफिल्डर र गोलकिपरलाई छक्याउँदै गोल हान्ने व्यक्ति हुन्- किशोर राई । जो यसपटक स्थानीय तहको चुनावी मैदानमा उत्रेर राजनीतिक गोल गर्ने दाउमा छन् । कांग्रेसको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको चुनावी मैदानमा उत्रेका राईसँग प्रतिस्पर्धामा उत्रिएकी छन् एमालेकी मञ्जु भण्डारी ।
नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष गोल प्रोजेक्टका एन्फा संयोजक, प्रदेश १ का एन्फा अध्यक्षसमेत रहिसकेका नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति राई फुटबल जस्तै दाउपेच राजनीतिमा प्रयोग गरेर कुर्सी हत्याउने प्रयासमा छन् । २०२४ साल चैत्र १७ गते मोरङको बोराबाधमा जन्मेका राईले धरानबाटै फुटबल र राजनीतिक जीवन सुरु गरेर आफ्नो इतिहास बनाएका छन् ।
उनले भने, ‘अब स्थानीय तहको विकास निर्माणका काम हिजो जस्तो गरेर हुँदैन । म त फुटबल खेलमैदानबाट उदाएको खेलाडी पनि भएकाले मैदानमा प्रवेश गरेपछि विपक्षीको पोस्टमा गोल गर्नै पर्छ भन्ने मान्यतालाई बिर्सेको छैन । अहिले राजनीतिको मैदानमा हामी एमालेसँग प्रतिस्पर्धा गरिरहेका छौं । बल डी एरियामा पुगिरहेकाले विपक्षीलाई छक्याएर कुन कोणबाट गोल हान्ने भनेर हेरिरहेको छु ।’
उनले धरान बनाउने योजना आफूसँग रहेको दाबी गर्दै धरानको विकासको मोडल परिवर्तन गर्ने बताए । धरानको खानेपानी समस्या समाधान गर्ने, करको दर घटाउने, प्रत्येक वर्ष पाँच हजार जनालाई रोजगारी दिने, धरानलाई व्यापारिक केन्द्र बनाउने र सुकुम्बासी समस्या समाधान गर्न आफू प्रतिबद्ध भएको बताए ।
धरानको चुनावी मैदान ०१५ सालदेखि यता वामपन्थी उम्मेदवारका लागि उर्वर मानिँदै आएको छ भने कांग्रेसको लागि उबडखाबड । यो उबडखाबडकाबीच कांग्रेसले ०७६ को उप-निर्वाचनमा भने इतिहासमै पहिलो पटक मेयरको कुर्सी आफ्नो पोल्टामा पारेको थियो । तर यो चुनाव जितेको दुई वर्ष मात्र भएकाले यसपटक भने पाँच वर्षसम्मकै लागि ट्रफी जित्ने गरी राई एमालेको पोष्टमा गोल गर्ने रणनीति अपनाइरहेका छन् ।
चुनावी मैदानमा धरानमा एमालेका तर्फबाट केन्द्रीय सदस्य र महिला सशक्तिकरण अभियानकी नेता ३८ वर्षीया मन्जु भण्डारी पनि काउन्टर एट्याक गर्दै कांग्रेसको पोष्टमा गोल गरेर ०७६ मंसिरको चुनावमा भोगेको पराजयको बदला लिने दाउमा छिन् ।
हुन त गएको चुनावमा कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई करिब २७ सय मतले हराएका थिए । त्यसबेला माओवादी केन्द्र र एमाले एउटै भएर चुनावी मैदानमा उत्रेपनि एक पटक धरानमा कांग्रेसलाई जिताएर धनीपूर्जा पाइन्छ कि भन्ने आसैआशमा तीन दशक बिताएका सुकुम्बासी मतदाताहरुले साथ दिएका थिए ।
विद्यार्थी राजनीतिबाट उदाएर जिल्ला हुँदै केन्द्रीय सदस्य बनेकी भण्डारीसँग उपमेयरसँगै डेढवर्ष कार्यवाहक मेयर भएर धरान उपमहानगरपालिका हाँकेको अनुभव पनि छ ।
फुटबलको मैदानमा गोल गर्न खप्पिस राईलाई उनी राजनीतिक मैदानमा हराउने ध्येकासाथ मैदानमा उत्रेकी छन् । भण्डारी ०५३ साल ताका १४ वर्षको किशोरी उमेरमै सुनसरीको इटहरीस्थित जनता मावि कक्षा ८ अध्ययन गर्दागर्दै अनेरास्ववियूको प्रारम्भिक कमिटी सदस्य बनेपछि कम्युनिष्ट राजनीतिमा प्रवेश गरेकी थिइन् । ०७४ को स्थानीय निर्वाचनमा २१ हजार २५६ मत ल्याएर कांग्रेसकी श्यामा रेग्मीलाई ६ हजार ३३९ को मत अन्तरले हराउँदै विजयी भएकी थिइन् ।
०३९ साउन २ गते जन्मेकी भण्डारी भन्छिन्, ‘मैले पनि आफ्नो रुचीअनुसार कम्युनिष्ट राजनीतिको सिद्धान्त मन पराएर विद्यार्थी जीवनमा सक्रिय भएँ । उपप्रमुखको पाँच वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेँ । पाँचवर्षको अवधिमा मैले आफ्नो पदीय दायित्व, जिम्मेवारीलाई इमान्दारीकासाथ पूरा गरेँ । यो अवधिमा एकवर्ष पूरा नहुँदै नगरप्रमुख तारा सुब्बाको निधन भयो । नगरपालिका अभिभावकविहीन भएको अवस्थामा मेरो जिम्मेवारी स्वाभाविकरुपमा चुनौतीका साथ थपियो । मैले सिंगो नगरलाई अभिभावकविहीन भएको महशुस हुन नदिइ कार्यवाहक मेयरको रुपमा अभिभावकत्व प्रदान गरेँ ।’
उनकाअनुसार यो अवधि उनको जीवनमा चुनौतीमात्र होइन जिम्मेवारी बहनको अनुभव आर्जन र क्षमता विकासका दृष्टिकोणबाट कोशेढुंगा हुन पुग्यो । उनले यही अवधिमा धरानलाई थप बुझ्ने, राज्य सञ्चालन प्रक्रियाका सन्दर्भमा गहिरो अध्ययन गर्ने, जनताको सबैखाले समस्यालाई सम्बोधन गर्ने प्रक्रियामा आफूलाई समर्पित गरेको बताइन् ।
भण्डारी अनेरास्ववियूूको मावि प्रारम्भिक सदस्य, कोषाध्यक्ष, अध्यक्ष हुँदै एसएलसी गरेपछि उच्च शिक्षा आर्जन गर्न जनता क्याम्पस इटहरीमा भर्ना भएसँगै कम्युनिष्ट राजनीतिमा पनि सक्रिय भइन् ।०५६ सालमा सुुनसरी २ नम्बर क्षेत्रीय कमिटी सचिव, ०५७ मा सुुनसरी जिल्ला कमिटि सदस्य, सोही वर्ष जिल्ला कमिटी कोषाध्यक्ष, जिल्ला कमिटी सचिव, अनेरास्ववियूू कोसीअञ्चल महिला विभाग सदस्य हुँदै अनेरास्ववियूू कोसीअञ्चल कमिटी अध्यक्षको बनिन् । उपमेयर भएकै समयमा नगरपालिका संघ नेपालको सचिवालय सदस्य समेत हुन पुगिन् ।
महिला हिंसा विरुद्ध पैरवीकर्ता भण्डारी आफैँपनि सामाजिक तथा विकास अभियानकर्ता हुन् । मानवअधिकार रेडियो श्रोताक्लवको जिल्ला अभियन्तादेखि मानवअधिकार तथा द्वन्द्व रुपान्तरणका लागि अभियान, द्वन्द्व व्यवस्थापनका लागि सञ्चालित बारुदी सुुरुङ प्रतिबन्ध अभियानको जिल्ला संयोजक, लैंगिक मैत्री योजना निर्माण र कार्यान्वयनको संयोजनकर्ता, रणनीतिक योजना तथा संस्थागत विकासका काममा उनी प्रत्यक्ष संलग्न छिन् ।
उनले भनिन्, ‘धरान उपमहानगरको मेयर पदमा एमालेले एउटा महिलालाई उठाएकाले मेरो उम्मेदवारीले महिला समुदायमा उत्साह बढाएको छ । धरानको समग्र विकाससँगै महिलाको पक्षमा केही हुन्छ भन्ने आशा पलाएको छ । योसँगै ०७६ मा भत्केको एमालेको विरासत फर्काएर धरानको खानेपानीको प्राविधिक समस्या, निर्माणाधीन बसपार्क तोकिएको समयमा पूरा गर्न र सुकुम्बासी समस्या समाधान गर्ने सन्दर्भमा इमान्दारिताकासाथ पूरा गर्न प्रतिबद्ध रहेको छु ।’
भारतको पश्चिम बंगालमा पर्ने शिलिगुरीको विभिन्न क्लबमा व्यावसायिक खेलाडी भएर पाँचवर्ष बिताएका गठबन्धनका उम्मेदवार राई २०५१ सालमा नेपाली कांग्रेस धरान-१२ को बुथ सभापति भएका थिए । ०५४ सालको स्थानीय निर्वाचनमा धरान-१२ को वडा अध्यक्ष निर्वाचित भए । ०५५ सालमा कांग्रेस धरानको नगर सचिव भएका राई ०५८ सालमा नेपाली कांग्रेस प्रजातान्त्रिकका तर्फबाट धरान नगर सभापति भए । धरानलाई खेलकुदको केन्द्र बनाउन मिनी ब्राजिलको नारा दिएर युवाहरु माझ लोकप्रिय बनेका गठबन्धनका उम्मेदवार राई स्थानीय तहको चुनावमा भने धरानलाई मिनी हङकङ बनाउने नारा दिएर घरदैलोमा व्यस्त छन् ।
