भोट माग्‍ने शैली : खुट्टा ढोग्‍दै, लड्डु खुवाउँदै

कोही नातागोता लगाउँछन् त कोही अंगालो हाल्दै भोट माग्छन्

वैशाख १८, २०७९

नवीन पौडेल

परासी — स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु मतदाताको घरघरमा पुगेर भोट मागिरहेका छन् । आफ्ना दलका नेता कार्यकर्तासहित मतदाताको घरघरमा पुगेका उम्मेदवारहरुको भोट माग्ने शैली पनि फरक फरक छ ।

सामाजिक सञ्जालमा फोटो भिडियो हाल्नका लागि भएपनि उम्मेदवारहरुले फरक फरक तरिकाले भोट मागिरहेको दृष्य देख्न सकिन्छ । हृदयेश त्रिपाठी केन्द्रिय संयोजक रहेको जनता प्रगतिशिल पार्टीका प्रतापपुर गाउँपालिकाका अध्यक्षका उम्मेदवार करम हुसेन अन्सारीले मतदातालाई लड्डु खुवाउँदै आइतबार भोट माग्दै थिए । मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा उनले यसरी भोट माग्दै हिँडेको दृष्य रोचक थियो । 


जनता समाजवादी पार्टी नेपालका तर्फबाट सुस्ता गाउँपालिकाका अध्यक्षका उम्मेदवार लख्खु यादवले आफूभन्दा अग्रज मतदातालाई ढोग गर्दै आर्शिवादसहित भोट मागिरहेका छन् । गाउँघरमा चिनेजानेका आफन्तीलाई ढोग गर्दै आशिर्वाद थाप्दै गरेका उनी सानादेखि अग्रज सबैलाई समान व्यवहार गर्ने भएकाले यसो गरेको बताउँछन् । 


नेपाली कांग्रेसको तर्फबाट पाल्हिनन्दन गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनेकी २४ वर्षीय  सकिना फतिमा खातुनले सबैको ध्यान तानेकी छन् ।

उनी आफ्नो पार्टीको  प्रचारप्रसारमा महिला मतदाता देख्ने बित्तिकै अंगालो हालेर कुरा गर्ने र भोट माग्ने गर्छिन् भने पुरुष मतदातालाई नमस्कार गरेर आर्शिवाद लिने गरेकी छन् । 


स्थानीय तहमा आफ्ना योजना र विकासका नारा भन्दा पनि नातागोता लगाउने, ढोग गर्ने तथा विभिन्न आश्वासन बाँडेर भोट मागिरहेका उम्मेदवार भेटिन्छन् । 


जिल्लामा ३ सय ८४ पदका लागि २ हजार १ सय ९ जनाको उम्मेदवारी कायम भएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी रुद्रप्रसाद रेग्मीले बताए ।

स्थानीय तह निर्वाचन २०७९

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully