काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चासमेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भए पनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका हुन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । यस क्रममा उनले आवश्यक्ता नै नभएका अन्य दलका उम्मेदवारहरुलाई छोडेर सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउन पनि सबैलाई आह्वान गरे ।
अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना राजधानी बनाउने, सफा राजधानी बनाउने र यहाँका वागमती, विष्णुमती नदीलाई पूर्ण सफा बनाउने संकल्पका साथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए ।
उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलाएर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि बताए । ‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्नँ । किनभने चर्चा गर्न लायक नै छैनन् । केही कुरा गरिरहनु पर्ने आवश्यक्ता नै छैन । त्यसकारण म कसैको बारेमा केही भनिरहन चाहन्नँ । साथीहरुले कतिपयले इच्छा गर्नु भएको छ । इच्छा गर्न पाईन्छ । उहाँहरुको अधिकारको कुरा हो । उहाँहरुले इच्छा गर्नुपर्छ । उहाँहरुको इच्छालाई सलाम गरौं । सूर्यमा भोट हालौं । एमालेलाई जिताऔं ।’
अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणापत्र र स्थानीय तहको प्रतिबद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए ।
