रसुवामा ३० उम्मेदवारी फिर्ता

वैशाख १६, २०७९

बलराम घिमिरे

रसुवा — जिल्लामा राजनितिक दलका तर्फबाट मनोनयन दर्ता गरेका र स्वतन्त्र उम्मेदवार गरी ३० जनाले मनोनयन फिर्ता लिएका छन् ।

जिल्लाको उत्तरगया गाउँपालिकामा ५, गोसाईकुण्डमा १, कालिकामा ८, आमाछोदिङ्मोमा ५ र नौकुण्डमा ११ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

स्वतन्त्र उम्मेदवारी दर्ता गर्नेमा धेरै नेपाली कांग्रेसका कार्यकर्ता रहेका छन् । कांग्रेसका कार्यकर्ताले जिल्लाको पाँच वटैमा पालिकामा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । नौकुण्डमा ९ जना, कालिकामा १ जना गोसाईकुण्डमा १ र उत्तरगया १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका अधिकांशले फिर्ता लिएको नेपाली कांग्रेस पार्टी सभापति पेम्बाछिरिङ तामाङले बताए । 'बागी उम्मेदवारी फिर्ता नलिए पार्टीले कारबाही गर्ने चेतावनी दिएको थियो,' उनले भने । त्यस्तै नेपाली कांग्रेसको तर्फबाट नौकुण्ड गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकि लालुमाया घले फिर्ता लिएकी छन् । जसपासँग गठबन्धन गर्नपर्ने भएकाले उनको उम्मेदवारी फिर्ता भएको नेपाली कांग्रेस बताएको छ ।

जसपाकोतर्फबाट कालिका गाउँपालिको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका कृष्ण बहादुर तामाङ, राप्रपाको तर्फबाट आमाछोदिङ्मो गाउँपालिमा अध्यक्ष पदमा उम्मेदवार दिएका टासीछिरिङ तामाङ र नेकपा समाजवादीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी मुना तामाङले पनि फिर्ता लिएकी छन् । यस पटकको निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता छन् । 

स्थानीय तह निर्वाचन २०७९

बलराम

Link copied successfully