द्वेषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन प्रेस काउन्सिलको अपिल

१६ सञ्चार माध्यमलाई स्पष्टीकरण माग, ४ वटालाई निर्देशन, २ वटालाई ध्यानाकर्षण

वैशाख १६, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — आउँदो स्थानीय तह निर्वाचनका सन्दर्भमा दुष्प्रचारयुक्त अभिव्यक्तिलाई स्थान नदिन प्रेस काउन्सिलले पुन: अपिल गरेको छ । पत्रकार तथा आमसञ्चार माध्यमबाट पत्रकार आचारसंहितालगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा प्रेस काउन्सिलले विशेष अनुगमन गरिरहेको जनाएको छ ।

पछिल्लो समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरुलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार हुने, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरु पनि बढिरहेको काउन्सिलले जनाएको छ ।कुनै राजनीतिक दलका नेताहरुले अर्को राजनीतिक दल तथा दलका नेताहरुविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोलाई समेत प्राथमिकता दिइ सञ्चार माध्यमहरुबाट सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको काउन्सिलले उल्लेख गरेको छ ।

यसैबीच विशेष अनुगमन प्रारम्भ भएयता कतिपय सञ्चार माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुऱ्याउने, चरित्र हत्या हुने गरी अतिरञ्जित एवं दुराशययुक्त सामग्री सम्प्रेषण भएको देखिएको काउन्सिले उल्लेख गरेको छ । काउन्सिलले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै भनेको छ– 'त्यस्ता सामग्री सम्प्रेषण गर्ने १६ सञ्चार माध्यमलाई स्पष्टीकरण माग गरिएको, ४ वटालाई निर्देशन दिइएको, २ वटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको १ वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण नहुने गरी कारबाही गरिएको छ ।'

'निर्वाचनको बेलामा गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वेषपूर्ण) अभिव्यक्तिहरू सञ्चार माध्यमलाई प्राप्त हुन सक्छन् । गलत, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्ने र द्वेषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सञ्चारमाध्यम सजग हुनुपर्दछ,' काउन्सिलले भनेको छ, 'तसर्थ दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचार प्रसारलाई अतिरञ्जना नगर्न नगराउनहुन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल पुनः अपिल गर्दछ ।'

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully