पार्टीले टिकट दिने सम्भावना नदेखेपछि केहीले दल बदलेरै भए पनि उम्मेदवारी दर्ता
सिरहा र महोत्तरी — स्थानीय तहको निर्वाचनमा मुख्य दलहरूले सिरहाका अधिकांश स्थानीय तहमा पुरानै अनुहारलाई निरन्तरता दिएका छन् । धनगढीमाई नगरपालिकामा माओवादी केन्द्रले निवर्तमान प्रमुख हरिनारायण चौधरी र उपप्रमुख फूलकुमारी श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको छ ।
एमालेबाट २०७४ को स्थानीय तह निर्वाचनमा तेस्रो स्थानमा रहेर पराजित भएका शिवशंकर महतोलाई प्रमुख र उपप्रमुखमा शोभा बराललाई उम्मेदवार बनाइएको छ । कांग्रेसका जिल्ला सभापतिसमेत रहेका संविधानसभा सदस्य रामचन्द्र यादव आफैले धनगढीमाईको प्रमुखको उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रबाट निर्वाचित गोलबजारका निवर्तमान प्रमुख देवानाथ साह र उपप्रमुख रेशमकुमारी थापा, मिर्चैयाका प्रमुख श्रवणकुमार यादव, कर्जन्हाका प्रमुख गंगा पासवान र उपप्रमुख ज्ञानकुमारी श्रेष्ठ पुनः उम्मेदवार बनेका छन् । जिल्ला सदरमुकामसमेत रहेको सिरहा नगरपालिकामा जनता समाजवादी पार्टीबाट निवर्तमान प्रमुख अशेश्वर यादवले प्रमुखमा र जसपाकी महिला नेतृ शशिमित्रा माझी मुसहरले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।
सखुवानन्कारकट्टीमा नेकपा (एकीकृत समाजवादी) बाट निवर्तमान पालिका अध्यक्ष केदार यादवले उम्मेदवारी दिएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा यादव एमालेबाट निर्वाचित भएका थिए । यसैगरी औरहीका गाउँपालिकामा माओवादी केन्द्रबाट निर्वाचित निवर्तमान पालिका अध्यक्ष सिदार्थ यादव, माओवादी केन्द्रबाट अर्नमा गाउँपालिकामा निर्वतमान अध्यक्ष ठक्कु महतो कोइरीले उम्मेदवारी दिएका छन् ।
नवराजपुर गाउँपालिकामा कांग्रेसबाट निवर्तमान गाउँपालिका अध्यक्ष विश्वमोहन यादवले नै उम्मेदवारी दिएका छन् । एमालेले लहान नगरपालिकामा निवर्तमान प्रमुख मुनी साह सुडी र उपप्रमुखमा सरियारकुमारी चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसले क्षेत्रीय सभापति महेश चौधरीलाई प्रमुख उठाएको छ भने जनता समाजवादीबाट उपप्रमुखमा दुई जनाले उम्मेदवारी दिएका छन् ।
महोत्तरीका १५ मध्ये १४ पालिकामा ५ वर्षे कार्यकाल पूरा गरेकाहरू नै चुनावमा होमिएका छन् । पार्टीले चुनावमा टिकट दिने सम्भावना नदेखेपछि केहीले दल बदलेरै भए पनि उम्मेदवारी दर्ता गराएका हुन् । जलेश्वरमा तत्कालीन राजपाबाट जितेर एक कार्यकाल पूरा गरेका रामशंकर मिश्रले पुनः प्रमुखमा उम्मेदवारी दिएका छन् । पालिकाकी उपप्रमुख मुनचुन देवी भने दल परिवर्तन गरेर उपप्रमुखमा फेरि चुनाव लड्न मैदानमा उत्रिएकी छन् । राजपाबाट निर्वाचन जितेकी मुनचुन एमालेमा प्रवेश गरेकी हुन् ।
तत्कालीन राजपा (हाल लोसपा) ले जिल्लामा आफूले निर्वाचन जितेको सबै पालिकामा पुरानै व्यक्तिलाई प्रमुख, उपप्रमुखको टिकट दिएको छ । त्यतिबेला राजपाले ७ पालिकामा निर्वाचन जितेको थियो । पार्टीर्ले टिकट दिएपछि मटिहानी नगरपालिकामा हरि मण्डल लोसपाबाट पुनः प्रमुखको दाबेदार छन् । त्यस्तै भंगाहा नगरपालिकामा निवर्तमान प्रमुख सञ्जीव साह लोसपाबाट पुनः निर्वाचनमा होमिएका छन् । लोसपाले भंगाहको उपप्रमुखमा गंगादेवी सिंह दनुहारलाई उठाइएको छ ।
५ वर्षमा जनताका काम गरेर जनतामाझ प्रिय भएकै कारण पुरानै व्यक्ति दोहोरिएको लोसपाकी केन्द्रीय सदस्य तथा प्रदेश सांसद रानी शर्माले दाबी गरिन् । स्थानीय स्तरबाट पुरानै नेतृत्वको नाम सिफारिस भएर आएकाले पार्टीले स्थानीयस्तरको सिफारिसअनुरूप नै टिकट दिएको उनको भनाइ छ । कांग्रेसले निर्वाचन जितेको जिल्लाका ३ पालिकामा पुरानै व्यक्तिलाई प्रमुखको टिकट दिएको छ । औरही नगरपालिकामा निर्वतमान प्रमुख सुनिल यादव, लोहरपट्टिमा शैलेन्द्र यादव र बलवामा विनोद यादव पुनः चुनावी मैदानमा छन् ।
यी पालिका मध्य औरही नगरपालिकामा उपप्रमुख रेनु झा पनि लोसपाबाट पुनः निर्वाचनमा होमिएकी छन् । महोत्तरीको पिपरा गाउँपालिका, एकडारा गाउँपालिका, सम्सी गाउँपालिका, सोनमा गाउँपालिका र महोत्तरी गाउँपालिका प्रमुखमा पनि पुरानै अनुहार दोहोरिएको छ । पिपरामा अध्यक्ष विक्रम चौधरी पुन उठेका छन् ।
सम्सीमा पनि निवर्तमान अध्यक्ष फारुख शेख दल बदलेर चुनावी मैदानमा छन् । पहिले माओवादीबाट निर्वाचन जितेका शेखलाई अहिले नेकपा एमालेले प्रमुखका लागि टिकट दिएको छ । सोनामामा निवर्तमान अध्यक्ष राजकुमार यादवको उम्मेदवारी पुनः परेको छ । महोत्तरी गाउँपालिकामा पनि प्रमुख र उपप्रमुख पुनः निर्वाचनमा होमिएका छन् ।
महोत्तरीका १५ पालिका मध्य गौशाला गनरपालिकामा भने प्रमुख र उपप्रमुख दुवैले विश्राम लिएका छन् । माओवादी केन्द्रबाट निर्वाचित प्रमुख शिवनाथ महतो र उपप्रमुख आशा लामा दुवैले यो निर्वाचनमा दाबी गरेका छैनन् । गौशालामा भने नयाँ अनुहार चुनावी मैदानमा देखिन्छन् । महोत्तरीको बर्दिवास नगरपालिकामा उपप्रमुख कृष्णमाया गौतमको उम्मेदवारी पुनः परेको छ । माओवादी केन्द्रबाटै निर्वाचन जितेको रामगोपालपुर नगरपालिकामा पनि पुरानै अनुहार देखिएका छन् । निवर्तमान प्रमुख अशोक मण्डल र उपप्रमुख सीतादेवी साहलाई नै पार्टीले पुनः टिकट दिएको छ ।
