स्मार्ट सिटी बनाउने ‘प्रतिबद्धता’

वैशाख १५, २०७९

कान्तिपुर संवाददाता

मोरङ — विराटनगर महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका एमालेका सागर थापा र शिल्पा निरौला कार्कीले बुधबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

महानगरमा सञ्चालनरत राम्रा योजनालाई निरन्तरता दिँदै दीर्घकालीन योजना र ठोस कार्यक्रमका साथ विराटनगरलाई आधुनिक, सूचना प्रविधिमैत्री सुन्दर र समृद्ध बनाउने संकल्पका साथ ५ वर्षभित्र मेगा सिटीको आवश्यक पूर्वाधार निर्माण गरी १० वर्षभित्र मुलुककै नमुना र समृद्ध सहर बनाउने प्रतिबद्धता पत्रमा उल्लेख छ । 

‘बृहत् विराटनगरको गुरुयोजना बनाई व्यवस्थित, विकसित र वातावरणमैत्री स्मार्ट सिटी बनाउने छौं,’ प्रतिबद्धतापत्रमा भनिएको छ, ‘स्थानीय अर्थतन्त्रको विकास तथा उपलब्ध अवसर र स्रोतसाधनको सदुपयोग गरी सुशासनयुक्त विकास कार्यक्रम अगाडि बढाई समृद्ध महानगर निर्माण गर्नेछौं ।’

महानगरको योजना तर्जुमामा पछाडि पारिएका तथा सीमान्तकृत समुदायको विकास, सहभागिता र समावेशीको सिद्धान्त अंगीकार गर्ने भनिएको हो । ‘प्रदेशसभा र प्रदेश सरकारको स्थायी संरचना महानगरमा निर्माण गर्न पहल र सहजीकरण गर्नेछौं,’ प्रतिबद्धतापत्रमा उल्लेख छ, ‘महानगरको विकासका लागि एक स्वायत्त महानगर योजना आयोग बनाई योजना बैंक सञ्चालन गर्नेछौं ।’

शैक्षिक क्षेत्रमा महानगरस्थित सामुदायिक विद्यालयमा सूचना प्रविधियुक्तका साथै भौतिक पूर्वाधार निर्माण गरी अंग्रेजी माध्यममा कक्षा सञ्चालन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उल्लेख छ । ‘महानगरका सबै बालबालिकालाई बालविकास केन्द्रमा भर्ना गरिनेछ,’ प्रतिबद्धतापत्रमा भनिएको छ । स्वास्थ्य क्षेत्रमा महानगरका सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरी निःशुल्क स्वास्थ्य परीक्षण र आधारभूत औषधि उपलब्ध गराउने उल्लेख छ ।

उपप्रमुख उम्मेदवारविरुद्ध उजुरी

विराटनगर महानगरमा एमालेबाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी शिल्पा निरौला कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उजुरी परेको छ । जनता समाजवादी पार्टीबाट महानगरको उपमेयरका उम्मेदवार अमरेन्द्र यादवले कार्की कोसी अस्पताल विकास समितिको सदस्य भएको भन्दै उजुरी दिएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले महेशराज भट्टराईको अध्यक्षतामा कार्की, मुकेश बुढाथोकी र देवेन्द्र यादव सदस्य रहने गरी समिति गठन गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त समिति खारेज गरेको थियो । त्यसपछि समितिले दिएको रिटमा सर्वोच्च अदालतको अन्तरिम आदेशले उनीहरूको पुनर्बहाली भएको थियो ।

यादवले उजुरी दिएपछि कार्कीले अस्पतालका निमित्त प्रमुख डा. यज्ञराज खरेललाई मंगलबार राजीनामा बुझाएका हुन् । ‘विकास समिति गठन मन्त्रालयले गरेकाले त्यही दिन तोक लगाइदिएँ,’ खरेलले भने, ‘कार्की अहिलेसम्म अस्पताल विकास समितिमा कार्यरत हुनुहुन्छ ।’

उपमेयरका उम्मेदवार कार्कीले आफूले अध्यक्षलाई राजीनामा बुझाइसकेको दाबी गरिन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले उपप्रमुखका उम्मेदवारमाथि परेको उजुरीबारे छानबिन भइरहेको बताए ।

कान्तिपुर

Link copied successfully