मकवानपुर र रामेछापमा १२ उम्मेदवारविरुद्ध उजुरी

उजुरी परेका उम्मेदवारबारे आयोगले बिहीबार अपराह्नसम्म अन्तिम निर्णय गर्ने

वैशाख १५, २०७९

प्रताप विष्ट, टीकाप्रसाद भट्ट

हेटौंडा,रामेछाप — मकवानपुर र रामेछापका विभिन्न स्थानीय तहका उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन कार्यक्रम अनुसार दाबी विरोध दर्ता भएका विषयमा प्रमाण खोज्ने र छानबिन गरी बिहीबार अपराह्नसम्म निर्णय दिने निर्वाचन आयोगले जनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका मकवानपुरका १० स्थानीय तहमध्ये ३ स्थानीय तहका उम्मेदवारविरुद्ध उजुरी परेको छ । हेटौंडा उपमहानगरपालिका, मनहरी गाउँपालिकामा र बकैया गाउँपालिकामा गरी ६ जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

हेटौंडा–१९ मा नेपाल कम्युनिस्ट पार्टी एमालेका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका नरनाथ सुवेदीमाथि करछलीको उजुरी परेको छ । यस्तै, मनहरी गाउँपालिकामा उपाध्यक्ष र ३ नम्बर वडा अध्यक्षका उम्मेदवारविरुद्ध उजुरी परेको छ । उजुरी पर्नेमा नेकपा एकीकृत समाजवादीबाट गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेकी मनिला विष्ट छन् । उपाध्यक्षको उम्मेदवार विष्टलाई गाउँपालिकाभित्र बेरुजु र अख्यितियारको मुद्दा छानबिन गरी असुलउपर गर्नुपर्ने रकम बाँकी रहेको भन्दै उजुरी परेको हो । यस्तै, ३ नम्बर वडाका उम्मेदवार नेपाली कांग्रेसका अनन्तप्रसाद अर्यालमाथि विद्यालयको राजीनामा पत्र पेस गर्नुपर्ने मागसहित उजुरी परेको हो ।

त्यसैगरी, बकैया गाउँपालिकामा ३ जना उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ । उजुरी पर्नेमा नेपाली कांग्रेसका तर्फबाट उपाध्यक्षका उम्मेदवारी छावा अधिकारी र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका भक्तबहादुर खत्रीविरुद्ध उजुरी दर्ता भएको छ । ५ नम्बर वडाका नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारमा उजुरी दर्ता भएको र १६ गतेसम्म छानबिन हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

यसैगरी, रामेछापको स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दिएका विभिन्न दलका ६ जना उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी परेको छ । उजुरी परेका उम्मेदवारमा १ जना नगरप्रमुख ४ जना वडा अध्यक्ष र १ जना वडा सदस्य पदका उम्मेदवार छन् । 

रामेछाप नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका रत्न नेवारविरुद्ध माओवादी केन्द्रबाट उम्मेदवार भएका नरेशबाबु श्रेष्ठले दाबी विरोध गर्दै उनले नगरपालिकाभित्र ठेक्का गरेको उल्लेख छ । त्यसैगरी रामेछापकै ७ नम्बर वडामा नेपाली कांग्रेसबाट उम्मेदवार भएका समीर कार्कीविरुद्ध एमालेबाट उम्मेदावार भएका ध्रुव बस्नेतले दर्ता गरेको उजुरीमा ठेक्का लिएको धरौटी रकम बाँकी रहेको उल्लेख छ । 

खाँडादेवी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बनेका ज्ञानकुमार लामा र कांग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका शंकरदास श्रेष्ठविरुद्ध उपभोक्ता समितिमा बसेर हिसाब फरफारक नगरेको भन्दै एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका केशवकुमार प्रधानले उजुरी दर्ता गराएका छन् । 

रामेछाप नगरपालिका–१ मा एमालेबाट वडा सदस्यको उम्मेदवार बनेकी दिलकुमारी श्रेष्ठविरुद्ध महिला स्वास्थ्य स्वयंसेवकबाट राजीनामा नगरी उम्मेदवार बनेको भन्दै कांग्रेसकी उम्मेदवार सुकुमाया श्रेष्ठले दाबीविरोधको उजुरी दर्ता गराएकी हुन् । निर्वाचन कार्यक्रमअनुसार दाबी विरोध दर्ता भएका विषयमा प्रमाण खोज्ने र छानबिन गरी बिहीबार अपराह्नसम्म निर्णय दिनुपर्नेछ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

टीकाप्रसाद

Link copied successfully