करिब दुई दर्जन जिल्लामा मात्र ‘सेट’ मै तालमेल
काठमाडौँ — गठबन्धनका पाँच दलको मात्रै आवश्यक पद भन्दा दुइ गुना बढी उम्मेदवारी परेको छ । प्रमुख प्रतिपक्षी एमालेसँग भिड्न चुनावी मैदानमा उत्रिएको गठबन्धन आफैंभित्र प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा पुगेको छ । ७ सय ५३ पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला, दलित सदस्यसहित ३५ हजार २ सय २१ पदमध्ये गठबन्धनभित्रकै दलबाट प्रतिस्पर्धा गर्ने गरी ७४ हजार ७ सय २४ जनाको उम्मेदवारी परेको हो ।
सत्ता गठबन्धन दलबीच करिब दुई दर्जन जिल्लामा मात्र ‘सेट’ मै तालमेल भएकाले बाँकी जिल्लामा ती दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । गठबन्धनभित्रै आपसमा प्रतिस्पर्धा हुन थालेपछि संयन्त्रको बैठकले बुधबारसम्म तालमेल मिलाउन निर्देशन दिएको छ । संयन्त्रको बैठकपछि कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षर गरी गठबन्धनभित्रबाट मात्रै तालमेल गर्न निर्देशन दिएका हुन् । निर्देशन नमाने कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । ‘गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धनबाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने’ पाँच दलका प्रमुखहरूले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन आयोगबाट बुधबार अपराह्न प्राप्त तथ्यांकअनुसार सबै पालिकामा १ लाख ५१ हजार ७ सय ५६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयबाट विवरण अद्यावधिक भइरहेको आयोगले जनाएको छ । ७ सय ५३ प्रमुख र अध्यक्ष पदमा गठबन्धनबाट मात्रै १ हजार ८ सय ७९ जनाको उम्मेदवारी परेको छ । प्रमुख र अध्यक्ष पदमा कांग्रेसबाट ५ सय ७० जनाले उम्मेदवारी दिएका छन् । प्रमुख र अध्यक्षमा माओवादीबाट ४ सय ६४, जसपाबाट ३ सय ४७, नेकपा एकीकृत समाजवादीबाट ३ सय ३७, जनमोर्चाबाट ८५ पालिकामा उम्मेदवारी परेको छ । एमालेले भने ७ सय ३६ पालिकामा उम्मेदवारी दिएको छ । एमालेले भरतपुर महानगरमा राप्रपासँग तालमेल गरेको छ ।
प्रमुख र अध्यक्षमा जस्तै उपाध्यक्ष/उपप्रमुखमा पनि गठबन्धनको तालमेल न्यून देखिएको छ । ७ सय ५३ पदका लागि उपाध्यक्ष र उपप्रमुखमा गठबन्धनबाट १ हजार ७ सय ९३ उम्मेदवार छन् । कांग्रेसबाट ५ सय ७०, माओवादीबाट ५ सय २५, जसपाबाट २ सय ९३, नेकपा एकीकृत समाजवादीबाट ३ सय ५७ र जनमोर्चाबाट ४६ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा प्रायः सबै दलले उम्मेदवारी दिएको देखिन्छ । ६ हजार ७ सय ४३ वडामा गठबन्धनको उम्मेदवार २ गुनाभन्दा बढी छन् । आयोगका अनुसार वडाध्यक्षमा गठबन्धनका उम्मेदवार १५ हजार २ सय २९ जना छन् । जसमा कांग्रेसबाट मात्रै ६ हजार १ सय १६ जना छन् । माओवादीका ४ हजार ४ सय १२, जसपाका २ हजार ६२, समाजवादीका २ हजार ४ सय १५ र जनमोर्चाका २ सय २४ जनाले उम्मेदवारी दिएका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धनमा रहेका सबै दलले हरेक पालिकामा तालमेल नगरेको बताए । ‘कांग्रेसको संगठन व्यापक भएकाले वडा–वडामा आफ्नो उम्मेदवार उठाएको छ । अरू पार्टीको संगठन व्यापक छैन,’ उनले भने, ‘एमालेले जितेको ठाउँमा ०७४ मा कसको कति मतभार छ, त्यसकै आधारमा प्राथमिकता दिएर भागबन्डा गर्ने भनिएको थियो । गठबन्धन हुँदैमा सबै पद बाँड्ने भनेको होइन ।’
माओवादी नेता देव गुरुङले गठबन्धनले सहमतिमा उम्मेदवार टुंग्याउन नपाई उम्मेदवारी दिनुपरेकाले एउटै पालिकामा गठबन्धनमा रहेका सबै दलको उम्मेदवारी परेको बताए । महानगर र उपमहानगर केन्द्रले, गाउँपालिका र नगरपालिका प्रदेशले र वडाका उम्मेदवार जिल्लाले टुंग्याउने सहमति भएको थियो । तर केन्द्रबाट उम्मेदवार छनोट भइसक्दा पनि प्रदेश र जिल्लाबाट नहुँदा सबै
दलको उम्मेदवारी परेको उनले बताए । ‘१६ गतेसम्म नाम फिर्ता लिने समय छ, यो अवधिमा अधिकतम मिलाउने प्रयास हुन्छ,’ उनले भने, ‘गठबन्धन जरुरी भएको ठाउँमा गठबन्धन हुन्छ । जरुरी नभएको पालिकामा स्वेच्छामा छाड्ने कुरा भएको छ ।’
नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले आवश्यक पर्ने ठाउँमा मात्रै गठबन्धन गर्ने नीतिअनुसार गठबन्धनको उम्मेदवारी परेको बताए । ‘जहाँ गठबन्धन आवश्यक पर्दैन, त्यहाँ स्वतन्त्र प्रतिस्पर्धा गर्ने नीति लिएका थियौं,’ उनले भने, ‘गठबन्धन गर्ने भनिएको ठाउँमा पनि फरक पार्टीबाट उम्मेदवार दिएको छ भने फिर्ता लिन पहल गर्ने निर्णय भएको छ ।’ पार्टीले टिकट दिएर उठाएको ठाउँमा पार्टीले नै फिर्ता लिने र स्वतन्त्र उम्मेदवार दिएकाको हकमा फिर्ता लिन लगाउने गठबन्धनको निर्णय भएको उनले बताए ।
सबै पदमा स्वतन्त्र उम्मेदवार १२ हजार ६ सय ४६ जना छन् । यसमा पालिका प्रमुखमा १ हजार ३ सय ८५, अध्यक्षमा १ हजार २९ को उम्मेदवारी परेको छ । दलगत रूपमा हेर्ने हो भने सबैभन्दा बढी एमालेको उम्मेदवारी परेको छ । प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी सबै पदमा एमालेबाट ३३ हजार २ सय ५७ जनाको उम्मेदवारी परेको छ । एमालेबाट प्रमुख पदमा २ सय ६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै अध्यक्षमा ४ सय १८ पुरुष र २८ महिलाले उम्मेदवारी दिएका छन् । उपप्रमुखका २६ पुरुष र २ सय ५९ महिला तथा उपाध्यक्षमा ३५ पुरुष र ४ सय १० जना महिलाको उम्मेदवारी परेको छ । कांग्रेसबाट २ सय ५३ पुरुष र ११ महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । ३ सय ६३ जना पुरुष र १९ जना महिलाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै कांग्रेसबाट उपप्रमुखमा ३१ जना पुरुष र १ सय ८० महिलाले उम्मेदवारी दिँदा उपाध्यक्षमा ६७ पुरुष र २ सय ९२ महिलाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा कांग्रेसबाट ६ हजार ३६ जना पुरुष र ८० जना महिलाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट सबै पदमा गरी ३१ हजार २ सय २० जनाको उम्मेदवारी परेको छ । त्यस्तै, माओवादी केन्द्रबाट १ सय ५६ जना पुरुष र १८ जना महिलाले प्रमुख पदमा उमेदवारी दिएका छन् ।
