दिक्तेलमा मेयरका उम्मेदवार पोखरेलद्वारा उम्मेदवारी फिर्ता

भट्टराई कांग्रेसका आधिकारिक उम्मेदवार

वैशाख १४, २०७९

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका धर्मराज पोखरेलले उम्मेदवारी फिर्ता गरका छन् । कांग्रेसको तर्फबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि पोखरेलले फिर्ता लिएका हुन् ।

मेयर पदका लागि कांग्रेसले दुई जनालाई टिकट दिएको थियो । कांग्रेस महासमिति सदस्य धर्मराज पोखरेललाई प्रदेशले र जिल्ला उपसभापति तीर्थराज भट्टराईलाई केन्द्रले टिकट दिएपछि दुवै जनाको उम्मेदवारी दर्ता भएको थियो । 

आफू आधिकारिक उम्मेदवार भए पनि कांग्रेसलाई जिताउन उम्मेदवारी फिर्ता गरेको पोखरेलले बताएका छन् । १६ जना आकांक्षीमध्ये आफूले टिकट लिएको र केन्द्रको हस्तक्षेपले तीर्थराज भट्टराईले पनि त्यही पदका लागि टिकट लिएर उम्मेदवारी दर्ता गरेपछि लामो समयसम्मको छलफलपछि आफूले फिर्ता लिएको पोखरेलले बताए । 

‘आधिकारिक रुपमा मैले टिकट लिएको हो,’पोखरेलले भने ‘तर कांग्रेस जिताउन मैले फिर्ता गरेको छु ।’ कांग्रेस प्रदेश सभापति उद्धव थापाको हस्ताक्षरको टिकट पाएपछि मनोनय दर्ता गर्न सोमबार हेलिकोप्टरमा आएका पोखरेललाई आफ्नै कार्यकर्ताले हातपातसमेत गरेका थिए ।

हातपातपछि प्रहरीको सहयोगमा कांग्रेस कार्यालयमा झण्डै दुई घण्टा बिताएका पोखरेल मनोनयन दर्ता गराउन जिल्ला अदालतस्थित मुख्य निर्वाचन कार्यालय पुग्दा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरको टिकटले खोटाङ कांग्रेस उपसभापति तीर्थराज भट्टराईले मेयर पदमा उम्मेदवारी दिइसकेका थिए ।

पोखरेलसँगै हलेसी तुवाचुङ नगरपालिकाको मेयर पदमा मनोनयन गर्न कांग्रेस प्रदेश सदस्य विमला राई पनि आएकी थिइन् । पोखरेललाई दिक्तेलमा छाडेर उनी हेलिकप्टर चढेर मनोनयन दर्ता गराउन दुर्छिमस्थित निर्वाचन कार्यालय पुगेकी थिइन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully