मनाङको नार्पाभूमि गाउँपालिका दलित महिला सदस्यबिहीन

मनाङमा दलित महिला सदस्य पाउनै मुस्किल

वैशाख १४, २०७९

आश गुरुङ

लमजुङ — संविधानले स्थानीय तहको वडामा १ जना दलित महिला सदस्यलाई अनिवार्य निर्वाचित गराउनुपर्ने प्रावधान राखेको छ ।

तर हिमाली जिल्ला मनाङमा भने दलित महिला सदस्य पाउनै मुस्किल परेको छ । हरेक पार्टीले दलित महिला सदस्य खोज्दा पनि उम्मेदवार बन्न तयार दलित महिला नेत्री तयार देखिएका छैनन् ।

उम्मेदवार नपाएपछि सिंगो मनाङको ४ वटा गाउँपालिकामा १३ वटा वडा दलित महिला वडा सदस्य बीहिन बन्ने निश्चित भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले बताए ।

मनाङमा २८ वटा वडा छन् । ५ वटा वडा रहेको नार्पाभूमि गाउँपालिकामा एमाले, कांग्रेस, स्वतन्त्रलगायत कुनै राजनीतिक दल र व्यक्तिले दलित महिला सदस्य पाएनन् । ‘हामीले अथक प्रयास गरेका हौं । नार्पाभूमिमा स्थायी रुपमा बसोबास गर्ने दलित समुदाय नै छैन’ नेकपा एमाले प्रदेश कमिटी सदस्य त्रिपल पी गुरुङले भने ।

जिल्ला निर्वाचन कार्यालय मनाङका नायव सुब्बा रामु अधिकारीका अनुसार ९ वटा वडा रहेको मनाङ ङिस्याङ गाउँपालिका वडा नं. १, २, ७ र ८ गरी ४ वटा वडामा दलित महिला वडा सदस्यको उम्मेदवारी परेको छैन ।

वडा नं. २ मा कांग्रेसका फूलमाया बिक, ४ मा एमालेका पूर्णकुमारी बिक र ९ मा स्वतन्त्रका सुस्मिता सिन्च्यौरीको एकल उम्मेदवारी परेको छ । वडा नं. ५ मा एमालेका ठूली बिक र कांग्रेसका मनकुमारी बिकको उम्मेदवारी परेको छ । वडा नं. ६ मा एमालेका अरुणा बिक र कांग्रेसका छोरङ्मा बिकको उम्मेदवारी परेको छ ।

नासों गाउँपालिका २, ३, ६ र ७ मा दलित महिला सदस्यको उम्मेदवारी परेको छैन । वडा नं. ४ मा कांग्रेसका राधा बिक र वडा नं. ५ मा एमालेका फूलमाया बिकको एकल उम्मेदवारी परेको छ । वडा नं. १ मा एमालेका सन्तकुमारी दमै र कांग्रेसका गृष्मा बिकको उम्मेदवारी परेको छ । वडा नं. ८ मा कांग्रेसका दूधमाया बिक र स्वतन्त्रका बिश्री नेपालीको उम्मेदवारी परेको छ । वडा नं. ९ मा एमालेका पार्वती परियार र माओवादी केन्द्रका कल्पना परियारको उम्मेदवारी परेको छ ।

सदरमुकाम रहेको चामे गाउँपालिका १ मा एमालेका अनिता बिक, २ मा कांग्रेसका नविना बिक र ५ मा एमालेका विष्णुमाया कामीको एकल उम्मेदवारी परेको छ । वडा नं. ३ मा एमालेका लक्ष्मी बिक र स्वतन्त्रका चमेली परियारको उम्मेदवारी परेको छ । वडा नं. ४ मा एमालेका राममाया परियार र कांग्रेसका सुकमाया बिकको उम्मेदवारी परेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully