नवलपरासी — हुप्सेकोट गाउँपालिकाका कांग्रेस सभापति बलबहादुर रानाले आफनै पार्टीकी उम्मेदवारविरुद्ध अध्यक्षमा दर्ता गराएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।
कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेका अनुसार गाउँपालिका अध्यक्षमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन गराएका गाउँपालिका कार्यसमितिका सभापति रानाले मनोनयन फिर्ता लिन सहमति जनाएका हुन् । उनले त्यहाँ पार्टीले उठाएकी लक्ष्मी पाण्डेविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, संघीय सांसद सत्यनारायण खनाल र जिल्लाका कांग्रेसको शीर्ष नेता रानालाई फकाउन आएका थिए । ‘सबैको आग्रहअनुसार उम्मेदवारी फिर्ता लिन प्रतिबद्ध छु,’ रानाले भने ।
गाउँपालिका कार्यसमितिको सिफारिसविपरीत जिल्लाले पहिला अध्यक्ष भइसकेकी व्यक्तिलाई टिकट दिएकोमा आफ्नो असन्तुष्टि रहेको उनले बताए ।
‘अब फिर्ता लिएर लक्ष्मी पाण्डेलाई नै जिताउन लाग्छु,’ रानाले भने । लक्ष्मी पाण्डे यसअघि पनि हुप्सेकोटकी निर्वाचित अध्यक्ष हुन् । उनलाई अध्यक्ष दिएर रानालाई उपाध्यक्षको टिकट दिइएकोमा रानाले असन्तुष्टि जनाउँदै अध्यक्षमै उम्मेदवारी दिएका थिए ।
