१२ पालिकाका प्रमुख र अध्यक्षमा ९६ उम्मेदवार, उपप्रमुख र उपाध्यक्षमा ६९
सिन्धुपाल्चोक — स्थानीय तह निर्वाचनका लागि सिन्धुपाल्चोकमा स्वतन्त्रसहित विभिन्न दलका गरी दुई हजार एक सय १४ उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
जिल्लाभर तीन नगर र नौ गाउँपालिकामा अध्यक्ष/प्रमुखमा मात्रै ९६ जनाले उम्मेदवारी दिएका छन् । उपप्रमुख/उपाध्यक्षमा ६९ जना मात्रै उम्मेदवार देखिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाभरको एक सय तीन वडामा चार सय ८४ वडाध्यक्ष, दुई सय ६ खुला सदस्य, सात सय ७४ महिला सदस्य, तीन सय ६४ दलित महिला सदस्यले उम्मेदवारी दिएका छन् ।
यस्तै बलेफी गाउँपालिका अध्यक्षमा सबैभन्दा बढी १४ जनाको उम्मेदवारी परेको छ, जुगल र इन्द्रावती गाउँपालिका अध्यक्षमा पाँच/पाँच जनाले उम्मेदवारी दिएका छन् ।
सबै पदमा गरी इन्द्रावती गाउँपालिकामा सबैभन्दा बढी दुई सय ५७ को उम्मेदवारी परेकोमा मेलम्ची नगरमा दुई सय ४७, चौतारा साँगा चोकगढी नगरमा दुई सय ४१ ले मनोनयन दर्ता गरेका छन् ।
सबैभन्दा कम हेलम्बु गाउँपालिकामा एक सय १४ ले उम्मेदवारी दर्ता गराएका छन् । सबै तहमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपासहित २५ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
