जुम्लाका तीन पालिकामा कांग्रेसका बागी उम्मेदवार

वैशाख १४, २०७९

डीबी बुढा

जुम्ला — स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्डप्रति असन्तुष्टि जनाउँदै तीन पालिकामा कांग्रेसका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

जिल्लाको एक नगरपालिकासहित दुई गाउँपालिकामा कांग्रेसका नेताले पार्टीको गठबन्धनविरुद्ध नै उम्मेदवारी दिएका हुन् ।

चन्दननाथ नगरपालिकामा महाधिवेशन प्रतिनिधि राजुसिंह कठायत र विष्णुबहादुर शाहीले नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै रेणु शाहीले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । रेणु महाधिवेशन प्रतिनिधि विष्णुबहादुर शाहीकी बुहारी पनि हुन् । स्वतन्त्रमा ससूराले नगरप्रमुख र बुहारीले उपप्रमुखमा उम्मेदवारी दिएका हुन्।

कांग्रेसले नगरपालिकामा अधिवक्ता पदमबहादुर शाहीलाई प्रमुख, रामुदेवी खड्कालाई उपप्रमुखको टिकट दिएपछि असन्तुष्ट हुँदै उनीहरूले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यस्तै तिला गाउँपालिकाको उपाध्यक्षमा नन्दबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनी कांग्रेसको सक्रिय सदस्य हुन् । तिलामै कांग्रेसले सुश्मा श्रेष्ठलाई आधिकारिक उम्मेदवारको रुपमा उम्मेदवार बनाएको छ । अध्यक्षमा भने एकराज चौलागाईँ कांग्रेसका आधिकारिक उम्मेदवार हुन् ।

कनकासुन्दरी गाउँपालिकामा पनि प्रदेश क्षेत्र (ख)का सभापति कालीबहादुर बुढाले कांग्रेसकै उम्मेदवार विरुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । पार्टीले दामोदर आचार्यलाई अध्यक्षको टिकट दिएको थियो ।

उपाध्यक्षमा प्रेमकली बुढाले टिकट पाएकी छन् । नेपाली कांग्रेस कर्णाली प्रदेश समिति सदस्य तथा प्रदेश अनुशासन आयोगका संयोजक गौरीनन्द आचार्यले टिकट वितरण प्रक्रियामा पार्टीभित्र चर्को असन्तुष्टि देखिएको बताए । उनले भने,‘धेरै समय सत्ता गठबन्धन दलबीचको तालमेल गर्ने भन्दै बित्यो । तालमेल गर्दा सहजै जित्ने हिसाबले धेरैले टिकटको आशा गरे । आकांक्षी धेरै भए । एकाएक एक्लाएक्लै निर्वाचनमा जाने निर्णय भएपछि टिकटमा व्यवस्थापन गर्न असहज बन्यो । त्यसैको परिणाम कांग्रेसले बागी उम्मेदवारको सामाना गर्नुपर्ने स्थिति आइपुग्यो ।’

चन्दननाथ नगरपालिकामा भने कठायतले कांग्रेस परित्याग गरेको घोषणासमेत गरिसकेका छन् । यद्यपि स्वतन्त्र उम्मेदवारी फिर्ता गराउने विषयमा कांग्रेसभित्र छलफल चलिरहेको बताइएको छ ।

स्थानीय तह निर्वाचन २०७९

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully