अब ‘मेयर साप’ बन्‍न पाइन्‍न : महामन्त्री थापा

स्थानीय तहमा अहिले ‘मेयर साप’ चाहिएको होइन, जनताको सेवक चाहिएको हो

वैशाख १४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसले जारी गरेको संकल्प पत्र कार्यान्वयन गराएर छाड्ने प्रतिवद्धता जनाएका छन् । उनले पार्टीको विधान, विधि र घोषणापत्र भन्दा बाहिर गएर कांग्रेसबाट निर्वाचित कोही पनि नेता कार्यकर्ताले काम गर्न नसक्ने बताए ।

काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले घोषणा पत्र आफ्नै संयोजकत्वमा लेखिएको भन्दै घोषणापत्रमा लेखिएका कुराहरू फगत् गफमात्रै नभएको दाबी गरे ।

‘हामीले संकल्प पत्रमा हावा कुरा, नचाहिने कुरा गरेका छैनौँ । संकल्प पत्रमा लेखिएको कुरा गफ होइन । हामीले धेरै मेहिनेत गरेर लेखेका छौँ । यो संकल्प पत्र लिएर जनताको माझमा गएर जसले चुनाव जितेर आउनुहुन्छ, त्यसपछि हामी सबै साथीहरूलाई काठमाडौं बोलाएर वर्कसपमा सहभागी गराउँछौँ,’ महामन्त्री थापाले भने, ‘कांग्रेसबाट जितेको जनप्रतिनिधिले यो संकल्प पत्रको कार्यान्वयन नगरेर उपाय नै छैन । अब पहिलेको जस्तो मेयर साप भएँ भनेर हिँड्न पाइन्न । कांग्रेसको संकल्प छ, अब जनप्रतिनिधिले शासन गर्ने होइन, सेवा गर्ने हो ।’

उनले कांग्रेसले कोही पनि जनप्रतिनिधिले नातागोता आफन्तलाई सल्लाहकार र सहयोगीकोरुपमा नियुक्त गरेर राज्यको श्रोत साधनको दोहन गर्न नमिल्ने बताए । ‘स्थानीय तहमा भ्रष्टाचारका ठूलठूला काण्डहरू भएको हामीले पाएका छौँ । अब कांग्रेसबाट जितेको जनप्रतिनिधिको हिसाब किताब हुन्छ, कसैले पनि जनतालाई अन्याय हुने काम गर्छ भने त्यसको पार्टीले मूल्यांकन गर्छ,’ उनले भने, ‘योजना नबनाइकन एक रुपैयाँ खर्च गर्न पाइन्नँ ।’ 

महामन्त्री थापाले कांग्रेसले स्थानीय सरकारलाई बलियो बनाउन चाहेको बताए । ‘स्थानीय सरकार बलियो हुँदा जनता बलियो हुन्छन् । स्थानीय तहमा अहिले ‘मेयर साप’ चाहिएको होइन, जनताको सेवक चाहिएको हो,’ उनले भने । 

महामन्त्री थापाले कांग्रेसको घोषणापत्रका विषयमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले जथाभावी टिप्पणी गरेको भन्दै ओलीबाट त्योभन्दा अर्को कुनै अपेक्षा पनि नरहेको टिप्पणी गरे । ‘जसको मुखमा अंगार भरिएको छ, उसले ओकल्ने कालै हो । यो त कुनै नयाँ कुरा पनि होइन,’ उनले भने, ‘केपी ओलीले झुट बोल्नुहुन्छ । कोही आँट भएको मान्छेले आएर तपाईँ गलत हुनुहुन्छ भन्यो भने उहाँले सबैभन्दा पहिले गाली गर्ने भनेकै ‘पागल’ भनेर हो ।’

उनले केपी ओलीले के भने भन्दा पनि अबको पुस्ताले आफूलाई कस्तो सरकार चाहिन्छ भनेर सोच्नुपर्ने बेला रहेको बताए । 

स्थानीय तह निर्वाचन २०७९

कान्तिपुर

Link copied successfully