मोरङ — विराटनगर महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरका उम्मेदवार शिल्पा निरौला कार्कीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा उजुरी परेको छ ।
जनता समाजवादी पार्टीबाट महानगरको उपमेयरमा उम्मेदवारी दिएका अमरेन्द्र यादवले कार्की कोसी अस्पताल विकास समितिको सदस्य भएको भन्दै उजुरी दिएका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले महेशराज भट्टराईको अध्यक्षतामा शिल्पा निरौला कार्की, मुकेश बुढाथोकी र देवेन्द्र यादव सदस्य रहने गरी कोसी अस्पताल विकास समिति गठन गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उक्त समिति खारेज गरेको थियो । त्यसपछि समितिले दिएको रिटमा सर्वोच्च अदालतले २०७८ फागुन १८ गते नेपाल सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिएपछि उनीहरुको पुनर्वहाली भएको थियो ।
यादवले उजुरी दिएपछि कार्कीले कोसी अस्पतालका निमित प्रमुख डा. यज्ञराज खरेललाई मंगलबार राजीनामा बुझाएका हुन् । ‘विकास समिति गठन मन्त्रालयले गरेकाले राजीनामा मन्त्रालयमा नै दिनु पर्ने हो त्यसैले त्यही दिनु भनि तोक लगाइदिएँ,’ खरेलले भने, ‘कार्की अहिलेसम्म अस्पताल विकास समितिमा कार्यरत हुनुहुन्छ ।’
उपमेयरका उम्मेदवार कार्कीलाई पटक पटक सम्पर्क गर्दा यो विषयमा बोल्न चाहेनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले उपमेयरका उम्मेदवार कार्कीमाथि परेको उजुरीमाथि छानबिन भइरहेको बताए ।
