धनकुटा — धनकुटाको पाख्रीबास नगरपालिकाका मेयर बिर्खबहादुर राईले एमाले परित्याग गरेको घोषणा गरेका छन् । राईले फेसबुकमार्फत आफू पार्टीमा नरहने उल्लेख गरेका हुन् ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित मेयर राईले फेसबुकमा लेखेका छन्, ‘मैले आजदेखि पार्टीमा नरहने घोषणा गरेँ, दु:ख त लागेकै छ...।’
उनले आफूले पार्टी परित्याग गर्नुको कारण भने स्पष्ट खुलाएका छैनन् । टेलिफोनमा उनले स्वतन्त्र बस्न मन लागेर यस्तो निर्णय गरेको बताए । स्रोतका अनुसार राई पुन: मेयरमा आकांक्षी थिए । तर, पार्टीले टिकट नदिएपछि उनी असन्तुष्ट थिए ।
१० वटा वडा रहेको पाख्रीबास नगरपालिकाकामा यसअघि मेयर राईको नेतृत्वमा सबै पदमा एमालेले जित हात पारेको थियो । नेकपा एमालेले पाख्रीबासमा भीमबहादुर राईलाई मेयर र उपमेयरमा नम्रता देउजालाई उम्मेदवार बनाएको छ । राईको परित्यागबारे नेकपा पार्टीमा आधिकारिक जानकारी नआएको एमाले जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले जानकारी दिए ।
