लमजुङको क्व्होलासोथार ३ को दलित महिला सदस्यमा एमालेको एकल उम्मेदवारी

वैशाख १४, २०७९

आश गुरुङ

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका-३ मा नेकपा एमालेकातर्फबाट दलित महिला सदस्यमा एकल उम्मेदवारी दिएको छ ।

उक्त वडामा दलित महिला सदस्यमा अरु राजनीतिक दल तथा स्वतन्त्रले उम्मेदवारी नदिएपछि क्व्होलासोथार-३ घलेगाउँकी पार्वती सुनार बिकको एकल उम्मेदवारी परेको हो ।

क्व्होलासोथारस्थित निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत त्रिलोकचन्द्र गुरुङका अनुसार नेकपा एमालेबाट वडा नम्बर ३ को दलित महिला सदस्यमा उम्मेदवारी परेको र अन्य कुनै राजनीतिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी नपरेको बताए ।

क्व्होलासोथार गाउँपालिका-३ को वडाअध्यक्षमा नेकपा एमालेबाट अध्यक्षमा आसवीर गुरुङ, वडा सदस्य खुलामा बिनप्रसाद घले र भोजबहादुर घले, महिला सदस्यमा शान्ति गुरुङ र दलित महिला सदस्यमा पार्वती सुनार बिकले उम्मेदवारी दिएका थिए ।

स्थानीय तह निर्वाचन २०७९

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully