पूर्वी नवलपरासीका ६ पालिका प्रमुखमा पुरानै उम्मेदवार

वैशाख १४, २०७९

नारायण शर्मा

पूर्वी नवलपरासी — यहाँ अघिल्लो पटक विजयी उम्मेदवारलाई मुख्य दुई दलले दोस्रो पटक पनि उम्मेदवार बनाएका छन् । जिल्लाका ८ वटा पालिकामध्ये ६ वटाको मुख्य पदमा कांग्रेस र एमालेबाट पुरानै अनुहार दोहोरिएका छन् ।

कांग्रेसले यहाँको बुलिंटार,हुक्सेकोट, बौदीकाली गाउँपालिकाको अध्यक्षमा यसअघिका निर्वाचित अध्यक्षहरूलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाएको हो । एमालेले गैंडाकोट र देबचुली नगरपालिकाका मेयर र उपमेयरमा पुरानै अनुहार ल्याएको छ । 

कांग्रेसले बुलिंटारमा शशिकिरण बस्ताकोटी, हुप्सेकोटमा लक्ष्मी पाण्डे, बिनयी त्रिवेणी गाउँपालिकामा डम्बर जिसीलाई अध्यक्षमा दोस्रो पटकका लागि उम्मेदवार बनाएको छ । त्यहाँ यस अघिका उपाध्यक्षलाई भने उम्मेदवार बनाएको छैन । 

त्यसैगरी कावासोतीमा कांग्रेसबाट यसअघि मेयरमा पराजित महेन्द्र पोख्रेललाई उम्मेदवार बनाएको छ । त्यसैगरि देबचुलीमा पनि एमालेबाट गत निर्वाचनमा मेयरमा पारजित उम्मेदवार हरी न्यौपाने र पार्वता तिवारीलाई उपमेयरमा उम्मेदवार बनाएको छ । तिवारी विजयी भएकी थिइन् भने न्यौपाने झिनो मतान्तरले पराजित भएका थिए । त्यसैगरी गैंडाकोट नगरपालिकामा पनि एमालेले यसअघि निर्वाचित मेयर छत्र पौडेललाई नै फेरी उम्मेदवार बनाएको छ । 

२ दिनअघि एमालेबाट मेयरको टिकट पाएका बामपन्थी नेता यमनाथ आचार्यलाई फालेर सोमबार फेरी छत्र पौडेललाई नै मेयरको उम्मेदवार बनाएको हो । उपमेयर वा गाउँपालिका उपाध्यक्षमा भने दुवै दलले पुराना उम्मेदवारलाई स्थान दिएका छैनन् । 

स्थानीय तह निर्वाचन २०७९

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully