कचनकवलका कांग्रेस उम्मेदवारविरुद्ध उजुरी

वैशाख १४, २०७९

पर्वत पोर्तेल

झापा — झापाको कचनकवल गाउँपालिकाका अध्यक्ष उम्मेदवार कांग्रेस नेता कालेन्द्रप्रसाद राजवंशीविरुद्ध उजुरी परेको छ । राप्रपाका अध्यक्ष उम्मेदवार अन्जार आलमले राजवंशीविरुद्ध आर्थिक हिनामिनाको उजुरी दिएको निर्वाचन अधिकृतको कार्यालय कचनकवलले जनाएको छ । 

उजुरी अनुसार २०७४ अघि तत्कालीन बुद्ध निमावि (हाल मावि) को प्रधानाध्यापक रहेका बेला विभिन्न योजना सञ्चालनका क्रममा आर्थिक बेरुजु भएको र हालसम्म बेरुजु फर्छ्यौट नगरेको र आर्थिक हिनामिना गरेको उल्लेख छ । 

निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले राजवंशीविरुद्ध उजुरी परेको र मंगलबार सूचना प्रकाशित गरिएको जनाए । उनले स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ४३ मा उजुरी दिने र दफा ४४ मा सफाइको व्यवस्था रहेकाले वुधबार १ बजेभित्र राजवंशीलाई आरोपबारे स्पष्टीकरणको पत्र दिइने जनाए । बस्नेतले भने,‘त्यसपछि छानबिन गरेर भोलिसम्ममा निर्णयमा पुग्नेछौँ ।’ 

कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस–एमालेले तालमेल गरेका छन् । जसमा राजवंशीले अध्यक्ष र  एमालेका नवराज भट्टराईले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । राजवंशी २०७४ को चुनावमा राप्रपाका अञ्जार आलमसँग पराजित भएका थिए ।  

राप्रपाबाट अध्यक्षमा आलम र उपाध्यक्षमा निमसरी राजवंशीले पुन: उम्मेदवारी दिएका छन् । 

स्थानीय तह निर्वाचन २०७९

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully