काठमाडौँ — स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले सात वटै प्रदेशसँग सम्पर्क, समन्वय र परिचालनका लागि प्रदेश डेस्क सञ्चालन गरेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सात प्रदेशका लागि अलग–अलग डेस्क सञ्चालनमा ल्याएको हो ।
केन्द्रीय निर्वाचन परिचालन समितिले महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा सातै प्रदेशमा निर्वाचन परिचालनका लागि प्रदेश डेस्न सञ्चालन गरेको छ । प्रदेश डेस्कको संयोजन भने सहमहामन्त्रीहरूले गरेका छन् ।
सात प्रदेशको संयोजनका लागि एक–एक जना सहमहामन्त्रीहरूलाई जिम्मेवारी दिइएको छ । प्रदेश १ का लागि सहमहामन्त्री जीवन परियार, मधेश प्रदेशका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बे, वाग्मती प्रदेशका लागि सहमहामन्त्री फरमुल्लाह मंसुर, गण्डकी प्रदेशका लागि सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, लुम्बिनी प्रदेशका लागि सहमहामन्त्री महेन्द्र यादव, कर्णाली प्रदेशका लागि सहमहामन्त्री बद्री पाण्डे र सुदूरपश्चिम प्रदेशका लागि सहमहामन्त्री किशोरसिंह राठौरलाई जिम्मेवारी दिइएको छ । प्रदेश डेस्कमा एक–एक केन्द्रीय सदस्य र एक–एक जना कार्यालय सचिवसमेत छन् ।
प्रदेश डेस्कले प्रदेशभित्रका सबै जिल्ला र स्थानीय तहमा पार्टीको चुनाव परिचालनकालागि भइरहेका गतिविधिबारे सूचना संकलन गर्ने, समस्याहरूको पहिचान गर्ने र रिपोर्टिङ गर्ने तथा परिचालन समितिमार्फत ती समस्याको सम्बोधन गर्ने काम भइरहेको छ ।
सातै प्रदेश डेस्कको संयोजक गरिरहेका महामन्त्री शर्माले प्रदेश डेस्क स्थापना भएपछि हरेक दिन बिहानैदेखि पार्टीको चुनावी परिचालनका कामहरू भइरहेको बताए । ‘प्रदेश डेस्कमार्फत् सातै प्रदेशको संयोजन भएको छ । हामी कोही न कोही बिहानैदेखि काम डेस्कमा खटिन्छौँ, दिनभरि देशभरिको अवस्था, समस्याबारे सूचना संकलन भएपछि हरेक दिन बेलुका ६ बजेपछि समीक्षा बैठक हुन्छ,’ महामन्त्री शर्माले भने, ‘त्यसपछि समाधानका लागि परिचालन समितिबाट विभिन्न ढंगले प्रयास गरिन्छ ।’
उनका अनुसार अहिले देशभरि पार्टीका तर्फबाट उम्मेदवारीको अवस्था, बागी र स्वतन्त्र उम्मेदवारी, गठबन्धनको अवस्था जस्ता विषयमा सूचना संकलन गर्ने र विशेष गरी समस्याहरूको समाधान गर्ने काम भइरहेको छ ।
अहिले प्रदेश डेस्कहरूले देशभरि कहाँ कति जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भनेर तथ्यांक संकलन गरिरहेको छ । ‘देशभर कहाँ कस्ता समस्या देखिएका छन् ? तालमेल भयो वा भएनँ ? कहाँ स्वतन्त्र उम्मेदवारी पर्यो ? वा अरु कस्ता समस्या छन् ? भनेर डेस्कमार्फत् सूचना संकलन भइरहेको छ,’ महामन्त्री शर्माले भने, ‘त्यसबारे दिनभर रिपोर्टिङ हुन्छ । बेलुका हामी बसेर समीक्षा गर्छौ । र कहाँबाट कसले कुन तहबाट सम्बोधन गर्दा त्यस्ता समस्याहरूको समाधान हुन्छ, त्यो पनि पहल गर्छौ ।’
सहमहामन्त्री जीवन परियारले प्रदेश डेस्कमार्फत देशभरिको अवस्थाबारे अपडेट लिने र कुनै समस्या भए तिनको समाधानका लागि पहल गर्ने काम भइरहेको बताए । ‘हामीले टेलिफोन, मोवाइल र सामाजिक सञ्जालमार्फत् सूचना र जानकारीहरू संकलन गरेका छौँ, त्यसरी प्राप्त हुने सूचनाहरूलाई व्यवस्थित गर्ने र समस्याहरू भए तिनको समाधान गर्ने काम गरिरहेका छौँ,’ उनले भने ।
नेताहरूका अनुसार अहिलेसम्म देशभर कांग्रेसबाट करिब दुई सयको हाराहारीमा बागी उम्मेदवारी परेको छ । त्यसबारे छलफल गर्न र समाधानकालागि पलह गर्न मंगलबार उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा परिचालन समितिको बैठक बसेको थियो । बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र शर्मासहित सहमहामन्त्रीहरू र केन्द्रीय सदस्यहरू समेत सहभागी थिए ।
‘हामी दिनहुँजसो बैठक र छलफलमा छौँ, पार्टीका तर्फबाट उम्मेदवारीको अवस्था, समस्या र चुनाव परिचालनका गतिविधिबारे देशभरिको समन्वय र परिचालन गर्नुपर्ने अवस्था छ, त्यसकालागि पनि प्रदेश डेस्कहरूमार्फत सक्रिय भएर लागेका छौँ,’ सहमहामन्त्री परियारले भने ।
