उम्मेदवारी फिर्ता गर्दै बागी उम्मेदवार
धनगढी — कैलालीको लम्की चुहा र घोडाघोडी नगरपालिकामा नेपाली कांग्रेसबाट दुई/दुई जनाबाट परेको उम्मेदवारीको आधिकारिता विवाद टुंगिएको छ ।
सत्ता गठबन्धन दलहरूको तर्फबाट लम्की चुहाको मेयरमा कांग्रेसले उम्मेदवार उठाउने सहमति भएको थियो । कांग्रेसको प्रदेश समितिका सभापति वीरबहादुर बलायरको हस्ताक्षर भएको टिकटको अधारमा भक्त बहादुर थापाले र केन्द्रीय सभापति शेरबहादुर देउवाको हस्ताक्षर भएको टिकटबाट सुशीला शाहीले नगरपालिको मेयर पदमा उम्मेदवारी दिएका थिए ।
त्यस्तै घोडाघोडीको उपमेयरमा रिता चौधरीले प्रदेशबाट टिकट पाएर उम्मेदवारी दर्ता गराएकी थिइन् । पार्टी सभापति देउवाबाट पाएको टिकटका अधारमा गोलिया देवी चौधरीले घोडाघोडीको उपम मेयर उम्मेदवारी दर्ता गराएकी थिइन् ।
नेपाली कांग्रेस कैलालीभित्र मंगलबार दिनभर दुईमध्ये कसलाई आधिकारिक मान्ने भन्ने विषयमा रस्साकस्सी चलेको थियो । बुधबार दिउँसो मात्रै प्रदेश, जिल्ला र केन्द्र बीच समन्वय गरेर केन्द्रले पठाएका टिकटका उम्मेदवारलाई नै आधिकारिक घोषणा गर्ने सहमति भएको प्रदेश समितिका कोषाध्यक्ष उत्तम कठायतले जानकारी दिए ।
उनका अनुसार लम्की चुहाका मयेरका उम्मेदवार थापाको प्रदेशको टिकट रद्द गर्दै सुशीला शाहीलाई आधिकारिक उम्मेदवार बनाएको छ । त्यस्तै घोडाघोडीमा रिता चौधरीको टिकट रद्द गर्दै गोलिया देवीलाई उपमेयरको आधिकारिक उम्मेदवार घोषणा गरेको कठायतले जानकारी दिए ।
दलको उम्मेदवार दर्ता सम्बन्धी निर्वाचन नियमावली अनुसार निर्वाचन कार्यालयलाई कांग्रेसबाट आधिकारिक उम्मेदवारको पत्र पठाएर दोस्रोको रद्द गर्ने प्रक्रिया सुरु गरेको उनले बताए ।
कांग्रेसभित्रबाट दुई जनाको उम्मेदवारी परेपछि माओवादीबाट पनि लोकराज ढकाल र धिरेन्द्र रावलले पनि मेयर पदमा उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीबाट बखत बहादुर बिष्टले उम्मेदवारी दिएका थिए । घोडाघोडीको उपमेयर पदमा कांग्रेसका दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
कांग्रेसले आफ्नो एक मात्र उम्मेदवारलाई बुधबार आधिकारिक घोषण गरेपछि जिल्ला गठबन्धनका समाजवादी र माओवादीबाट परेका उम्मेदवारहरुले पनि आफ्नो उम्मेदवारी फिर्ता गर्ने भएका छन् ।
