२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भरतपुरका बागीलाई देउवा र दाहालको दबाब

भरतपुर महानगरमा माओवादीले नजिते गठबन्धनको निरन्तरतामा धक्का पुग्न सक्ने भय, देउवा र दाहालको आग्रह नमानेपछि बागी उम्मेदवारलाई फकाउन चितवन पुगे गृहमन्त्री
रमेशकुमार पौडेल

चितवन — सत्ता गठबन्धनको तालमेलको केन्द्रबिन्दु भरतपुर महानगरपालिकाका कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन ठूलो दबाब परेको छ । नगर प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका चितवन कांग्रेसका पुराना नेता पौडेललाई उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल मात्रै होइन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेतले फोन गरेर दबाब दिएका छन् ।

भरतपुरका बागीलाई देउवा र दाहालको दबाब

गठबन्धनका शीर्ष नेताको दबाब नमानेपछि देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई दूत बनाएर भरतपुर पठाए । जिल्ला तहका नेताले भेटेर कुरा गर्दा नमानेका पौडेललाई पार्टी सभापति देउवाले काठमाडौं बोलाएका थिए । ‘सभापतिज्यूले बोलाउनुभएको थियो तर म आउन नसक्ने जानकारी उहाँलाई दिएँ,’ पौडेलले भने । माओवादी अध्यक्ष दाहाल मंगलबार बिहान केही समयका लागि भरतपुर आएका थिए । पौडेललाई नभेटी काठमाडौं फर्केका उनले बुधबार टेलिफोनमा कुरा गरे । ‘म छोटो समयका लागि आएको हुँदा भेट्न सकिनँ, त्यसैले आज फोन गरेको हुँ, उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सहयोग गर्नुस् भन्नुभयो,’ पौडेलले दाहालसँगको वार्ताबारे बताए ।

दाहालसँग पौडेलले आफूले चुनाव लड्नैका लागि उम्मेदवारी दिएको स्पष्ट रूपमा भनेको बताए । कांग्रेसका पुराना नेता भीमबहादुर श्रेष्ठ माओवादीले अहिले प्रमुख पद छाड्नुपर्ने अडानमा छन् । त्यो अडानबाट पछाडि नहट्न उनले पौडेललाई खबरदारी गरिरहेका छन् । ‘अघिल्लो पटक रेनु दाहाललाई कांग्रेसले सघाएको हुँदा यस पटक सघाउन नसकिने भीमबहादुरजीको अडान छ, मैले पनि प्रचण्डलाई त्यही भनें,’ उनले भने, ‘फिर्ता जगन्नाथले मात्रै होइन, अरूले पनि लिए हुन्छ । अब अरू कुनै चुनाव लड्ने मेरो चाहना छैन । रेनुको त योभन्दा अरू–अरू चुनाव लडेर अगाडि बढ्ने सम्भावना छ नि ।’

दाहालले पौडेलसँग गठबन्धनको पक्षमा वातावरण बनाइदिन आग्रह गर्दा उनले समाधानको उपाय ‘तपाईंसँगै भएको’ जवाफ फर्काएका छन् । बुधबारै आफूलाई काठमाडौंबाट आएको एउटा गैरराजनीतिक चरित्रको प्रतिनिधिमण्डलले भेटेर कुरा गरेको पौडेलले बताए । त्यो टोलीमा को थिए, उनले खुलाउन चाहेनन् । त्यो टोलीसँग पनि उनले उम्मेदवारी नछाड्ने अडान लिए । त्यसपछि अचानक प्रधानमन्त्री देउवाको दूत बनेर गृहमन्त्री बालकृष्ण खाँण दिउँसो भरतपुर ओर्लेका हुन् । खाँण त्यसपछि चितवन कांग्रेससँग छलफलमा जुटे ।

‘खाँण नि आएको र मलाई भेट्ने खबर मैले प्राप्त गरेको छु, भेट भएको छैन, भेटमा पनि मैले यही अडान राख्ने हो,’ बुधबार साँझ पौडेलले भने । भरतपुर महानगरपालिका–७ कृष्णपुर बस्ने ७० वर्षीय पौडेल २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिकाको उपमेयरमा विजयी भएका थिए । उनी ६० सालमा ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य पनि भए । उनी वरिष्ठ अधिवक्तासमेत हुन् । ‘म कांग्रेस जोगाउने अवस्था आएर मैदानमा उत्रेको हुँ, अरू केही स्वार्थ छैन,’ उनले भने ।

चितवनमा सत्तारूढ घटकका बीचमा चुनावी तालमेल भए पनि भरतपुरको प्रमुख पद नछाड्ने चितवन कांग्रेसले अडान राखेको थियो तर अन्तिममा माओवादी केन्द्रलाई दिने निर्णय केन्द्रीय गठबन्धनले गर्‍यो । जसअनुसार भरतपुरको प्रमुखमा माओवादी केन्द्रबाट रेनु दाहाल र कांग्रेसबाट उपप्रमुखमा चित्रसेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । रेनु पुष्पकमलकी छोरी हुन् । केन्द्रीय गठबन्धनको निर्णयपछि चितवन कांग्रेसको नेतृत्व गठबन्धनलाई जिताउने अभियानमा लागेको छ तर कार्यकर्ता तहमा असन्तुष्टि कायमै छ ।

मनोनयन दर्ता गर्ने दोस्रो दिन सोमबार दिउँसो जगन्नाथ पौडेल कांग्रेस पार्टीको चारतारे झन्डा र पार्टीको चुनाव चिह्न रूख अंकित झन्डा बोकेर जुलुससहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनीभन्दा पछि गठबन्धनका उम्मेदवारहरू निर्वाचन कार्यालय पुगेका थिए । पार्टीका युवा पुस्तादेखि वयोवृद्ध नेताहरू पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा, टीकाराम न्यौपाने तथा पुराना नेता भीमबहादुर श्रेष्ठसमेत उनको साथमा थिए ।

जगन्नाथको उम्मेदवारीपछि प्रमुख पद माओवादीलाई दिने पार्टीको निर्णयप्रति विमति राख्ने चितवन कांग्रेसका नेता–कार्यकर्ता सन्तुष्ट देखिएका छन् । जिल्ला समितिका पदाधिकारीहरू भने गठबन्धनसँगै चुनावी अभियानमा लाग्न थालेका छन् । भरतपुरमा माओवादीलाई प्रमुख दिनु हुँदैन भनेर चर्को आवाज राख्दै आएका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ र दिनेश कोइराला केन्द्रीय गठबन्धनले निर्णय गरेपछि सार्वजनिक रूपमा बोलेका छैनन् । पौडेललाई फकाउने क्रम भने सोमबारबाटै सुरु भएको हो ।

गठबन्धनको भविष्य भरतपुरकै परिणाममा

कांग्रेसका अर्का एक नेताका अनुसार भरतपुर महानगरपालिकामा गठबन्धनको पक्षमा परिणाम निकाल्न नसक्दा त्यसले गठबन्धनको निरन्तरतामा धक्का दिन सक्ने भय प्रधानमन्त्री देउवामा छ । ‘अन्त जिताएर भरतपुरमा रेनु हारिन् भने पनि त्यसको कुनै अर्थ हुन्न, दाहालले क्षणभरमा गठबन्धन असफल भएको निष्कर्ष निकाल्न सक्छन्,’ कांग्रेसका एक नेताले भने, ‘त्यसैले प्रधानमन्त्रीले अन्त के हुन्छ भन्ने होइन, भरतपुरमा के भइरहेको छ भन्नेबारे छिनछिनमै अपडेट लिइरहनुभएको छ, पौडेलको मनोनयन कायम राख्दा लाभ हुन्छ कि झिक्दा भन्नेबारेमा दुई नेता (देउवा र दाहाल) बीच जोड–घटाउ पनि चल्न थालेको छ ।’

६ महानगरपालिका र ११ उपमहानगरपालिकामा केन्द्रले तालमेलको निर्णय लिँदा कार्यकर्ता तहमा असन्तुष्टि बढेको थियो । विशेष गरी कांग्रेसमा असन्तुष्टि चर्कंदा केन्द्रले तल्ला तहको गठबन्धनमा हस्तक्षेप नगरी प्रदेश र जिल्लालाई जिम्मा लगाउँदै मिल्न नसकेको स्थानमा प्रतिस्पर्धा गर्ने निर्णय लिएको थियो । ‘तल्ला तहमा सोचेजस्तो मिलाउन सकिने स्थिति अब छैन, हाम्रो बलियो पकड भएको पालिकामा समेत कांग्रेसले प्रमुख र उपप्रमुख पद छाड्न नमान्ने स्थिति छ,’ माओवादीका एक नेताले भने, ‘केन्द्रले निर्णय गरेकै महानगरपालिका र उपमहानगरपालिकामा त बागी उम्मेदवारलाई मनोनयन फिर्ता गराउन र वडा तहमा तालमेल मिलाउन समस्या छ भने मनोनयनअघि हुन नसकेको अन्य पालिकामा मिल्छ भनेर भन्न सकिने स्थिति छैन ।’ उनका अनुसार कांग्रेसकै कारण समस्या उत्पन्न भएको छ ।

केन्द्रले निर्णय गरेको महानगर र उपमहानगरपालिका धेरैमा गठबन्धन दलबाटै ‘बागी’ उम्मेदवारी परेका छन् । काठमाडौंसहित सबैजसो महानगर र उपमहानगरको वडा तहमा तालमेल नमिलेपछि गठबन्धन दलले सबैजसोमा उम्मेदवारी दिएका छन् । गठबन्धनको दाबीमा प्रमुख र उपप्रमुखबीच मात्रैको तालमेल देशभरमा करिब ६० प्रतिशत भएको छ तर धेरैजसोमा बागी उम्मेदवारी परेको छ । गठबन्धनको भावनाअनुसार तालमेल कार्यान्वयनमा नआएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि प्रकट गर्दै आएको छ ।

नेकपा (एस) का नेता जीवनराम श्रेष्ठले केन्द्रको निर्णयमा भएको चुनावी गठबन्धन पनि वडा तहमा नहुँदा समस्या उत्पन्न हुने बताए । ‘केन्द्रले प्रमुख र उपप्रमुखबीच मात्रै तालमेल गरेको हो, वडामा तालमेल हुन सकेन, प्रमुख र उपप्रमुखको भोट लिने आधार भनेकै वडा हो, वडामा गठबन्धनबीच प्रतिस्पर्धा हुँदा त्यसको असर माथि पर्छ,’ उनले भने, ‘गठबन्धनको भावनाअनुसार पहिला महानगर र उपमहागरका वडामै मिलाउनुपर्छ ।’

सबै पालिकाको गठबन्धन गरेर जाने काम अब चुनौतीपूर्ण रहेको उनले बताए । ‘तीन दिन समय छ, त्यतिन्जेल मिलाएर सबै ठाउँमा तालमेल गर्न सक्दा गठबन्धन प्रभावकारी बन्न सक्थ्यो,’ उनले भने, ‘धेरै पालिकामा गठबन्धनको भावनाअनुसार तालमेल भएको छैन । यसलाई कसरी मिलाउन सकिन्छ भन्नेबारेमा पक्कै पनि छलफल हुन्छ । मिलाउन चाहना राख्दा हामीसँग समय पनि छ ।’

प्रकाशित : वैशाख १५, २०७९ ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?