म्याङलुङ, तेह्रथुम — फेदाप गाउँपालिका–२ का ५४ वर्षीय डम्बरबहादुर लिम्बूलाई बारीमा तरकारी फलाएर नजिकैको बजारमा बिक्री गर्न पाए आम्दानी हुन्थ्यो भन्ने लागेको छ । तर कतैबाट पनि सिँचाइका लागि पानी ल्याउने मुहान छैन् । त्यसैले उनीे खेतबारी सम्म पानी ल्याइदिनेलाई भोट दिने मनस्थितिमा छन् । ‘जुन नेताले पानी ल्याइदिन्छ, उसैलाई भोट दिने हो,’ उनले भने ।
म्याङलुङ–८ आम्वुङका प्रेमबहादुर श्रेष्ठको पनि विकास गर्नेलाई जिताउने मन छ । उनले बस्तीसम्म विकासका पूर्वाधार ल्याइदिनेलाई भोट हाल्ने बताए । तर खोजे जस्तो नेता पाउन मुस्किल रहेको उनले सुनाए ।
गाउँमा जिरीखिम्ती खानेपानी आयोजना नेताहरूकै कारण फ्रिज भएको उनले दुखेसो सुनाए । ‘पानी खान नदिनेलाई भोट नदिऊ जस्तो लाग्छ,’ उनले भने ।
लालीगुराँस–१ नेभाङकी टीकादेवी वुढाथोकीको चासो पनि आधारभूत विकासमै छ । ‘खानेपानी, सिँचाइ, सडकलगायतका धेरै समस्या छन्, चुनाव जित्नेले यी काम गरिदिए हुन्थ्यो,’ उनले भनिन् । कृषिमा आबद्ध लालीगुराँस–६ सुङनामका युवक दीपक संग्रौला चुनावले केही आशा थपेको भए पनि नेताको व्यवहार हेर्दा उत्साहभन्दा निराशा बढेको बताए ।
