दार्चुलामा ३२३ पदका लागि ७७२ जनाको उम्मेदवारी

वैशाख १३, २०७९

मनोज बडू

दार्चुला — स्थानीय तह निर्वाचनका लागि दार्चुलामा स्वतन्त्रसहित सात सय ७२ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलामा तीन सय २३ पदमा उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदीपसिंह धामीका अनुसार आइतबार र सोमबार गरी जिल्लाका क्रियाशील दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

नौ प्रमुख पदमा ४० जना र नौ उपप्रमुखमा २९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत धामीले जानकारी दिए । उनका अनुसार ६१ वडाअध्यक्षका लागि १७६ जनाको उम्मेदवारी परेको छ ।

यस्तै खुला सदस्यमा दुई सय ७३ जना, महिला सदस्यमा एक सय ३४ जना र दलित महिला सदस्यमा एक सय २० जनाको उम्मेदवारी दर्ता गराएका छन् ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully