३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५
स्थानीय तह निर्वाचन २०७९

लमजुङमा ३८५ पदका लागि १ हजार १४० को उम्मेदवारी

अधिकांश पालिकामा कांग्रेस र माओवादी केन्द्रका बागी उम्मेदवार
आश गुरुङ

लमजुङ — लमजुङमा ३ सय ८५ जनप्रतिनिधिका लागि १ हजार १ सय ४९ जनाको उम्मेदवारी परेको छ । लमजुङमा चार नगरपालिका र चार गाउँपालिका छन् ।

लमजुङमा ३८५ पदका लागि १ हजार १४० को उम्मेदवारी

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार सुन्दरबजार नगरपालिकामा ५७ पदका लागि सबैभन्दा बढी १ सय ९९ जनाको उम्मेदवारी परेको छ । बेंसीसहर नगरपालिकाकमा ५७ पदका लागि १ सय ७३ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रका अनुसार मध्यनेपाल नगरपालिकामा ५२ पदका लागि १ सय ६७ जनाले मनोनयन दर्ता गराएका छन् । राइनास नगरपालिकामा ४७ पदका लागि १ सय ७१ जनाको मनोनयन दर्ता भएको छ ।

मर्स्याङदी गाउँपालिकामा ४७ पदमा १ सय ७ जनाको मनोनयन दर्ता भएको छ । क्व्होलासोंथर गाउँपालिकामा ४७ पदका लागि ९७ जना, दोर्दी गाउँपालिकामा ४७ पदका लागि १ सय ५५ जना, दूधपोखरी गाउँपालिकामा ३२ पदका लागि ८० जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बेंसीसहर नगरपालिकाको प्रमुख पदमा ५ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । उनका अनुसार नेकपा एमालेका गुमानसिंह अर्याल, नेपाली कांग्रेसका श्रीकान्त घिमिरे, राप्रपाका अजितबहादुर अधिकारी, मंगोल नेश्नल अर्गनाइजेनशका लुकुकुमारी गुरुङ, जनता समाजवादी पार्टीका बलबहादुर रानाले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनमा भागबण्डा नमिलेपछि बाहिरिएको जसपाले प्रमुखमा उम्मेदवारी दिएको छ ।

उपप्रमुखमा नेकपा एमालेका पदमा गुरुङ, नेकपा माओवादी केन्द्रका हरिजङ तामाङ, नेकपा एकीकृत समाजवादीका मोहनबहादुर थापा, राप्रपाका मेनुका कार्की, मंगोल नेश्नल अर्गनाइजेशनका पदममाया गुरुङ र स्वतन्त्रबाट जीवनकुमार श्रेष्ठले मनोनयद दर्ता गराएका छन् । गठबन्धनबाट उपप्रमुखमा माओवादी केन्द्र वा एकीकृत समाजवादीको उम्मेदवार कायम गर्ने विषयमा निर्क्योल हुन नसक्दा कांग्रेसका श्रेष्ठले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।

सुन्दरबजार नगरपालिकाको प्रमुखमा नेकपा एमालेका भीमबहादुर गुरुङ, नेपाली कांग्रेसका कृष्णप्रसाद कोइराला, राप्रपाका सन्तबहादुर बस्नेत, मंगोल नेश्नल अर्गनाइजेशनका भिमराज गुरुङ र स्वतन्त्रबाट सुदीप अधिकारीले मनोदनय दर्ता गराएका छन् । अधकारीले कांग्रेसमा बागी उम्मेदवारी दिएका हुन् ।

उपप्रमुखमा नेकपा एमालेका भवानी केसी, एकीकृत समाजवादीका रामबाबु अधिकारी, राप्रपाका पार्वती वाग्ले, मंगोल नेशनल अर्गनाइजेशनका बालकुमारी कामीले मनोनयन दर्ता गराएका छन् । कांग्रेसका असन्तुष्ट पक्षबाट द्धारिकाप्रसाद मिश्रले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । २०७४ को स्थानीय तह चुनावमा कांग्रेसका असन्तुष्ट पक्षको नेतृत्व गर्दै ठेकी चुनाव चिन्ह लिएर द्धारिकाले नगरपालिका प्रमुख पदमा चुनाव लडेका थिए ।

राइनासमा नेकपा एमालेका सिंहबहादुर थापा, कांग्रेसका खड्कबहादुर गुरुङ, राप्रपाका नरबहादुर पाण्डे, मंगोल नेशनल अर्गनाईजेशनका रामबहादुर गुरुङले उम्मेदवारी दिएका छन् । माओवादी समर्थित भरत पराजुली र कांग्रेस समर्थित कृष्णराज ओलियाले स्वतन्त्र उम्मेदवारमा मनोनयत दर्ता गराएका छन् । ओलियाले आफू कांग्रेसप्रति आस्थावान भए पनि क्रियाशील सदस्यता नरहेको बताएका छन् ।

उपप्रमुखमा एमालेबाट शोभा पन्थी चिलुवाल, कांग्रेसका विष्णुमाया न्यौपाने धिताल, माओवादी केन्द्रका पुष्पराज खनाल, राप्रपाका सपना शाही, जसपाका शारदाप्रसाद घिमिरे, कांग्रेस समर्थित जनकराज न्यौपानेले मनोनयन दर्ता गराएको छ । लमजुङमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन गरिएको भनी विज्ञप्ति सार्वजनिक गरिए पनि कांग्रेसले राइनासको उपप्रमुखमा पनि मनोनयन गराएको छ ।

मध्यनेपाल नगरपालिकामा प्रमुखमा एमालेका राजकुमार श्रेष्ठ, कांग्रेसका रमेशकुमार पाण्डे, नेकपा एकीकृत समाजवादीका सूर्यबहादुर कुँवर, मंगोल नेश्नल अर्गनाइजेशनबाट महेन्द्र गुरुङ, राप्रपाबाट प्रतापशाली घिमिरे, माओवादी केन्द्रका प्रभुराज घिमिरेले पनि स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । उपप्रमुखमा एमालेबाट सीता गुरुङ, माओवादी केन्द्रबाट उपेन्द्र अधिकारी, राप्रपाबाट शोभा रानामगर, जसपाबाट गेहराज पौडेल, एकीकृत समाजवादीबाट सोविता नेपालीले मनोनयन दर्ता गराएका छन् । कांग्रेसका विश्वराज पौडेल, नेत्रविक्रम चन्द समूहको नेकपानिकट नारायणबहादुर कुँवर र माओवादी केन्द्र समर्थित ध्रुवराज पौडेलले स्वतन्त्रमा उम्मेदवारी दिएका छन् ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट अर्जुन गुरुङ, नेपाली कांग्रेसबाट लोकनाथ घिमिरे, राप्रपाबाट केविन्द्रजङ गुरुङ, नेकपा एकीकृत समाजवादीका महेन्द्रबहादुर थापा, जनता समाजवादी पार्टीका बसन्तबहादर थापाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा नेकपा एमालेका जुनामाया थापा र माओवादी केन्द्रबाट अजय तामाङले मनोनयन दर्ता गराएका छन् ।

दूधपोखरी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका धनप्रसाद गुरुङले मनोनयन दर्ता गराएका छन् । कांग्रेसकै खुशीमान गुरुङ र मुक्तिनाथ दवाडीले स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धनले अध्यक्षमा कांग्रेसका धनप्रसादलाई उठाउँदा उपाध्यक्षमा माओवादी केन्द्रका क्षेत्रबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका सुरेश गिरीले पनि उमेदवारी दर्ता गराएका छन् । एमालेका तेजबहादुर गुरुङले अध्यक्षमा र उपाध्यक्षमा कृष्णमाया गुरुङले मनोनयन दर्ता गराएका छन् । मंगोल नेश्नल अर्गनाईजेशनबाट बुद्धिबहादुर तामाङले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

दोर्दी गाउँपालिकामा एमालेबाट युवराज अधिकारी, माओवादी केन्द्रका लालबहादुर गुरुङ, जसपाबाट खेमजङ गुरुङ, एकीकृत समाजवादीबाट रनबहादुर घले, राप्रपाबाट गोपाल लामिछानेले उम्मेदवारी दिएका छन् । कांग्रेस क्षेत्रीय सभापति दरजङ गुरुङ र कांग्रेसकै हरिचन्द्र पण्डितले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । यस्तै, माओवादी केन्द्रका टकराज गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मंगोल नेश्नल अर्गनाईजेशनका रामबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन् ।

एमालेका उषा गुरुङ, कांग्रेसका विच्छबहादुर घले, नेकपा एकीकृत समाजावदीका उर्मिला कुँवर, राप्रपाका नन्दीमाया गुरुङ, मंगोल नेश्नल अर्गनाईजेशनका कृष्णबहादुर गुरुङले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसका लिलबहादुर गुरुङले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

क्व्होलासोंथरमा एमालेका सूर्यप्रसाद गुरुङ, नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र मंगोल नेश्नल अर्गनाईजेशनका भुवरजङ गुरुङले अध्यक्षमा उमेदवारी दिएका छन् । उपाध्यक्षमा एमालेका गमीमाया गुरुङ, कांग्रेसका सिर्जना गुरुङ र मंगोल नेश्नल अर्गनाईजेशनका निलप्रसाद गुरुङको मनोनयन दर्ता भएको छ ।

प्रकाशित : वैशाख १३, २०७९ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?