रुकुम पश्चिममा ३ सय ७७ पदका लागि ११ सय ५ को उम्मेदवारी

वैशाख १३, २०७९

हरि गौतम

रुकुम पश्चिम — वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाभर १ हजार १ सय ५ जनाको उम्मेदवारी परेको छ । ३ सय ७७ पदका लागि उक्त उम्मेदवारी परेको हो । 

जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तह र ७३ वटा वडा छन् । जिल्लाका ६ प्रमुख तथा अध्यक्ष, ६ उपप्रमुख तथा उपाध्यक्ष साथै ७३ वडाध्यक्ष र २ सय ९२ जना वडा सदस्यका लागि १ हजार १ सय ५ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कुन पदका लागि कति जनाको उम्मेदवारी पर्‍यो भन्नेबारे विवरण संकलन भइरहेको कार्यालयले जनाएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवारी पनि परेको र यसबारे पनि यकिन संख्या आउन बाँकी रहेको बताइएको छ ।

जिल्लामा हालसम्म दुई स्थानीय तहमा छुट्टा छुट्टै गठबन्धन बनेका छन् भने अन्य स्थानीय तहमा दलहरुले छुट्टा छुट्टै उम्मेदवारी दिएका छन् । मुसीकोट नगरपालिका नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका बीच गठबन्धन भएको छ भने सानीभेरी गाउँपालिकामा नेपाली कांग्रेस र एमालेका बीच गठबन्धन भएको छ ।

रुकुम पश्चिमका अन्य स्थानीय तहमा समेत १६ गतेसम्म गठबन्धन बन्ने सम्भावना देखिएको छ । निर्वाचन कार्यतालिका अनुसार १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय छ ।

हरि

Link copied successfully