रोल्पा — स्थानीय तहको निर्वाचनका लागि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६ जना नेता तथा कार्यकर्ताले स्थानीय तहको प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपाका अनुसार थबाङसहितका स्थानीय तहमा उनीहरूले मनोनयन दर्ता गरेका हुन् । गंगादेव गाउँपालिकामा नेकपाका केन्द्रीय सदस्य चुडामणि वलीले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
यस्तै थबाङमा अमित घर्तीमगर, सुनिलस्मृतिमा कमल थापा, परिवर्तनमा लालबहादुर डाँगी, लुंग्रीमा भुपेन्द्र खड्का, सुनछहरीमा पुष्टमन घर्तीमगरले उम्मेदवारी दिएका हुन् ।
उम्मेदारी दिएका नेतमा वली पार्टीका केन्द्रीय सदस्यसमेत हुन् । अरु उम्मेदवार भने जिल्ला सदस्य हुन् । नेकपाले पछिल्लो समयमा स्थानीय तहको निर्वाचन जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने भन्दै निर्वाचनलाई उपयोग गर्ने नीति लिएको वलीले बताए ।
सबै उम्मेदवारले जित हासिल गरेमा नयाँ संस्कृतिसहितको समाज निर्माणमा योगदान पुर्याउन सक्ने प्रतिबद्धता उनीहरूले जनाएका छन् । अध्यक्षसहितका अन्य पदमा पनि उनका कार्यकर्ताहरुले मनोनयन दर्ता गराएका छन् ।
नेकपाका जिल्ला इन्चार्ज केशबहादुर बाँठाले अहिलेसम्म गठबन्धनबारे सल्लाह नभएको बताएका छन् । उनले केही दिनमा यसबारे अन्य दलसँग समन्वय हुनसक्ने बताए ।
नेकपाले जिल्लामा आफ्नो पक्षमा जनमत कति छ भन्नेबारे जानकारी लिन पनि स्थानीय तहको निर्वाचनमा भाग लिएको बताएका छन्।
