पाल्पा — स्थानीय तह निर्वाचन अन्तर्गत पाल्पाका तीन स्थानका वडा सदस्यमा तीन जनाको एकल उम्मेदवारी परेको छ । उनीहरू तीनै जनाले महिला सदस्यमा उम्मेदवारी दिएका हुन् ।
पूर्वखोला गाउँपालिकाका दुई र निस्दी गाउँपालिकाका एक महिलाको एकल उम्मेदवारी परेको निर्वाचन आयोग कार्यालयले जनाएको छ ।
पूर्वखोला गाउँपालिका–२, जल्पाकी महिला सदस्य भिमिसरा आलेले मनोनयन गरेको स्थानमा अन्य उम्मेदवारी परेन । यसैगरी पूर्वखोलाकै वडा–५, वीरकोटकी दलित महिला सदस्य पार्वती हिताङको स्थानमा पनि कसेको उम्मेदवारी परेको छैन । निर्वाचन अधिकृत मधु अर्याल खनालका अनुसार दुवै उम्मेदवार एमालेको तर्फबाट रहेका छन् ।
निस्दी गाउँपालिका–६, अर्चलेमा पनि दलित महिला सदस्यको एकल उम्मेदवारी परेको छ । अन्य दलबाट वा स्वतन्त्र उम्मेदवारी नपरेपछि लालीमाया विक एक्लो उम्मेदवार बनेकी हुन् ।
