रोल्पाको माडीमा एमाले र कांग्रेसबीच गठबन्धन

वैशाख १३, २०७९

काशीराम डाँगी

रोल्पा — रोल्पाको माडी गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि एमाले र कांग्रेस बीच गठबन्धन भएको छ । दुई दलका स्थानीय नेता कार्यकर्ताबीच भएको सहमतिअनुसार त्यसैअनुसार सोमबार मनोनयन दर्ता गरिएको हो । 

एमालेले अध्यक्षसहित ३ वटा वडा र कांग्रेसलाई उपाध्यक्षसहित ३ वटा वडा हुने गरी मिलेर निर्वाचनमा भाग लिने सहमति भएको गठबन्धन बनाउन समन्वय गरिरहेका एमाले प्रदेश समिति सदस्य प्रेमबहादुर घर्तीमगरले बताए ।

‘मनोनयन गर्नु अघिदेखि नै छलफलको टुंगो लगाएर त्यसै अनुसार दुई दलको सहमतिपछि मनोनयन दर्ता गराएका छौं । अब एकीकृत रूपमा निर्वाचनमा प्रचार प्रसारसहित भाग लिने तयारी छ,’ घर्तीमगरले भने । माडीको अध्यक्षमा एमालेका विजयकुमार घर्तीमगर र उपाध्यक्षमा काग्रेसका कृष्ण विकले मनोनयन दर्ता गरेका छन् । एमाले जिल्ला उपाध्यक्ष विजय समाजसेवी हुन् भने कृष्ण सक्रिय स्थानीय युवा हुन् । 

६ वटा वटा भएको माडीमा मिलेर निर्वाचनमा भाग लिँदा अध्यक्षसहित एमालेलाई  १, ४ र ६ नम्बर वडा र उपाध्यक्षसहित कांग्रेसलाई २, ४ र ५ नम्बर वडा भाग परेको छ । सहमतिअनुसार संयुक्त रूपमा निर्वाचन परिचालन समिति गठन गरेर अघि बढ्ने प्रेमले बताए । कांग्रेस र एमालेबीच गठबन्धन बनाएर निर्वाचनमा भाग लिन भूमिका निर्वाह गर्ने कांग्रेस नेता गोपाल घर्तीमगरका अनुसार सत्तापक्षीय दलबीच भिन्न प्रकारले गठबन्धन गर्न निर्देशन गरे पनि माडीमा आफ्नै तरिकाले एमालेसँग मिलेर निर्वाचनमा भाग लिने सहमति भएको हो । घर्ती भन्छन्, ‘स्थानीय कार्यकर्ताले माओवादीसँग मिलेर निर्वाचनमा भाग लिन चाँहदैनन् । बरु एमालेसँग मिलेर फेरि पनि निर्वाचनमा भाग लिने दबाब आएको हो ।’ 

अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमाले मिलेर माओवादीविरुद्ध निर्वाचनमा भाग लिएका थिए । त्यसपटकको गठबन्धनमा अध्यक्षमा कांग्रेसका गोपाल र उपाध्यक्षमा एमालेका प्रेमले उम्मेदवारी दिएका थिए । अघिल्लो पटक माओवादीले जित हासिल गरेको थियो ।

माडीमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन हुने भएको छ । समाजवादीलाई केही वडामा उम्मेदवार बनाउने गरी माओवादी केन्द्रले अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्तीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । 

जिल्लाभर सत्तापक्षीय कांग्रेस र माओवादी केन्द्रलगायतका दलबीच स्थानीय तहको निर्वाचनका लागिग भएको गठबन्धन प्रयास असफल भएको नेताहरुले जनाएका छन् । पूर्वी रोल्पाका सुनीलस्मृति, लुंग्री र सुनछहरी गाउँपालिकामा एमाले र कांग्रेसबीच स्थानीय रूपमा गठबन्धन गर्न छलफल भइरहेको एमाले सचिव अमृत बुढाले बताए । 

स्थानीय तह निर्वाचन २०७९

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully